PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काँग्रेस नेता अशोक कोइरालाको निधन



अनन्तराज न्यौपाने

काँग्रेस नेता अशोक कोइरालाको निधन

विराटनगर : नेपाली काङ्ग्रेसका नेता अशोक कोइरालाको निधन भएको छ।

मङ्गलबार राति घरमै अचानक बेहोश भएका ७८ वर्षीय कोइरालाको गए राति विराटनगरको न्यूरो अस्पतालमा निधन भएको हो।

अस्पतालले उनलाई न्यूमोनिया र सामान्य स्ट्रोक भएको निदान गरेको छ।

नेपाली काङ्ग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला अशोक कोइरालाका सहोदर दाजु हुन्।

अशोक २०४४ देखि २०६३ सालसम्म लगातार २० वर्ष नेपाली काङ्ग्रेस मोरङको सभापति थिए। उनी २०४९ को स्थानीय निर्वाचनबाट विराटनगर महानगरपालिकाका प्रमुखमा निर्वाचित भएका थिए। यसपछि उनी राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य पनि भए।

विद्यार्थी कालदेखि नै नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय अशोक पञ्चायत कालमा दर्जनौँ पटक पक्राउ परी करिब ५ वर्ष जेल बसेका छन्। तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा कू गर्दा पनि प्रहरीले सबैभन्दा पहिले विराटनगरमा अशोकलाई नै पक्राउ गरेको थियो।


पुस १६ गते बिपीको सम्बोधन भएको पर्चा काठमाडौंमा कसरी बाँडियो? यस्तो छ अशोक कोइरालाको संस्मरण


अशोकले २०४२ सालमा प्रहरीबाट निर्मम र अमानवीय यातना पाएका थिए। राष्ट्रिय मेलमिलाप दिवसको पम्प्लेट विराटनगरका भित्तामा टाँस्तै गर्दा प्रहरीले कोइरालासहित अर्का नेता अमृत अर्याललाई पनि पक्राउ गरेर मलद्वारमा खोर्सानी कोचेर चरम यातना दिएको थियो।

नेपाली काङ्ग्रेसका पूर्व सभापति बद्रीनारायण बस्नेतले कोइरालाको निधनबाट पार्टी एक होनहार र अथक योद्धा गुमाएको बताएका छन्।

‘सधैँ आन्दोलन र परिवर्तनका लागि लालायित हुन्थे अशोक’, नेता बस्नेतले भने, ‘अप्ठ्यारो परेका बेला कहिल्यै डराएनन्। सधैँ अग्रिम पङ्क्तिमा रहे।’

कोइरालाको दाह संस्कारका लागि दिउँसो १ बजे उनको मधुमारास्थित निवासबाट शवयात्रा निकालिने मोरङ काङ्ग्रेसका सभापति डिगबहादुर लिम्बूले जानकारी दिए।

सभापति लिम्बूले अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव पोखरियास्थित जिल्ला पार्टी कार्यालयमा २ घण्टा राखेर स्थानीय हाटखोलास्थित सिङ्गिया घाटमा अन्तिम संस्कार गरिने बताए।

कोइरालाको शवयात्रामा सहभागी हुन नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला, केन्द्रीय सदस्य डाक्टर मीनेन्द्र रिजाल, डाक्टर शेखर कोइराला, डाक्टर डिला सङ्ग्रौला लगायतका नेता विराटनगर आउने कार्यक्रम छ।

कोइरालाका १ छोरा र १ छोरी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell