PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सत्ताको नेतृत्व गरिरहेका ओलीले भने : हाम्रो पक्षमा फैसला नआए आन्दोलन



सत्ताको नेतृत्व गरिरहेका ओलीले भने : हाम्रो पक्षमा फैसला नआए आन्दोलन

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा आफ्नो सरकारले घोषणा गरेको निर्वाचनमा जित्नैपर्ने बताएका छन्।

विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले स्थिरताका लागि प्रतिनिधिसभा विघटन गरेको भन्दै अबको निर्वाचनमा पनि आफ्नै पार्टी जित्नुपर्ने बताएका हुन्।

'केही गरी प्रतिनिधिसभा पुनर्स्थापना भयो भने बहुमतको सरकार रहँदैन। अनि फेरि सांसद किनबेच, फेरि समीकरण। फेरि सरकार ढाल्ने बनाउने खेल हुन्छ। डेढ दुई वर्ष त्यसैमा समाप्त हुन्छ। र देश अघि बढ्न सक्दैन। त्यसैले ताजा जनादेशमा जानुको विकल्प थिएन,' ओलीले भने।

प्रतिनिधिसभा विघटनको मुद्दाका बारेमा उनले भने 'सर्वोच्च अदालतले कसैको दबाबमा कुनै अन्यथा फैसला गर्न सक्छ भनेर कल्पना गर्न सकिँदैन।'

उनले अदालतले देशभर भइरहेको सभा र प्रदर्शनहरु नियालिरहेको र जनमत हेरिरहेको भन्दै मुलुक कता जान्छ भन्ने बारे विशलेषण गरेको हुनुपर्ने समेत बताए। 

ओलीले आउने निर्वाचनमा अरु दल जित्ने कुनै आधार नभएको समेत दावी गरे। यस्तै, आफूहरुलाई निर्वाचनमा जित्न रोके आन्दोलन हुने चेतावनी समेत दिए।

'तपाईहरु चुनावको तयारी गर्नुस। परिणाम कस्तो आउनुपर्छ सबैभन्दा महत्वपूर्ण कुरा यही हो। अरुको इशारामा चल्ने, पार्टी फुटाउने, पदका लागि झुटा कुरा फैलाउने के त्यस्तालाई जिताउने ? त्यस्ता तत्वलाई चिनेर पराजित गर्नुपर्छ।। देशभक्ती शक्तिलाई जिताउन पर्छ,' ओलीले भने, ' आजको आवश्यक्ता यही हो। यो अभियानलाई कसैले दायाँबायाँ हुन दिनु हुँदैन।' 

अरुले निर्वाचनमा जित्नुपर्ने कारण नै नभएको भन्दै ओलीले भने, 'अरुले जित्नुपर्ने कुनै कारण छ र ?  कुनै कारण छैन त्यसैले हामीले जित्नुपर्छ। सूर्य चिह्न हामीले पाउँछौं, चुनाव हुन्छ। तपाईहरु तयारी गर्नु्स। 

ओलीले आफूहरुलाई हराउन षड्यन्त्र गरिए आन्दोलन गर्ने बताउँदै भने, 'कुनै जालझेल, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ। फेरि त्यस्ता शक्तिलाई पराजित ग‍र्छौं।'

न्युटनको कुरा

यस्तै, ओलीले न्यूटन र ग्यालिलियोले भन्दा अघि नै नेपालमा ती सिद्धान्तहरु उत्पत्ति भइसकेको दोहोर्‍याए।

'भास्कर आचार्यले गुरुत्वआकर्षण पत्ता लगाएक हुन्। न्यूटनले गरेको होइन। ग्यालिलियले सिद्धान्त बनाएका होइन। हामी केही समयले पछि परेका मात्रै हौं,' उनले भने।

नेकपा नेताहरुले ओलीले आजको सम्बोधनमा ठूलो घोषणा गर्ने भने पनि ओलीले त्यस्तो केही घोषणा गरेनन्।

बरु ओलीले ३ वर्षमा आफ्नो सरकारले गरेका कामहरुको लिस्ट सुनाए। र, नेपाल आँशु कविहरुको देश रहेको तर्क गरे।

'नेपाल आँशु कविहरुको देश हो। धारावाहिक रुपमा गीत गाउँदै कविता लेख्ने देश हो। विदेशीहरु आएर दोहोरी सिक्दैछन्। यो देश सिर्जना र ज्ञानको मुहान हो। विभिन्न खोज अनुसन्धानको मुहान हो। त्यसैले विकास हुन्छ,' ओलीले भने।

'पुन र सापकोटामाथि प्रहार'

ओलीले उपराष्ट्रपति नन्द बहादुर पुन सरकार विरुद्ध बोल्दै हिँडिरहेको आरोप लगाएका छन्।

भने,' उपराष्ट्रपति सरकारविरुद्ध भाषण गरिरहेका छन्। उनको पद सरकारको विरोध गर्दै हिँड्ने होइन।'

ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष मुद्दा हाल्दै हिँडेको भन्दै सभामुख अग्नी सापकोटा समेत झगडिया बनेर मुद्दा हाल्दै हिँडेको बताए।

'सभामुख बनाएको व्यक्ति नै सरकारविरुद्ध मुद्दा हाल्दै हिँडिरहेका छन्। सभामुख झगडिया हुन जानु भयो' उनले भने।

ओलीले सभामुख सापकोटाले कीर्ते गरेको आरोप समेत लगाए।

'हार्‍यो कोरोना'

ओलीले नेपालमा कोरोना भाइरस पराजित भइसकेको बताएका छन्। भ्याक्सिन आइसकेकोले कोरोनालाई पराजित गरिसकेको बताएका हुन्।

ओलीले भारतबाट आएको भ्याक्सिन दिने काम सुरु भइसकेको र भोलि भारतबाट थप भ्याक्सिन आउने समेत बताए। यस्तै, चीनबाट समेत चाँडै भ्याक्सिन आउने ओलीले बताए।

प्रदेश १ को विशेषतालाई विस्तारित रुपमा व्याख्या गर्दै ओलीले आफ्नो सरकारले ३ वर्षमा गरेको कामको प्रशंसा संयुक्त राष्ट्र, विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय संगठनले गरेको दाबी गरे।

साथै, २०२२ सम्म नेपाल विकासशिल राष्ट्रमा उन्नती हुने दाबी गरे। यस्तै, उनले सन् २०३० सम्म सम्पन्न गर्नुपर्ने दिगो विकासको लक्ष्य त्यसअघि नै पूरा हुने समेत बनाए।

'चन्द्रमाबाट तस्विर लिनुपर्छ'

प्रधानमन्त्री ओलीले विराटनगरमा आज गरिरहेको शक्ति प्रदर्शनमा 'जनता जागरित भएर आएको दावी गरे। लाखौं संख्यामा मानिसहरु आमसभामा उपस्थित भएको दावी गर्दै उनले मानिसको उपस्थिति हेर्न प्रचण्ड-नेपाल समूहका नेतालाई चुनौती पनि दिए।

विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सभास्थलमा मानिसहरु राख्ने ठाउँ नभएका कारण चोकचोकमा र घरघरमा टेलिभिजनबाट मानिसहरुले आफ्नो सम्बोधन सुनिरहेको दावी गरे।

सभामा उपस्थित मानिसको तस्विर ड्रोनले खिचे पनि त्यो संख्या ड्रोनले पनि खिच्न नसक्ने भएको उनको दाबी थियो।

'ड्रोनले पनि फोटो खिचेर सक्दैन। चन्द्रमाबाट मात्रै देखिन्छ,' ओलीले भने।

ओलीको कटाक्ष

काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षले गरेको सभामा दुई चार हजार मानिस उपस्थित भएको दाबी गर्दै ओलीले उनीहरुलाई आफ्नो सभा हेर्न आउन आह्वान गरे।

'दुईचार हजारमान्छे जम्मा गरेर ओलीको सहभागिता हेर्न बोलाएका थिए। म यउहाँ हरुलाई यहाँ आएर हेर्न भन्न चाहन्छु। म यता आएर हेर्नुस।'

उनले प्रचण्ड कुनै बेला बैद्यको साथमा, त्यसपछि डाक्टरको साथमा र अहिले झाँक्रीको साथमा हिँडेको बताए। 'उहाँ पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यले छोडे, त्यसपछि उहाँ डाक्टरसँग हुनुभयो। डाक्टरले पनि छाडे। त्यसैले अहिले उहाँ झाँक्रीसँग हुनुहुन्छ,' ओलीले भने।

प्रचण्डले राजनीतिमा सफलता पाउन सम्भव नभएको दावी गरे। 'सिद्धिसकेका प्रचण्डलाई मैले दुई चार सिटमा सीमित हुनेलाई मैले जुरो हालिदिएको थिएँ। सिङ हाल्दिएको थिएँ,' ओलीले भने, 'लामा सिङ देखिएपछि उहाँमा अहँकार भरियो। उहाँ हामीलाई सिध्याउँछु भन्नेतिर लाग्नुभयो।'

उनले अझै पनि फर्किन चाहनुहुन्छ भने फर्केर आउनस् भन्दै प्रचण्डलाई भिरको गोरुसँग तुलना गरे। 'भिरबाट लड्नेलाई राम राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न। उहाँ फर्किने बाटोमा गएको होइन,' ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell