PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रधानमन्त्रीको 'सुरक्षा थ्रेट' अभिव्यक्तिः न थपिए सुरक्षाकर्मी, नत सुरक्षा थ्रेट !



पहिलोपोस्ट

प्रधानमन्त्रीको 'सुरक्षा थ्रेट' अभिव्यक्तिः न थपिए सुरक्षाकर्मी, नत सुरक्षा थ्रेट !

काठमाडौँ : सुरक्षा निकायहरूले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कुनै पनि सुरक्षा थ्रेट नभएको निष्कर्ष निकालेका छन्। प्रधानमन्त्री ओलीले सोमवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दा आफू माथि सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री ओलीले भनेका थिए,'अत्यन्तै तीव्र रूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' त्यसपछि प्रधानमन्त्रीको सुरक्षाको जिम्मेवारी पाएका चार वटै सुरक्षा निकायहरूले यस विषयमा आन्तरिक रुपमा सङ्गठनभित्र अनौपचारिक छलफल गरेका थिए।

तर चार वटै सुरक्षा निकायले प्रधानमन्त्री ओलीमाथि कुनै पनि सुरक्षा चुनौती रहेको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री ओलीलाई दिँदै आएको सुरक्षा प्रणालीमा कुनै पनि परिवर्तन गरिएको छैन। गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले कुनै सुरक्षा प्रणालीमा परिवर्तन नगरिएको बताए। प्रधानमन्त्रीले थ्रेट भएको अभिव्यक्ति दिनु भयो। त्यसपछि के गर्नु भयो त? भन्ने प्रश्नमा प्रवक्ता बुढाले भने, 'त्यस्तो केही देखिएन। कुनै पनि सुरक्षाकर्मीको सङ्ख्यामा थपघट गरिएको छैन।'

नेपाली सेनाले प्रधानमन्त्री ओलीको सुरक्षाको कमान्ड लिएको हुन्छ। गृह मन्त्रालयको सुरक्षा योजना अनुसार राष्ट्रपतिदेखि प्रदेश प्रमुखसम्म मात्र ८ सय भन्दा बढी सेना खटिएका छन्। प्रधानमन्त्री निवासदेखि प्रधानमन्त्री सुरक्षासम्म नेपाली सेनाबाट मात्र १ सय ७५ जना सुरक्षाकर्मी खटिएका छन्।

त्यस्तै नेपाल प्रहरीले प्रधानमन्त्रीको सुरक्षाको लागि डिएसपीको नेतृत्वमा ८० भन्दा धेरै सुरक्षाकर्मी खटाएको छ। उनीहरू प्रधानमन्त्री निवासदेखि प्रधानमन्त्री जाने सबै कार्यक्रमसम्म खटिएका हुन्छन्। प्रधानमन्त्री निवासमा चौबिसै घण्टा सुरक्षा प्रबन्ध मिलाइएको हुन्छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पनि सुरक्षाकर्मी थपिएको वा थ्रेट भएको बारेमा कुनै प्रतिक्रिया भने दिएनन्। तर नेपाल प्रहरीका एक उच्च अधिकारीले भने कुनै पनि सुरक्षाकर्मी थप नगरिएको र अहिलेसम्म प्रधानमन्त्रीले भनेझैँ कुनै सुरक्षा चुनौती नभएको बताए।

'उहाँले के आधारमा भन्नुभयो थाहा भएन। तर हाम्रो सूचना अनुसार अहिलेसम्म कुनै पनि त्यस्तो सुरक्षा चुनौती देखिएको छैन।'

प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा निरन्तर खटिनेमा सशस्त्र प्रहरी पनि हो। निवासदेखि प्रधानमन्त्री सुरक्षासम्म सशस्त्र प्रहरीबाट ३५ जना सुरक्षाकर्मी खटिएका छन्। उनीहरू स्कटिङदेखि अन्य किसिमका सुरक्षामा देखिन्छन्।

संसद् विघटनपछि नेपाल कम्युनिस्ट पार्टीमा देखिएको आन्तरिक विवादको विषयलाई लिएर प्रधानमन्त्रीले सुरक्षा थ्रेट भनेको सुरक्षा निकायहरूले निष्कर्ष निकालेका हुन्। सोमबार पोखरमा अभिव्यक्ति दिएपछि पनि प्रधानमन्त्री ‌ओली देशका विभिन्न जिल्लामा कार्यक्रममा सहभागी भइरहेका छन्।

सम्बन्धित समाचार

जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell