PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

ताप्लेजुङको दोभान बजारमा ४० बढी घर जलेर नष्ट : मान्छे भाग्न सफल भए, अरु सबै खरानी भयो



फूलमाया पुरी

ताप्लेजुङको दोभान बजारमा ४० बढी घर जलेर नष्ट : मान्छे भाग्न सफल भए, अरु सबै खरानी भयो

विराटनगर : ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ स्थित दोभान बजारमा आगलागी हुँदा करिब ४० घर जले नष्ट भएको छ। आगो नियन्त्रणमा नआउँदा थप घरहरु क्षति हुन सक्ने भन्दै स्काभेटरको प्रयोग गरेर क्षति कम गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष गणेश बहादुर लिम्बुले जानकारी दिए।

जिल्लाकै सबैभन्दा दोस्रो ठूलो बजारमा लागेको आगो नियन्त्रण गर्न प्रहरी, सेना र स्थानीयको सहयोगमा फुङ्लिङबाट दमकल दोभान बजार ल्याइएको उनले बताए। दमकल ढिला आउँदा आगो फैलिएको भन्दै स्थानीयले गुनासो समेत गरेका थिए। 

'घरहरु भत्काउँदै माटोले अन्यन्त्र आगो फैलिन नदिन रोक्ने काम भइरहेको छ। तर पनि अझै आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन' उनले भने।

आगलागीका कारण हालसम्म कुनैपनि मानवीय क्षति नभएको उनले बताए। बजारमा रहेका मानिसहरु बेलैमा भाग्न सफल भएका कारण क्षति नभएको उनले बताए।

'मान्छे भाग्न सफल भए। अरु सबै जलेर खरानी भयो ' उनले भने।

अहिले दोभान बजारका स्थानीयहरु त्रासमा रहेको र सबै स्थानीयलाई एकैठाउँमा जम्मा गर्न नसकिएको उनले बताए।

अध्यक्ष लिम्बुका अनुसार बजारमा लागेको आगो जंगलतर्फ अघि बढेको छ जसकारण आगो नियन्त्रण गर्न थप कठिन हुने देखिएको छ।

'यदि त्यसलाई नियन्त्रण गर्न सकिएन भने अनियन्त्रित भइ अर्को बस्तीमा आगलागी हुने खतरा र ठूलो क्षति हुने सम्भावन छ' उनले भने।

बजारमा कपडा पसल संचालन गर्दै आएका स्थानीय भोला पौडेलको घरबाट आगलागी सुरु भएको हो। आगो कसरी लाग्यो भन्ने यकिन गर्न नसकिएको लिम्बुले बताएका छन्। यद्यपि, स्थानीय गणेश कार्कीले भने विद्युत चुहिएर अचानक आगो सल्किएको बताएका छन्।

अध्यक्ष लिम्बुका अनुसार हाल पौडेल दम्पती सम्पर्कमा आएका छैनन्। बजारका मानिसहरु आगलागीपछि भागेर टाढै पुगेकाले उनीहरुको खोजी भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell