PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

तस्करको तारोमा सोझा सालक, कडा सजाय तोकिँदा पनि सबैभन्दा बढी मारिने र बेचिनेमा किन?



नेत्र तामाङ

तस्करको तारोमा सोझा सालक, कडा सजाय तोकिँदा पनि सबैभन्दा बढी मारिने र बेचिनेमा किन?
फोटो : photo : facebook.com/USAIDNepal

काठमाडौं : मानिसलाई आक्रमण गर्न नसक्ने जनावरका रुपमा चिनिने सालक पछिल्लो दिनमा तस्करको तारो बन्दै गएको छ। अति संकटापन्न अवस्थामा पुगेका सालक मारिने र बेचिने क्रम बढ्दो छ।

कतैबाट आक्रमण भए सालक भाग्दैन बरु भकुण्डोको आकारमा गुडुल्किएर बस्छ। सजिलै समाउन सकिने र सोझो प्रकृतिको हुन्छन् सालक।

त्यसैले होला दैनिकजसो सालक मारिने र समातिने क्रम बढेको।

राष्ट्रिय अनुसन्धान ब्युरो(सिआइबी)मा मात्र सालकका खबटा बिक्री तथा जिउँदा सालक बेच्दै हिँड्ने क्रममा महिनामा पाँच वटासम्म केस आइपुग्ने गर्छ। विभिन्न प्रहरी कार्यालयमा यससम्बन्धी विभिन्न उजुरीदेखि पक्राउका घटना दैनिकजसो हुन्छन्।

मार्ने वा बेच्नेलाई १५ वर्षसम्म जेल

नेपाल सरकारले पनि यसलाई संरक्षित वन्यजन्तुको सूची राखेको छ। राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले नेपालमा पाइने सालकसहित २७ प्रजातिका स्तनधारी प्राणीहरूलाई लोपोन्मुख सूचीमा राखेको हो। यो ऐनको दफा २६ को उपदफा २ मा सालक मारेमा वा घाइते बनाउनेलाई एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरीवाना वा एक वर्षदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ। भनिएको छ, 'संरक्षित वन्यजन्तु मारेमा वा घाइते बनाउनेलाई एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरीवाना वा एक वर्षदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ।'

यता साइटिस एक्ट २०१७ अनुसार भने १० लाखसम्म जरीवाना र १५ वर्षसम्म जेल सजाय वा दुबै हुनसक्ने उल्लेख गरिएको छ। विश्वभर सालकको तस्करी बढेपछि साइटिस अभिसन्धिले अतिसंकटापन्न वन्यजन्तुको अनुसुची २ बाट १ मा राखेको हो।

सिआइबीमा यससम्बन्धी मुद्दा हेर्ने प्रहरी निरीक्षक वीरेन्द्र जोहरीका अनुसार अहिलेसम्म सालक बेचबिखन तथा ओसारपसारमा संलग्नलाई पाँच वर्षभन्दा कम सजाय कसैलाई दिइएको छैन।

चर्को जरिवाना तोकिँदा पनि किन मारिन्छन् सालक?

पहिलो त सालक सोझो भएकोले पनि यसको फाइदा तस्करहरुले उठाउने गरेको राष्ट्रिय प्रकृति सरंक्षण कोषका संरक्षण अधिकृत अम्बिकाप्रसाद खतिवडा बताउँछन्। सालकसम्बन्धी विशेषज्ञ खतिवडा अर्को कारण गरिबी बताउँछन्। त्यसपछि पैसा कमाउने उद्देश्यका साथ लाग्ने गिरोहका कारण पनि सालक असुरक्षित छन्। 'गरिबी मुख्य चुनौती हो। अर्को इन्टेसनाल्ली पैसा कमाउने गिरोहहरु पनि सक्रिय छन्,' खतिवडा भन्छन्, 'गाउँका धेरैजसो मानिसहरुलाई सालक मार्दा के सजाय हुन्छ भन्ने कुरा नै थाह नहुने रहेछ।'

पैसाको लोभ र गरिबीकै कारण धेरैजसो नेपालीहरु सालक बेच्ने मार्ने कार्यमा लागेको पाइएको बताउँछन् सिआइबीका इन्स्पेक्ट जोहरी पनि। उनी भन्छन्, 'अहिलेसम्म पक्राउ परेकाहरुमा धेरैजसो पैसाको लोभ र गरिबी नै देखिएका छन्। उनीहरुलाई कानुनमा के छ थाहै छैन। थाह नपाई यसो गरिएको भन्दै पछुतो मान्छन्।'

तस्करीका कारण के होला त? यही प्रश्न लिएर सन् २०१९ मा वन्यजन्तु संरक्षणकर्मी तथा ग्रिनहुड नेपालका संस्थापक कुमार पौडेलले यस्तै अभियोगमा कारावास सजाय भोगिरहेकाहरुसँग सोधेका थिए। यसको मुख्य कारण गैर कानुन भन्ने जाने पनि सजाय र त्यसले पार्ने प्रभावबारे ज्ञान नभएको पाएको खुलेको छ। उक्त अनुसन्धान कन्जरभेर साइन्स एन्ड प्राक्टिस जर्नलमा प्रकाशित छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरि आचार्य पनि सहमत छन् यस मतमा। पछिल्लो दिनहरुमा यसको व्यापार अलि बढी नै हुन थालेको बताउँछन् उनी। यसरी दिनानुदिन सालक मारिनुमा चेतनाको कमी भएको उनको बुझाइ छ। 'यसको ट्रेड अलि बढी भएको देखिन्छ। यसैले यसमा चेतना बढाउन आवश्यक देखिन्छ।'

तस्करको आकर्षण, संरक्षणकर्मीको ध्यान अन्तै!

तस्करको तारो सालकतिर पर्दा यसलाई जोगाउनेहरु कम भएको बताउँछन् संरक्षणकर्मी। राष्ट्रिय प्रकृति सरंक्षण कोषका संरक्षण अधिकृत खतिवडाका अनुसार संरक्षणकर्मी पनि आकर्षक वन्यजन्तुको संरक्षणतिर आकर्षित छन्। 'बाघ, गैंडा, हात्तीतिर धेरैको ध्यान जाँदा सालकतिर नोटिस अलि कम हुने रहेछ। फेरि सरकारले योजना बनाए पनि राम्रोसँग कार्यन्वयन हुन सकेको छैन,' उनले भने।

२७ वटा संरक्षित स्तनधारीमध्ये गैंडा, बाघ, हात्ती, कस्तुरी, मृग, ध्वाँसे चितुवा र गौरीगाई सात स्तनधारी विशेष संरक्षित जनवारमा पर्छन्। त्यसैले पनि धेरैजसो संरक्षणकर्मीको ध्यान यिनै जनवारमा परेको उनको भनाई थियो।

निकुञ्ज क्षेत्रको निकुञ्जले हेर्ने र अन्य क्षेत्रको वन विभागले हेर्ने भएकोले कानुनी दायराबाहेक अरु चेतनाको अभावले मारिने क्रम बढेको बताउँछन् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट आचार्य। 'यसमा चेतना बढाउनुपर्ने आवश्यक देखिन्छ, कानुनमा के व्यवस्था छ। त्यो सबैले थाह पाउनुपर्छ,' आचार्यले भने।

रुढीवादी विश्वास

नेपालमा कतिपय ठाउँमा यसको मासु खाँदा रोग निको हुन्छ भन्ने विश्वास गरिन्छ। यद्यपि यसको कुनै वैज्ञानिक प्रमाण छैन।

यसको तस्कर चीनमा बढीमात्रमा हुने गरेको छ। यसको खबटा बुलेटप्रुफ हुने भएकोले पनि यसको खबटालाई बहुमुल्यको मानिन्छ। विश्वमा ८ थरी सालक छन्। जसमध्ये २ प्रजातिका नेपालमा छन्। एउटा कालो सालक(चाइनिज प्याङ्गोलिन) अर्को तामे सालक(इन्डियन प्याङगोलिन)

अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) ले कालो सालकलाई जोखिमपूर्ण र तामे सालकलाई खतरायुक्त सूचीमा राखेको छ।

किसानको साथी हुन् सालक

संरक्षणकर्मीहरुको कुरालाई मान्ने हो भने सालक किसानका मित्र प्राणी हुन्। कमिला र धमिरा खाएर यिनको दैनिकी चल्छ। यी बाहेक सालकलाई अरु खानेकुरा रुच्दैन। सालकले वर्षमा सात करोड बढी कमिला धमिरा सिध्याउँछन्। जुन कमिला धमिरा हाम्रो खेतीको बालीनाली नास पार्नेमध्येमा पर्छ।

त्यसो त पर्यवरणचक्रमा पनि सालकको योगदान उत्तिकै रहेको हुन्छ। वन्यजन्तुको क्षेत्रमा आक्रमण गरी यिनको मासु खाँदा वा यिनको विभिन्न अंग प्रयोग गर्दा महामारी फैलन सक्ने खतरासमेत रहेको बताउँछन् कोषका संरक्षण अधिकृत खतिवडा। 'भाइरसका पनि आफ्नै ह्याबिट्याट हुन्छन्। जब ती ह्याबिट्याटमा मानिसको अतिक्रमण हुन्छ। ती भाइरस मानिसमा सर्छन्,' खतिवडाले भने, 'अनुसन्धानहरुले यस्तै देखाउँदै आएको छ।'

केही समयअघि चीनमा तस्कर गरी ल्याइएका सालकहरुमा कोरोना भाइरस जस्तै लक्षण देखिएको भन्दै तत्काल बिक्रीमा प्रतिबन्ध लगाउन माग गरिएको थियो।

यलमायामा सालक संरक्षण गोलमेच हुँदै

यही शनिवार ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा 'प्याङगोलिन राउन्डटेबल' कार्यक्रम हुने भएको छ। विश्व सालक दिवसको अवसर पारी दिउँसो २ बजे हुने कार्यक्रममा संरक्षणसम्बन्धी विषयहरुमा छलफल हुने आयोजक संस्था ग्रिनहुड नेपालका संस्थापक पौडेलले जानकारी दिए। दुई घण्टा चल्ने छलफलमा सालक संरक्षणका सबै सरोकारवाला व्यक्ति, संस्था र निकायले संरक्षण प्रयास र चुनौती, सालक संरक्षणमा सरकारी प्राथमिकताजस्ता विषयमा छलफल गर्ने छन्।

ग्रिनहुड नेपालले सन् २०१५ को विश्व सालक दिवसको दिनबाट शुरु गरेको सालक संरक्षण गोलमेच हरेक वर्ष फेब्रुअरी २० मा मनाउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell