काठमाडौं : प्रचण्ड- माधव समूहको स्थायी कमिटी बैठक सुरु भएको छ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो। सोमवार सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नाम विवाद टुंग्याएसँगै राजनीति नयाँ मोडमा पुगेको छ जसले विधिवत रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र फरक फरक पार्टीलाई व्युँताएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बिच पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता भएको थियो। तर, अदालतले दुवै पार्टीको एकतामा नै प्रश्न उठाएपछि राजनीतिक दलहरु के गर्ने भन्ने अन्योलमा छन्।
प्रचण्ड माधव समूहले डाकेको स्थायी कमिटी बैठकमा वाम सरकार नै बनाउने लगायतका विषयमा छलफल हुने स्थायी कमिटी सदस्य भीम आचार्यले जानकारी दिए। त्यस्तै, एमालेले बोलाएको बैठकमा जाने या नजाने विषयमा पनि छलफल हुने नेता आचार्यले बताए।
अदालतले पार्टी एकिकरण भएको मान्यता नदिएपछि सरकार अल्पमतमा परेको प्रचण्ड-माधव समूहले आरोप लगाइरहेको छ। त्यस्तै, आइतवार सांसद भीम रावलले संसदमा तपाईं कुन पार्टीको प्रधानमन्त्री भनेर प्रश्न गरेका थिए।
