PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राजनीतिको व्यस्त 'सेड्युल'बिच देउवाले भेटे ज्योतिषी, प्रसाद लिएपछिको चासो : अबको समय कस्तो छ?



प्रकाश भण्डारी

राजनीतिको व्यस्त 'सेड्युल'बिच देउवाले भेटे ज्योतिषी, प्रसाद लिएपछिको चासो : अबको समय कस्तो छ?

काठमाडौं : सर्वोच्च अदालतको संसद पुनर्स्थापना गर्ने फैसलापछि राजनीति कोर्स बदलिने र देशले निकास पाउने अनुमान थियो धेरैको।

प्रधानमन्त्री केपी शर्मा ओली पदमा नरहने भन्दै ओली समूहकै नेताले दिएको अभिव्यक्तिलाई समेत प्रधानमन्त्रीले झुटो सावित गरेपछि भने धेरैको अनुमान फेल खायो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले पनि ओलीले मुद्दा हारेसँगै राजनीतिक कोर्स बदलिने दाबी गरेका थिए। तर, त्यसलाई झुटो साबित गर्दै ओली समूहका नेता सुवास नेम्वाङले मुद्दा हारेपछि प्रधानमन्त्री झन् बलियो भएको तर्क गर्न थालेका छन्।

ओलीलाई पदबाट हटाउन र नयाँ सरकार गठनमा काँग्रेस यतिखेर निर्णायक पोजिसनमा छ। कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको जुन समूहलाई साथ दिन्छन् त्यही समूह संसदमा बलशाली हुने देखिन्छ। त्यसैले अहिले धेरैलाई चासो छ - देउवाको साथ कसलाई? स्वयम् देउवालाई समेत कसलाई साथ दिने भन्ने कठिन भइरहेका बेला उनले भने ज्योतिषको परामर्श लिएका छन्। 

ब्यस्त सेड्युलका बाबजुतको भेट

देउवाले आफ्नै निवास बुढानीलकण्ठमा ज्योतिष सुरेश रिजाललाई भेटे। उनी तिनै ज्योतिष हुन् जसले देउवलाई सात पटक प्रधानमन्त्री हुने योग रहेको दाबी गरेका थिए।

रिजालले मंगलवार फेरि देउवालाई परामर्श दिएका छन्। तर, आफ्नो परामर्श राजनीतिक भन्दा बढी पारिवारिक भएको रिजालको भनाइ छ। देउवाले ब्यस्त सेड्युलकै बिच रिजालसँग केही बेर बिताए।

'यो हाम्रो नियमित पारिवारिक भेटघाट जस्तै हो। अहिले माहोल फेरिएकाले त्यहाँ भिडभाड पनि बढी थियो,' रिजालले भने।

देउवाको चासो के थियो?

देउवा अहिलको अन्योलपूर्ण अवस्थामा कस्तो निर्णय लिने भन्ने दोधारमा छन्। एक हिसाबले हेर्दा देउवाको दुवै हातमा लड्डु छ। दुवै हातमा लड्डु हुनुको अर्थ हो - असहजता। 

संसद विघटनको विरुद्धमा बोल्नुपर्ने उनकै पार्टीका नेताहरुको मागलाई समेत देउवाले लत्याउँदै आएका थिए। बरु उनको तर्क रहने गर्थ्यो-अदालतमा बिचाराधीन मुद्दाका विषयमा अहिले बोल्दिन। अदालतले जे भन्छ त्यही ठिक। अदालतले फैसला गरेपछि विघटन असंवैधानक भन्दै ओलीको निर्णयको बिरोध त देउवाले गरे तर खुलेर प्रचण्ड-नेपाललाई साथ दिन भने सकेनन्। यस्तो बेलामा देउवाले ज्योतिषलाई के सोधे त?

ज्योतिष रिजाललाई देउवाले निकै चासोका साथ आगामी दिन कस्तो छ? भन्ने प्रश्न गरेका थिए। राजनीतिक रुपमा अन्यौलपूर्ण अवस्था आएकाले नै देउवाले परामर्शका लागि रिजाललाई डाकेका हुन्। 'उहाँले अहिले के गर्ने भन्ने विषयमा चासो दिनुभएको थियो,' रिजालले भने।

ओहो ! यत्रो समय?

देउवा रिजालको सुझाव सुनेर 'एक्साइटेड' भएका थिए। तर, तीन महिनासम्मको अवधि ठीक नभएको रिजालको सुझाव भने देउवाका लागि धेरै प्रीतकर थिएन। 

'चैत ३१ देखि असारसम्ममा कुनै पनि महत्वपूर्ण निर्णय नलिँदा राम्रो हुन्छ। उहाँले हातको औला गनेर यत्रो चार महिना भनेर भन्नु भएको थियो। उहाँले अर्कै मुडमा यो कुरा गर्नु भएको थियो,' रिजालले भने।

फागुन २३ गतेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक आह्वान गरेकी छन्। त्यसअघि नै काँग्रेसको कित्ता क्लिएर गर्नुपर्ने देउवामाथि दवाव छ। नेकपालाई लिएर काँग्रेसभित्रै दुईवटा समूह देखा परेको छ। ओलीको कदमलाई रुचाउने र प्रचण्ड-नेपाललाई आन्दोलनमा साथ दिने। संसद विघटनको मुद्दा विचाराधीन भएका बेला पनि देउवाले नचाहेरै भए पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए।

देउवालाई प्रसाद

'मैले भेटनुको एउटा उद्देश्य उहाँलाई एउटा प्रसाद दिनु पनि थियो। त्यही भएर पनि उहाँको र मेरो भेट सम्भव भयो। तर धेरै समय बस्न सक्ने स्थिति थिएन,' रिजालले भेटको अर्को कारण खुलाए।

तर, प्रसाद के थियो भन्नेबारे भने रिजालले बताउन चाहेनन्। राजनीतिका बारेमा समेत खासै धेरै कुरा बोल्न नमिल्ने बताएका रिजालले तीन महिना भने देउवालाई अनिर्णित बस्न सल्लाह दिएका छन्। राजनीतिक रुपमा विभाजित भएका नेकपाको दुई समूहमध्ये कुन समूहमा लाग्दा ठीक हुन्छ भन्नेबारे भने सल्लाह नदिएको रिजालको भनाई छ।

'जुन समूहमा र जसलाई साथ दिए पनि त्यो धेरै टिक्ने देखिँदैन। मेरो सल्लाह कुन समूहमा लाग्ने भन्नेमा थिएन,' उनले भने।

किन तीन महिना राम्रो छैन् देउवाको लागि?

चैत ३१ गते मंगलवार परेको र त्यही दिन नवरात्र पर्दा देवीको वाहनका रुपमा घोडामा सवार भएर प्रवेश हुने भएकाले यस्तो बेला निर्णय लिनु ठीक नभएको उनको रिजालको ज्योतिषशास्त्रीय तर्क थियो।

'शनिवार र मंगलवार नवरात्र पर्‍यो भने बाहानका रुपमा देवी घोडामा सवार भएर प्रवेश हुन्छ,' उनले भने। उनी आफूले यसअघि पनि यस्तो सल्लाह दिएको र त्यो मिलेको दाबी गरे। त्यसका लागि उनले कात्तिक महिनामा आफूले दिएको सल्लाहको उदाहरण प्रस्तुत गरे - 'जस्तो कि कातिक १ गते शनिवार परेको थियो। त्यो बेला नै हामीले भनिसकेका थियौं देशका प्रमुख व्यक्तिलाई अनिष्ट हुन्छ। पुसमा यस्तो अनिष्ट भयो। क्षत्रभंग योग भयो,' उनले भने।

फेरि पनि क्षत्रभंग योगले गर्दा राजनीतिक गठबन्धन नटिक्ने रिजालले दाबी गरे। तै पनि देउवाका अघि कुनै एउटा निर्णय गरेर अघि बढ्नुपर्ने बाध्यता भएको उनको भनाई छ। उनले गर्नैपर्ने निर्णयका लागि रिजालले फेरि भेट्ने बताएका छन्।

'म अहिले नै कसलाई रोज्दा ठीक हुन्छ भन्न सक्दिन। फेरि एकपटक जानुपर्नेछ, मैले त्यसपछि यो कुरा आउला,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell