काठमाडौं : मङ्गलवार एक पुरुषले प्रहरी प्रभाव कलङ्कीमा आफ्नो रकम चोरी भएको निवेदन लिएर पुगे। कलङ्की क्षेत्रमा चल्ने सार्वजनिक सवारीमा यात्रा गर्दा गोजीको पैसा चोरी भएको जानकारी दिए। प्रहरीमा चोरी भएका घटना दैनिक आइरहने भएकाले यो कुनै नौलो घटना भने थिएन।
पछिल्लो समय कलङ्की, बल्खु, लाम्पाटी क्षेत्रमा पकेटमारबाट धेरै पीडित भएका उजुरी प्रहरीमा परेका थिए। तर, यस पटक भने पीडित पुरुषले पकेटमारको हुलिया नै लिएर पुगे। हुलिया चाहिँ थियो दुई युवतीको। पहेलो र कालो टिसर्ट अनि जुत्तादेखि पाइन्टसम्मको विवरण प्रहरीमा दिए उनले।
त्यसपछि प्रहरीले खोजी सुरु गर्यो। सम्भावित युवतीसँग हुलिया मिलाउँदै हिँड्यो। कलङ्कीमा एक त्यस्तै युवती चिया पिएर बसिरहेकी थिइन्। लाम्पाटीमा अर्की युवती गल्लीमा छिर्दै गर्दा प्रहरीको कब्जामा परिन्।
उनीहरू थिए- गोङ्गबु ११ की २४ वर्षीय सम्झना परियार र सिन्धुपाल्चोककी २३ वर्षीय सिर्जना उप्रेती। पीडित पुरुषले दिएको हुलिया फेरि प्रहरीले म्याच गर्यो। उनीहरुको पृ्ष्ठभूमि र अन्य प्रमाणले उनीहरू पकेटमार भएको खुल्यो। उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा साथमा भेटियो ३६ हजार ५ सय रुपैयाँ।
लुटमा महिलाको गुट : गृहिणीको भेषमा 'लेडिज पकेटमार ग्याङ'
'यो उनीहरू त्यस दिनको मात्र पकेटमारको पैसा रहेछ। त्यस दिन दुई वटामात्र पकेट मारेका रहेछन्। हुलियाको आधारमा समातेका हौँ,' प्रहरी प्रभाव कलङ्कीका प्रहरी निरीक्षक मिठु खड्काले भने।
प्रहरीले नियन्त्रणमा लिएका युवतीले करिब ३ वर्ष देखि पकेटमार गर्दै आएको बयान दिएका छन्। उनीहरूले कलङ्की, बल्खु, गोंगबु गुड्ने सार्वजनिक सवारीमा पकेट मार्ने गरेको खुलेको छ। उनीहरूको समूहमा अन्य सात जना पुरुष समेत भएकाले प्रहरीले खोजी गरिरहेको छ।
'भिड भएको गाडीमा चढ्ने अनि केटीहरूले गाडी भित्र उभिएका प्यासेन्जरलाई ठेलम् ठेल गर्ने, अनि पकेटबाट पैसा झिक्ने गर्ने ट्रेन्ड देखियो,' प्रहरी निरीक्षक खड्काले भने।
७७ जना पकेटमार पक्राउ : उनीहरुको आफ्नै कोड, प्रहरीलाई भन्छन् 'ठुल्दाइ'
उनीहरूले बिहान ९ बजेदेखि ५ बजेसम्म मात्र पकेटमार गर्ने गरेको प्रहरीमा बयान दिएका छन्। यो समय अफिस टाइम हो। मानिसको चाप सार्वजनिक यातायातमा सबैभन्दा धेरै हुने गर्छ। जसले गर्दा पकेटमारले आफ्नो टार्गेटको समय बनाउँछन्।
प्रहरीले अन्य सात जना पकेटमारलाई समेत खोजी गरिरहेको छ।
