PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फ्रेन्चाइज फुटबलमा कर्पोरेट हाउसहरुको किक्, 'सबै कुरा जिरोबाट सुरु हुन्छ'



मुकुन्द घिमिरे

फ्रेन्चाइज फुटबलमा कर्पोरेट हाउसहरुको किक्, 'सबै कुरा जिरोबाट सुरु हुन्छ'

काठमाडौं : पछिल्ला हप्ताहरुमा नेपाली खेलकुदमा चर्चाको विषय बनेको छ नेपाल सुपर लिग (एनएसएल)को। स्पोन्सर पाउन संघर्ष गर्ने नेपाली खेलकुदमा एकसाथ व्यवसायिक घराना भित्रँदा चासो बढ्नु नौलो हैन। अझ शुक्रवार सोल्टी होटलमा अक्सनबाट खेलाडीहरु विभिन्न टिममा अनुबन्धित हुँदा त लाग्थ्यो नेपाली फुटबल व्यवसायिकतातिर जाँदैछ। किनकि, सीमित क्लबलाई छाड्ने हो भने न्यून मूल्यमा क्लबसँगको करार गरेर त्यसमा पनि पैसा पाउन संघर्ष गरिरहेका नेपाली फुटबलरहरु धमाधम अक्सनबाट विभिन्न टिममा अनुबन्धित भइरहेका थिए।

हुन त भारतमा हुँदै आइरहेको इण्डियन सुपर लिग (आईएसएल) कै रुपमा नेपालमा प्रतियोगिता हुन गइरहँदा व्यवसायिक घरानाहरुको इन्ट्री पनि त्यसरी नै भइरहेको भनेर विश्लेषण पनि चलेको छ। आईएसएलमा गोनेका ग्रुप, टाटादेखि बलिउड स्टार, क्रिकेट स्टारसम्मको लगानीले गर्दा भारतीय फुटबलले फड्को मारिरहेको छ। त्यसैको प्रभाव हुन सक्छ यहाँ पनि, त्यही शैलीको लिग र त्यसरी नै व्यवसायिक घरानाहरुको इन्ट्री।

नेपालमा नौलो प्रयोग मानिएको सात फ्रेन्चाइज टिमको सहभागिता रहने एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर लाखेज फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी टिम रहेका छन्। लिगमा विराटनगरका टिम मालिक अनुप रन्जन भट्टराई रहेका छन् भने काठमाडौंका टिम मालिक चिरन्जीवी शाह, ललितपुरका टिम मालिक कामना गुरुङ, चितवनका टिम मालिक चन्द्र ढकाल, पोखराका टिम मालिक निराकार श्रेष्ठ, बुटवलका टिम मालिक राजकुमार तिमल्सिना र धनगढीका टिम मालिक सुवासबहादुर शाही रहेका छन्।

प्रश्न उही दोहोरिन्छ, नेपाली फुटबलमा शीर्ष लिग शहीद स्मारक ए डिभिजन लिगमा समेत रंगशाला भरिन नसकेको सन्दर्भमा कसरी व्यवसायिक घरानाहरु नेपाली खेलकुदमा इन्ट्री भएका छन्? टिम मालिक के भन्छन् त फुटबलमा इन्ट्रीलाई लिएर? कस्तो बनेका छन् फ्रेन्चाइज टिमहरु?

एफसी चितवन


मार्की खेलाडी: भरत खवास

खेलाडी: रोमन रसाइली, विशाल सुनुवार, विकास तामाङ, शिशिर लेखी, कुलदीप कार्की, मनिष थापा, रुपबहादुर लामा, अमित तामाङ, विकास खवास, सीमन्त थापा, विश्व अधिकारी, राजीब लोप्चन, टेक बुढाथोकी, विवस चौधरी


एफसी चितवनका मालिक हुन् व्यवसायी चन्द्र ढकाल। आइएमई ग्रुपका अध्यक्ष रहेका उनी उद्योग वाणिज्‍य महासंघका उपाध्यक्षसमेत हुन्। यता फुटबलमा लगानीका लागि भने सक्रिय रुपमा लागेका छन् उनका छोरा सचिन ढकाल। ढकाल भर्खर २२ वर्ष पुगे। तर फुटबलमा उनको अनुभव भने राम्रो छ। भारतमा पढ्दा आफूले त्यहाँको स्टेट लेभलसम्मको फुटबल खेलेको उनी बताउँछन्।

फुटबलमा सोख भएकैले सानैबाट नेपाली फुटबललाई पनि नजिकबाट हेरिरहेका थिए उनले। अझ म्यानचेस्टर युनाइटेडका फ्यानसमेत रहेका उनी १२ कक्षाको पढाइ सकिएपछि लण्डन पुगे जहाँ युरोपको फुटबललाई पनि नजिकबाट नियाल्ने अवसर पाए। युरोपमा रहँदा उनले केही प्रशिक्षकहरुसँग भेट्ने अवसर पनि पाए। जहाँबाट उनलाई लाग्यो कि नेपालमा पनि फुटबलमा लगानी गरे गति दिन सकिने रहेछ।

नेपाली फुटबलमा लगानी गर्नुको पछाडी मुख्यगरी दुई कारण देखाउँछन् उनी : पहिलो - फुटबलप्रतिको प्यासन र दोस्रो - 'ब्राण्डिङ'।

उनले अहिले नेपाली फुटबलमा लगानी र पूर्वाधारको कमी देखेका छन्।

'बाहिर त सबैभन्दा ठूला उद्योगमध्येमा खेलकुद पर्छ। स्पोर्टसमा जान सानैदेखि प्रयास हुन्छ, ' उनी भन्छन्, 'हाम्रो चाही के भइदियो भने स्पोर्टसमा स्कोप देखिएन। अब एनएसएलले चाहीँ सानो रुपमा सुरु भए पनि लामो समयका लागि प्रभाव पार्न सक्छ।'

उनले अहिले फुटबलमा लगानी गर्दा ठूलो फरक देखिन दशकौं पनि लाग्न सक्ने बुझेका छन्। तत्कालिन रुपमा पनि मार्की खेलाडी घोषणा गरिरहँदाको करार रकमको उदाहरण दिँदै उनले त्यसबाट खेलाडीलाई राहत मिल्ने देखिएको बताउँछन्।

अहिलेको फुटबलमा काठमाडौं भित्रकै क्लबहरु सीमित हुँदा अब बाहिरको पनि प्रतिनिधित्व आउनु राम्रो पक्ष हुने बताउँछन्।

'प्रोफिटको कुरा सुरुमै आउँदैन। नाफाको हिसाबले ब्रोडकास्टिङदेखि दर्शकको टिकेटिङबाट हुने हो। कोभिडका कारण टिकट धेरै नजाला,' उनी भन्छन्, 'टिभीमा भ्युअरसिप राम्रो नहोला। सर्टटर्ममा प्रोफिट सोचेको छैन। यो लङटर्मको कुरा हो।'

पहिला फाइदा भन्दा पनि फुटबल कल्चर बसाउनु ठूलो कुरा हुने उल्लेख गर्दै उनले प्रतिप्रश्न गरे:  युरोपमै शीर्ष लिग खेल्ने पनि कति क्लब फाइदामा छन् र?

विराटनगर एफसी


मार्की खेलाडी : रञ्जित धिमाल

खेलाडी : अशोक थापा, किशोर गिरी, विक्रम धिमाल, सरोज दाहाल, सुनिल बल, सुरज जंग ठकुरी, विजय धिमाल, सूर्य अधिकारी, सन्तोष तामाङ, हेम तामाङ, सुशिल लामा, सुनिल खड्का, दीपक राई, नीर कुमार राई


विराटनगर एफसीका मालिक हुन् अनुपरञ्जन भट्टराई। उनी नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक पनि हुन्। अहिले उनी टेलिकम्युनिकेसनसँग सम्बन्धित व्यापार गर्छन्।

भट्टराईका तर्फबाट फुटबलको लगानीलाई हेर्दैछन् विराटनगर फुटबल क्लबका प्रोपाइटर सुभाशिष कोइराला। कोइराला फुटबलका एक्सपर्ट र भट्टराई व्यवस्थापनका। कोइरालाले बार्सिलोनामा गएर फुटबलको कोर्षसमेत गरेका छन्, जसलाई नेपालमा देखाउन उनी 'एक्ससाइटेड' छन्। छोटो समयमा प्रतियोगिता भन्दै उनी 'होमवर्क' पुरै पुग्न कठिन हुने स्वीकार्छन्।

'फुटबलमा एकमहिनाको समयमा त होमवर्क पुग्दैन। हामी त्यो लेभलमा त पुगेका छैनौ। तर बाहिरका टिमहरुलाई हेर्ने हो भने ८००/९०० जना खेलाडीलाई स्काउटिङ गरेको हुन्छ,' उनी भन्छन्, 'एनएसएलकै कुरा गर्दा जब यसको घोषणा भयो त्यो पछि यसको तयारी तीब्र भएको हो। रिभिल सेरेमोनी अघि पनि धेरै कुरा अघि बढिसकेको थियो। धेरै कुराहरु विभिन्न कन्ट्राक्टहरुका कारण बाहिर आएनन् होला तर यसको मतलब केही नभएको भने होइन।'

आफूहरुसँग मैदानबाहिरको लागि राम्रो टिम भएको उनको दाबी छ।

'टिम राम्रो छ। बार्सिलोनामा रहँदादेखि यहाँसम्म आइपुग्दा मसँग फुटबलको अनुभव पनि राम्रो छ। त्यस्तै व्यवस्थापनको पक्षमा अनुप सर अनुभवी हुनुहुन्छ,' उनी भन्छन्, 'टिमको अन्य विषयको कुरा गर्दा सामाजिक सञ्जालदेखि हरेक पक्षमा हामीले डिस्क्लोज त गरिसकेको छैनौं तर छलफलको अन्तिम चरणमा छौं। किनभने यहाँ सबैभन्दा महत्वपूर्ण त टिम नै हो।'

अहिलेको सन्दर्भमा फुटबलमा क्रेज बनाउन कठिन हुने कुरालाई बुझेका छन् कोइरालाले। त्यस्तैले त फ्यान तान्ने योजना पनि चलिरहेको बताए भट्टराईले।

'अहिले चलिरहेका प्रतियोगता भन्दा के फरक छ र एनएसलमा? तपाईको टिमले समर्थक तान्ला?' जवाफमा कोइरालाले दुई कुरामा जोड दिए। पहिलो - नेपालमा हुने लिगको टाइमिङ र दोस्रो - सिटीको अवधारणा।

लिगको टाइमिङबाट थप स्पष्ट पार्दै कोइरालाले साँझको समयमा खेल हुने हुनाले पनि दर्शक तान्न सहज हुने दाबी गरे।

'अहिले भइरहेका प्रतियोगिताको समय केही गलत देखिन्छ। फ्लड लाइटको कस्ट बढी पर्न जाला। वा आर्थिक पक्ष महत्वपूर्ण छ। त्यसमा आँखा चिम्लिन नसकिएला तर यदि साँझको समयमा खेल हुने हो र तपाईको प्रदेशको सिटीको खेल भइरहेको छ भने काम सकेर खेल हेर्न जाने त वातावरण बन्छ नि,' उनले भने,'१२ बजेको खेल हेर्न जब छोडेर जान त गाह्रै हुन्छ नि। बेलुकी खेलाउँदा हुने बढी खर्च होला त्यो आफ्नो ठाउँमा छ। त्यसका लागि आफ्नै कारणहरु आफ्नो ठाउँमा छन्। टाइमले धेरै प्रभाव पार्छ। प्रिमियर लिग नै पनि दिउँसो १२ बजे हुने हो भने कतिले हेर्लान त?'

उनको बुझाइमा मध्यदिउँसो खेल हुने हुँदा मानिसहरुलाई रंगशालामा आउन प्रतिकुल अवस्था बन्ने देखिन्छ।

त्यस्तै सिटीको अवधारणाले दर्शक तान्न सहयोग पुग्ने उनको विष्लेशण छ।

'दर्शक तान्नु ठूलो चुनौती छ। प्रिमियर लिगका खेल विभिन्न सिटीमा हुन्छ। खेल हेर्न त्यही देशका या सिटीका खेलाडी हुन्छन् भन्ने छैन नि,' उनले थपे, 'तर पनि मानिसहरुले सपोर्ट गरेका छन्। यो सजिलो यात्रा त छैन। फ्यान बनाएर लैजान सजिलो र छोटोबाट नभए पनि सुन्दर बाटो बन्न सक्छ।'

एनएसएलको खेल संरचना र व्यवासायिक घराना यसमा जोडिनुलाई भारतीय प्रभाव भनेर विश्लेषण गरिएको पाइन्छ नेपालमा। तर राम्रो कुरा कतैबाट पनि सिक्नु नराम्रो नहुने तर्क कोइरालाको छ।

'यदि यसले खेलको स्तर र खेलाडीको स्तरलाई माथि लैजान सक्यो भने आईसएलबाट इन्सापायर भएको पनि मान्न सकिन्छ,' उनको तर्क छ, 'भारतमा फुटबलमा फाइनाइन्स आयो। यसले गर्दा खेलाडीहरु कम्पर्टेबल अवस्थामा पुगेका छन्। फरक त देखिन थालेको छ।'

यसमा उनले एउटा किस्सा थपे नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङको।

'अनिल गुरुङसँग कुरा गर्दा भन्दै थिए हामीले खेल्दा भारत र नेपालमा त्यति फरक थिएन। अहिले त ह्युज छ,' उनले भने, 'यस्तो अवस्थामा आइएसएलबाट पनि इन्सपायर हुन कुनै अफ्ठ्यारो मान्नुपर्ने अवस्था रहन्छ जस्तो लाग्दैन।'

त्यस्तै टिमका मालिक भट्टराईले पनि आफूले दीर्घकालीन योजना बनाएर लगानी गरेकोले अहिलेको मुख्य लक्ष्य टिम बनाएर जित्ने रहेको बताए। जसमा सही थप्दै कोइरालाले स्थिरता महत्वपूर्ण पक्ष हुने बताए।

'सबैभन्दा महत्वपूर्ण क्लबको स्टेबिलिटी हो। यो होइन कि यो साल जित्यो अर्को साल क्लब नै छैन। यो वर्ष हेरौं कसरी जान्छ, त्यसको रेसपोन्सले अर्को वर्षको हरौंला,' उनले भने।

धनगढी एफसी


मार्की खेलाडी : विशाल राई बी

खेलाडी : सौजन राई, रुपेश केसी, विजय श्रेष्ठ, योगेश गुरुङ, योद्धा शाही, निराजन महर्जन, विवेक बस्नेत, निशान खड्का, टंक बस्नेत, अशोक खवास, दिनेश राजबंशी, टेकेन्द्र थापा, पुजन उपरकोटी, दर्शन गुरुङ


धनगढी एफसीका मालिक हुन् सुवासबहादुर शाही। धनगढी प्रिमियर लिग (डीपीएल) को अवधारणा ल्याएर नेपालीमा क्रिकेटमा पहिलो फ्रेञ्चाइज लिग भित्र्याएका उनी एनएसएलसँगै फुटबलमा पनि प्रवेश गरेका छन्। त्यस्तै उनी तेक्वान्दोमा पनि यसअघि नै जोडिइसकेका छन्। टेक्निकल्ली र अनुभवको हिसाबले अरु टिमभन्दा उनी अगाडि देखिन्छन्।

‘सुरुमा प्रस्ताव आएको थियो। हामीले त्यसमा दोमन नगरी ओके भन्यौं। यसको महत्व र इम्प्याक्टबारे लामो अनुभवले फुटबलमा पनि यो सफल हुन्छ भनेर आएका हौं,’ उनी भन्छन्, ‘यो लिग हुँदा धनगढी या सुदूरपश्चिमलाई या एउटा सिटीको ब्राण्डिङ नै हो। सँगसँगै यसले खेलाडीलाई व्यवसायिक बनाउँछ। समग्रमा खेलको विकास हुन्छ। खेल व्यवसायिक भएपछिमात्र खेलाडी व्यवसायिक हुने हो र अघि बढ्ने हो।’

विशेषगरी क्रिकेटको क्षेत्रमा काम गरिरहेका उनलाई फुटबलको फ्रेन्चाइजमा प्रस्ताव आउनुलाई उनी आफ्नो अनुभवसँग जोडेर हेर्छन्। त्यसैले सुरुमै फाइदाको पछि कुद्न नहुने बताउँछन्। भन्छन, 'सुरुको दुई तीन वर्षलाई चाहीँ हामीले लगानी वर्षको रुपमा लिनु पर्ने हुन्छ।'

खेलकुदको लगानीलाई दीर्घकालीन लगानीको रुपमा लिनुपर्नेमा उनको जोड छ। आफूले चाहेको भए कुनै एउटा इभेन्टबाट पनि पैसा बचाउन सक्ने अवस्था रहेको स्मरण गर्दै उनी आफूले त्यसो नगरेकाले खेलकुदको माध्यमबाट दीर्घकालीन फाइदा हुने काम गरेको बताउँछन्।

‘यदि हामी पैसा जोगाउन लागेको भए इभेन्टको ग्रोथ हुने थिएन। धनगढीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने या खेललाई अझै माथिल्लो स्तरमा लैजाने भन्ने उद्देश्य प्राप्ति हुँदैन थियो,’ उनी भन्छन्, ‘हामीले क्यास बेनिफिट भन्दा त्यसको दीर्घकालीन असरलाई हेरेका हौं।’

नेपाली क्रिकेटको फ्रेन्चाइज लिगका सुरुवातकर्ता सुवास अब फुटबल टिमको मालिक : भन्छन्, 'लगानी गर्ने हो, प्रतिफल दीर्घकालीन मिल्छ'

काठमाडौं रेजर्स


मार्की खेलाडी : विकेस कुथु

खेलाडी: तेज तामाङ, आशिष गुरुङ, सञ्जोग राई, त्रिदेव गुरुङ, सुदीप सिखाकार, राजन गुरुङ, विनय श्रेष्ठ, रुमेस बर्तौला, पृथ्बी चौधरी, विश्वास श्रेष्ठ, अञ्जन राई, सुदिल राई, विमल पाण्डे, पेजेन तामाङ


रेजर्स अर्थात यामाहाको स्कुटरको एउटा मोडल। अघिल्लो वर्ष असोज महिनामा यामाहाले यो स्कुटर निकालेको थियो। 'स्पोर्टी' स्कुटर भएकाले यसका लागि खेलकुदसँग जोडिन आफूले खोजिरहँदा एनएसएलको प्रस्ताव आएकाले ढुंगा खोज्दा देउता भेटिए जस्तो भयो यामाहालाई।

'दशैँमा हामीले रेजियार स्कुटर लञ्च गरेका थियौं। यो एकदमै स्पोर्टी स्कुटर हो। त्यसमा मेल राइडर धेरै आकर्षित छन,' शाहले भने, 'यसको प्रचारप्रसारको लागि माध्यम खोजिरहेका थियौं। हामीलाई ढुंगा खोज्दा देउता मिल्यो भनेजस्तै भयो। फुटबलमा त क्रेजी दर्शक छन्।'

मोरङ अटो वर्क्सका सिईओ चिरञ्जिवी शाह आफ्नो स्कुटीलाई स्पोर्टसमा जोड्न चाइरहँदा एनएसएलको तयारी अघि बढेकोले 'अब्जेटिभ' मिलेकोले सहकार्यका लागि वातावरण सहजै निर्माण भएको बताए।

त्यसो त यामाहा फुटबलसँग जोडिँदै आएको यो पहिलो पटक भने होइन्। यसपटक पनि दीर्घकालीन योजना लिएर नै फुटबलमा प्रवेश गरेको सिईओ शाह बताउँछन्। यामाहाको एनएसएल प्रवेशमा मुख्य 'मोट्टो' ब्राण्डिङ नै रहेको देखिन्छ।

त्यस्तै नेपाली खेलकुदमा यसरी लगानी गर्दा खेलकुदको पनि विकास हुने देखेको उनी बताउँछन्।

'खेलकुदमा लागेका मानिसहरु बाहिर जसरी स्वभालम्बन छन्, अरु केही नगरी टिकेका छन्। तर यहाँ जिन्दगी भर खेलकुदमा लागेर पनि अरु पेशा या जागिरमा निर्भर हुनुपरेको छ,' उनी भन्छन्, 'यदि हाम्रो योगदानले खेलकुद क्षेत्र स्वभालम्बी हुने बाटो खुल्यो भने त्यो भन्दा खुशीको कुरा के रह्यो र?

भारतको खेलकुदसँग एनएसएलको तुलना गर्दै उनले प्रतिप्रश्न गरे: भारतमै पनि व्यवासायिक हुन भन्दा अघि कमाइ त उही थियो नि होइन र?

भारतकै मार्केटबाट इन्सापायर हुनु भएको हो त? भन्ने प्रश्नमा शाह भन्छन्, 'फुटबललाई अरु कुरामा मिक्स गर्नु हुँदैन।'

मार्केटिङको पोलिसीको सन्दर्भमा हेर्दा यामाहा अरुभन्दा फरक देखिन्छ। अरु फ्रेन्चाइजीहरुले एउटा शहर र प्रदेशमा सेन्टिमेन्ट बटुल्न कोसिस गरिरहँदा काठमाडौं रेजर्सको लक्ष्य भने सीमित शहर या प्रदेशका टीममात्र प्रतिनिधित्व गराउने नभएर देशभर आफ्ना फ्यानहरु बटुल्ने योजना देखिन्छ।

'मलाई के लाग्छ भने काठमाडौं भनेर काठमाडौंको खेलाडी छान्ने होइन। नेपाल भरीबाट खेलाडी आउने हो,' उनी भन्छन्, 'हाम्रोचाहीँ काठमाडौं मात्र नभएर नेपालभरबाट फ्यान बनाउन खोजेको हो। हामीले विशेषगरी रेजरलाई प्रतिनिधित्व गराउन चाहन्छौं।'

सिइओ शाह फ्रेन्चाइजमा ग्लामर पनि त्यही हिसाबले हुने स्वीकार्दै त्यसका लागि मानिसहरुलाई तान्न विभिन्न कार्यक्रम ल्याउने तयारी भइरहेको बताउँछन्। जसमा फुटसलको अवधारणा देखि 'इन्टरएक्सन' को माध्यम प्रयोग गर्ने लगायतका विषयमा छलफल भइरहेको उनले बताए।

'काठमाडौं, पोखरा या धनगढीको सबैतिरको समर्थकले हामीलाई सपोर्ट गरुन भन्ने हामी चाहन्छौं। कुनै ठाउँ विशेषकोमात्रले होइन' उनले थप स्पष्ट पार्दै भने।

त्यस्तै लिगमा दर्शकहरु भित्र्याउन हुने चुनौतीलाई स्वीकार्दै कर्पोरेट क्षेत्र भित्रँदा दर्शक भित्र्याउने सम्भावनाहरु धेरै रहेको बताउँछन् उनी।

'हामी जस्ता कर्पोरेट अर्गनाइजेसनहरुले मार्केटिङ त राम्रो गर्न सक्छन् नि। जुन हिसाबले कर्पोरेटले मेहेनत गर्न सक्छन् त्यति ननकर्पोरेटले त नसक्लान्,' उनी भन्छन्, 'सबै टिमको लिग जित्ने होड त हुन्छ। अब अर्को वर्ष कहिले लिग आउला भनेर पर्खेर बस्ने वातावरण बनाउन पनि आवश्यक छ।'

बजेटको बारेमा शाह पनि खुल्न चाहेनन्। उनले बजेट यति नै भन्ने नखुलाए पनि लिगमा आवश्यक क्षेत्रमा कुनै पनि कमी हुन नदिने गरि तयारी आफूहरुको रहेको बताए।

'सातैवटा कर्पोरेट बजेटमै काम गर्ने हो। विश्वास गर्नुस कि कुनैपनि कुराले हामीलाई स्टाबलिस्ट गर्न छेकबार लगाउँदैन। यसको प्रमोसनका लागि बजेट कम हुने अवस्था आउँदैन,' उनी भन्छन्, 'धेरै कुराहरु फिक्स कस्टमा आइरहेको छ। खेलाडीको पैसा तिर्नपर्‍यो। कोचको पैसा तिर्न पर्‍यो। अक्सनमा तिर्न पर्‍यो। यो त फिक्स कट नै ठूलो रकम आइसक्यो नि। यति भइसकेपछि प्रचारप्रसारमा किन कमी राख्छौं हामी?'

बुटवल लुम्बिनी


मार्की खेलाडी:  विशाल श्रेष्ठ

खेलाडी : लक्ष्मण रुचाल, सुरज बिक, रबिन श्रेष्ठ, सत्रुधन चौधरी, शेषेहाङ आङदाम्बे, मनबहादुर परियार, रबि थापा मगर, अमिर श्रेष्ठ, अनिल महर्जन, आशिष लामा, चेतन कुमार थारु, सुमन लामा, जय गुरुङ, रञ्दिप पौडेल


नेपाली स्टक मार्केटको परिचित नाम हो- राजकुमार तिमल्सिना। र, अहिले उनले आफ्नो लगानीको दायरा बढाउँदै पुगेका छन् फुटबलमा। बुटवल लुम्बिनी एफसीका मालिक रहेका उनी दीर्घकालीन रूपमा खेलकुदको लगानीबाट ठूलो प्रतिफल मिल्ने देखेर हात हालेको बताउँछन्। यसको पछाडि अर्को पनि एउटा कारण छ: प्यासन।

भिजन सेक्युरिटिजका प्रमुख पनि रहेका उनी पहिले सेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष पनि हुन्।

युवा छँदा आफू पनि फुटबल खेलाडी रहेको स्मरण गर्दै तिमल्सिना त्यसपछि बिजनेसमा गएर फुटबलबाट टाढा भएको बताउँछन्। यद्यपि एनएसएलको माध्यमबाट फुटबलमा फर्कने अवसर मात्र होइन एउटा व्यवसाय र खेलकुद क्षेत्रलाई माथि लैजाने अवसरसमेत पाएकोमा खुशी सुनिए उनी।

'बिजनेसमा आउनु अघि म आफ्नो क्षेत्रको राम्रै खेलाडीमध्येमा पर्थें।' उनले भने।

सुपरलिगमा ठूला घराना लगायतले उपस्थिति जनाइरहँदा आफूहरुले पनि ठूलो क्षेत्रसमेट्ने गरि बलियो उपस्थिति जनाउने गरी आएको उनको आशय छ।

यो फ्रेन्चाइजबाट देशका विभिन्न स्थानका शहरहरुको प्रतिनिधित्व हुने हुँदा खेल ब्यवसायिक हिसाबले अघि बढ्ने उनको विश्लेषण छ। त्यस्तै यो प्रयासले खेलकुद क्षेत्र व्यवसायिक बनाउँदै लैजाने बाटोमा कोषेढुंगा सावित हुनसक्ने उनले दाबी गरे।

दर्शकको उपस्थिति पुग्ला भन्ने प्रश्नमा उनले भने: हामी त 'ओभरक्राउड' भयो भने कसरी व्यवस्थापन होला भन्ने पनि सोचिरहेको छौं।

'अहिलेसम्म नेपाली खेलकुदमा व्यवसायिकता छैन। यसले गर्दा खेलकुदमा लाग्दा मेरो भविष्य के? भन्ने प्रश्न उठ्छ,' उनी भन्छन्, 'तर खेलकुद व्यवसायिक भए खेलकुदलाई नै व्यवसाय बनाएर जानसक्छु भनेर खेलकुदमा आबद्धता बढ्छ।'

उनी नेपालीको अहिलेसम्म खेलाडीको कमाइ र विदेशी खेलाडीको कमाइलाई तुलना गर्दै भन्छन्: खेलमा भविष्य नभएको होइन तर खेल व्यवसायिक हुनपर्छ।

लगानीको रुपमा तत्कालै फाइदा हुने नभए पनि दीर्घकालीन रुपमा भने यसबाट राम्रो उपलब्धि हातपर्ने उनले देखेका छन्।

'हाम्रो सोचाइ यो क्लबलाई वन गरेर यतिमै सीमित हुने भन्ने होइन। यो स्पोर्टसमा इन्ट्रीमात्र हो। पछि यसलाई एकेडेमीका रुपमा विकास गरेर खेलकुदमा निरन्तर रहने गरि अघि बढ्ने हाम्रो योजना हो।' उनले भने।

लगानीका लागि वातावरण देखेपछि आफूहरु आएको आशय उनको बुझियो।

'एउटा ब्यवसाय सञ्चालन गरेको ब्यवसायीले के हेर्छ भने जुनसुकै क्षेत्रमा नि त्यो मेरो व्यवसाय सस्टेन गर्छ कि गर्दैन?  त्यसमा व्यवसायिकता कायम हुन्छ कि हुँदैन भन्ने हेरेको हुन्छ,' उनी भन्छन्, 'खेलकुद पनि अब व्यवसायिक हुन्छ भन्ने लागेपछि अरु व्यवसाय गरीरहेका व्यवसायी पनि खेलकुदमा आबद्ध भए। खेलकुदमा व्यवसायिकरण हुन्छ भन्ने लाग्यो व्यवसायीलाई।'

विदेशी खेलाडीको सन्दर्भमा साउथ एसिया र त्यो भन्दा बाहिरबाट खेलाडी ल्याउने गरी छलफल भइरहेको पनि उनले बताए। त्यस्तै उनले युरोपकै एउटा देशबाट खेलाडी भित्र्याउने आफुले सोचेको भए पनि टेक्निकल टिमको सल्लाहमा त्यो अहिले स्थगित भएको सुनाए।

पोखरा थन्डर्स


मार्की खेलाडी: नवयुग श्रेष्ठ

खेलाडी : अजित भण्डारी, अनिल गुरुङ, प्रविनकुमार सेङतेन, मनबहादुर तामाङ, दीप कार्की, दीपक गुरुङ, अजित प्रजापति, शुसिल राई, सुजल श्रेष्ठ, नितिन थापा, राजेश परियार, गौतम श्रेष्ठ, सुरज गुरुङ, सुजित बुढाथोकी


पोखरा एफसीको स्वामित्व लक्ष्मी ग्रुपसँग छ। र, यसलाई हेरिरहेका छन् लक्ष्मी ग्रुपका निर्देशक निराकर श्रेष्ठले। श्रेष्ठ एएनएसएलको अवधारणाबारे पछिल्लो दुई वर्षयता छलफल भए पनि अघि बढ्न नसकेको र केही महिना अघिबाट गति लिएको बताउँछन्।

'केही महिना अघिबाट कुरा भइरहेको थिए। अलिकति छोटो समयमा भयो। यो गति जुन देखिरहनु भएको छ, यो ढिला भएकाले अलि स्पीडअप दिएको हो' उनले भने।

नेपालमा चलिरहेको लिग भन्दा यो फरक रहने उनको बुझाइ छ।

'यो भनेको अलिकति फ्लास्सी, मार्केटेबल हुनेछ' उनले भने।

उनी भारतीय क्रिकेट लिग आईपीएल र फुटबल लिगलाई उदाहरणको रुपमा देखाउँछन्।  उनको जोड भारतमै पनि यस्तो फ्रेन्चाइज आउनु अघि र अहिलेको सन्दर्भमा फरक पनलाई लिएर छ।

'पछिल्लो ८/१० वर्षमा आईपीएल आएपछि भारतमा क्रिकेटको स्तर नै फेरियो नि। कर्पोरेट हाउस आएपछि खेलमा पैसा बढ्छ। त्यसले खेलाडीको आम्दानी पनि त्यही हिसाबले बढ्ने भयो,' उनी भन्छन्, ' मानिसहरुलाई खेलमा चासो पनि त्यतिकै जाग्ने भयो। खेलहेर्न जाँदा पनि त्यहाँको व्यवस्थापनले नै टिमसँग जोडिनुको मजा दिलाउँछ।'

त्यसपछि खेल हेर्ने मानिसहरुको चासो पनि बढ्छ र समग्रमा लिगमा लगानी आइसकेपछि र क्यापिटलको फ्लो भएपछि मैले यसबाट जीवन चलाउन सक्छु या करिय बनाउन सक्छु भन्ने आत्मविश्वास पलाउने भन्ने बुझाइ उनको छ।

'यसरी खेलको विकास पनि हुने भयो र कर्पोरेट क्षेत्रलाई रिटन पनि आउने भयो। यो त बिजनेसकै रुपमा आएको हो,' उनी भन्छन्, 'कर्पोरेटहरुले पनि स्पोर्टससँगको एसोसिएसनलाई नयाँ प्रोडक्टका रुपमा लिएको हुन्छ।'

भारतीय लिगबाट भएको इन्फ्लुएन्स नै भएपनि यसलाई नकारात्मक रुपमा लिनुपर्ने कारण श्रेष्ठ देख्दैनन्।

'भारतको मात्र होइन इङ्ग्लिस प्रिमियर लिगको ओनरहरु हेर्नुभयो भने उहाँहरुको लिंक मिडलइस्टको शेख या ठूला लगानीकर्तासँग जोडिएको हुन्छ,' उनी भन्छन्, 'कुनै चिजलाई एउटा बिजनेसका रुपमा नहेरेसम्म त्यसको विकास हुन सक्दैन। बिजनेसको रुपमा हेर्न र सञ्चालन गर्न सक्ने भनेको त कर्पोरेटहरुले नै हो।'

कर्पोरेटहरुको फरक ढंगले पस्कन सक्ने उनको बुझाइछ।

श्रेष्ठ टिमको नाम भएको आधारमा त्यही ठाउँको मात्र अपनत्व हुने भन्ने कुरालाई स्वीकार्दैनन्। प्रश्न गर्छन् : नेपालमा चेल्सी फ्यान क्लब या रियल मड्रिड फ्यान क्लब छन्। यसको मतलब यो होइन की उनीहरु त्यही ठाउँका हुन्।

यसका लागि क्लबले आफूलाई कसरी प्रस्तुत गरेको छ या कस्तो इमेज बनाएको छ भन्ने विषयले फरक पार्ने उनले बताए।

'पोखरा भनेर पोखराकै खेलाडी मात्र राख्ने भन्ने होइन। प्लेयर कसलाई ल्याउँछौं, सेलेबल प्लेयर कसलाई ल्याउँछौ। उनीहरुको फ्यानबेसले पनि फरक पार्छ,' उनले भने,'फ्रेन्चाइजमा हाम्रो फ्यानबेस पोखरामा मात्र लिमिट हुन्छ भन्ने हुँदैन।'

त्यस्तै विदेशी खेलाडीको सन्दर्भमा अहिले एकदमै छोटो समय भएकाले त्यस्तो सरप्राइज केही ल्याउन सक्ने अवस्था नरहेको उनले बताए। यद्यपि आगामी सिजनहरुमा भने त्यो हुने संकेत उनले दिए।

त्यस्तै टिम व्यवस्थापनको क्षेत्रमा पनि शहीद स्मारक लिगमा लामै अनुभव बोकेका व्यक्तिहरु आफूसँगको सहकार्यमा रहेको उनले बताए। 

ललितलपुर लाखेज


मार्की खेलाडी : अञ्जन विष्ट

खेलाडी : विनोद गुरुङ, कमल श्रेष्ठ, प्रवेश दुनवार, मिक्छेन तामाङ, नवीन लामा, एरिक विस्ट, विमल राना, रोहित कार्की, सरोज योञ्जन लामा, रञ्जन विष्ट, निरज बस्नेत, पल्सङ लामा, गौरव बुढाथोकी, अर्पण कार्की


ललितपुर लाखेज जारी फ्रेन्चाइजमा अर्को अनुभवसहितको टिम मध्येको एक हो। यो टिमका मालिक हुन भाटभटेनी ग्रुपका सञ्चालक कल्याण गुरुङ। उनको दिदी कामना गुरुङ पनि फुटबलमा चासो राख्ने भएकाले यसमा आबद्ध छिन्।

शहीद स्मारक ए डिभिजन लिगका शीर्ष क्लबहरुलाई नजिकबाट नियालेका उनीसँग केही बलिया पक्षहरु छन्। विदेशी फुटबलमा राम्रो खेलिरहका विदेशी नेपालीभाषीहरुसँग उनी सम्पर्कमा छन्। यद्यपि कोरोनाका कारण सोचे अनुरुप नहुने हो कि भन्ने चिन्ता भने उनलाई छ। तर, आशावादी छन् : यो त सुरुवात हो, अर्को सिजनबाट टिम धेरै बलियो हुनेछ।

यसको मतलब यो होइनकी अहिले टिम कमजोर छ। अञ्जन विष्टलाई मार्की खेलाडीका रुपमा भित्र्याएको ललितपुरको अर्को राम्रो पक्ष भनेको ए डिभिजनका शीर्ष क्लबहरुसँग निकटता छ। एनएसएलकै योजना अनुसार होम एण्ड अवे गेम नै भए पनि उनी राम्ररी धान्ने अवस्थामा छन्। उनी आफैँ पनि फुटबलमा प्यासोनेट हुँदा 'खेल स्पिरिट' पनि बलियो देखिन्छ।

एनएसएल आयोजना गर्ने भनेर तयारी भएयता नै उनले यसलाई पछ्याइरहेका थिए।

'यो प्यासन, नेपाली फुटबलको लागि माया, नेपालको माया सबैकुरा हावी छ। फुटबलमा अलि बढी प्यासोनेट नै पनि छु,' उनी भन्छन्, 'भाटभटेनी जहिले पनि कुनै कुरागर्दा लङटर्म सोचेरै आउने हो। केही सिजन गरेर हामी 'अफ' हुने भन्ने हुँदैन। हामी लङरन कै लागि हो।'

अर्को महत्वपूर्ण पक्ष भनेको ए डिभिजन लिगमा मछिन्द्र क्लबको व्यवस्थापनलाई पनि नियालिसकेका हुन् उनले। जतिबेला मछिन्द्र क्लबले इतिहास बनाउँदै ए डिभिजन लिगको उपाधि उचालेको थियो।

'एनएसएल आउने बित्तिकै मलाई छोएको पहिलो कुरा भनेको यसको टाइमिङ हो। यो साँझको समयमा हुँदैछ, 'उनी भन्छन्, 'यो समय भनेको सबैले काम सकेर साथीसँग या परिवारसँग आएर खेल हेर्ने समय हो।'

उनलाई ए डिभिजन लिगमा चित्त नबुझेको कुरा त्यही रहेछ। खेल त हुन्छ तर जहिल्यै मध्य दिउँसो। हुन पनि सबैको आआफ्नो काम हुन्छ, अनि कसरी नहोस् त रंगशाला रित्तो?

त्यस्तै उनको अर्को चासो टिकट शुल्कमा छ। बिहीवार त्रिदेशीय सिरिजका लागि निर्धारण गरेको टिकट शुल्क उनलाई खास मनपरेको रहेनछ। एन्फाले सामान्यतर्फ ७०० र भीआईपीतर्फ १५०० निर्धारण गरेको थियो। उनको बुझाइमा टिकट शुल्क कम गरेको खण्डमा धेरै मानिसहरु आउने भन्ने रहेछ।

आफुसँग खेलको व्यवस्थापनका लागि राम्रो टिम रहेपनि तयारीका लागि समय कम भएको महसुस भने उनले गरेका छन्। यद्यपि उनी कन्भिन्स भएको पक्ष भनेको पहिलो सिजनबाट सुरुवात गर्नसके दोस्रो सिजनमा धेरै राम्रो गर्ने। त्यसैका लागि त छोटै समय भए पनि लिग सुरु हुने भएको छ।

'सबैभन्दा महत्वपूर्ण कुरा भनेको नेपालको लागि राम्रो कुरा आउन लागेको छ। पहिलो सिजनमा सुरुवात गर्न सके दोस्रो सिजनमा धेरै राम्रो गर्न सकिने थियो।' उनले भने।

त्यस्तै आईएसएलको कपी जस्तो देखियो नि भन्ने प्रश्नमा उनी यो सकारात्मक ट्रेन्ड भएको र यसले नेपाललाई राम्रो गर्ने भएकाले फोटोकपी भनेर दोष लगाउनुको तुक नहरेको बताउँछन्।

ललितपुर त्यसै पनि कलामा अगाडि। उनले कलालाई खेलकुदसँग जोड्न चाहेका छन्। त्यसैले त ललितपुरको लालित्यलाई जोडेर 'टिमको एन्थम' बनाउने देखि टीमको नामको पछाडि लाखे झुण्डएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell