PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

ओलीलाई तत्काल सत्ताच्युत गर्ने धम्की दिएका प्रचण्ड यतिबेला किन निरीह, कसको पर्खाइमा छन् उनी?



प्रकाश भण्डारी

ओलीलाई तत्काल सत्ताच्युत गर्ने धम्की दिएका प्रचण्ड यतिबेला किन निरीह, कसको पर्खाइमा छन् उनी?
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको कानुनी लडाइमा पराजित भए पनि त्यसपछिको रणनीतिमा सफल देखिए। आफ्नै पार्टी नेकपा एमालेमा मात्रै होइन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)भित्र कलह ल्याएपछि उनको सत्ता यात्रा लम्बिदो छ।

सर्वोच्च अदालतले संसद ब्युँताएको एक महिना भइसक्यो, संसद ब्युँतेपछि ओलीलाई सत्ताच्युत गर्छु भनेर बिगुल फुक्नेहरु उनीविरुद्ध बलियो गठबन्धन बनाउन सक्ने अवस्थामा अझै छैनन्। गठबन्धन बन्नै नदिन उनले सबैजसो राजनीतिक दलको एक खेमलाई आफू निकट राखेका छन्। जसले उनको सत्तालाई भरथेग गरिरहेको छ।

नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) मा ओलीलाई समर्थन गर्ने र नगर्नेबीच टकरावको अवस्था छ। कांग्रेसमा सभापति शेरबहादुर देउवाको साथ पाएका ओलीले माओवादी केन्द्रको एक समूह- गृहमन्त्री रामबहादुर थापा बादल, उर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा र सहरी विकास मन्त्री प्रभु साहलगायतलाई एमालेमा भित्र्याइसकेका छन्।

त्यतिमात्रै होइन ओलीको चर्को आलोचनामा उत्रिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत वैधानिक रुपमा उनलाई साथ दिइरहनु पर्ने बाध्यता आइपरेको छ।

सर्वोच्च अदालतले 'नेकपा' नाम विवाद साम्य पारेर एमाले र माओवादी अलगथलग गराइदिए पनि प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेनन्। ओलीविरुद्ध बलियो गठबन्धन बनाउने गृहकार्यमा रहेका प्रचण्ड गठबन्धन नबनी सरकारलाई दिएको समर्थन फिर्ता लिए ओलीको सत्तायात्रा झनै लम्बिने भन्दै दोधारमा परेका छन्।

माओवादी केन्द्रले समर्थन फिर्ता लिए ३० दिनभित्र ओलीले विश्वासको मत लिनेछन्। त्यसमा कांग्रेस वा जसपामध्ये एउटाले ओलीलाई साथ दिए ओली नै बाँकी कार्यकाल प्रधानमन्त्री रहने प्रचण्डको बुझाइ छ।

'पर्ख र हेर'को अवस्थामा रहेको माओवादी केन्द्रले अदालतले संसद ब्युँताउने बित्तिकै ओलीलाई गलहत्याएर भए पनि प्रधानमन्त्रीबाट हटाउने चेतावनी दिइरहेको थियो। स्थायी कमिटी सदस्य पम्फा भुसालले अदालतको फैसला आएको भोलिपल्टै फागुन १२ गते काठमाडौको विजयी सभालाई सम्बोधन गर्दै भनेकी थिइन्, 'मैले त हिजै राजिनामा आउला सोचेकी थिए। आएन, अझै पनि नैतिकता छ भने राजिनामा दिएर ठाउँ खाली गरिनुपर्छ।'

के गर्दै छ माओवादी केन्द्र?

संसद विघटनविरुद्ध सडकमा मोर्चाबन्दीका लागि प्रचण्डले देउवालाई फकाउने प्रयास गरेका थिए। तर देउवा भने प्रचण्ड भन्दा ओलीसँगैको सम्बन्धलाई मजवुद बनाउन लागिपरे। त्यसैले कांग्रेसले खुलेर ओलीबिरुद्ध सडकमा मोर्चाबन्दी गर्न मानेनन्। संसद पुनस्थापनापछि पनि प्रचण्ड सत्ता समीकरणको प्रस्ताव लिएर देउवा निवास बुढानिलकण्ठ पुगे। तर देउवा प्रचण्डमाथि नै संशकित बने।

फागुन २३ गते अदालतले एमाले माओवादी अलग-अलग पार्टी भएको फैसला नगरुन्जेल प्रचण्डको ध्यान ओलीबिरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याउनेमा थियो। कांग्रेसका साथ नपाउने भएपछि प्रचण्डलाई अविश्वासको प्रस्ताव ल्याउनसमेत अप्ठेरो पर्‍यो।

कांग्रेसले साथ दिन नमानेको भए पनि सत्ता समीकरणबारे कांग्रेस र जसपासँग समानान्तर छलफल भइरहेको माओवादी केन्द्रका नेताहरुले बताएका छन्। कांग्रेसभन्दा पनि सत्ता समीकरणका विषयमा जसपालाई मनाउन कठिन भएको माओवादी केन्द्रको बुझाइ छ। स्थायी कमिटी सदस्य देव गुरुङले सत्ता समीकरणको प्रयास सफल नभएको बताए।

'अहिले सत्ता बाहिरका संसदीय पार्टीहरुसँग कुराकानी र छलफल त भइरहेकै छन्। तर त्यसको नतिजा आइसकेको छैन। आएपछि राजनीतिले गति लिइहाल्छ,' गुरुङले भने।

सरकार र आफूहरुसँग समानान्तर संवाद गरिरहेको भन्दै जसपासँग माओवादी सशंकित बनेको छ। जसपामा स्पस्ट रुपमा दुई लाइन देखिएका छन्। डा.बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेता नयाँ समीकरणको पक्षमा रहेको भए पनि महन्थ ठाकुर र राजेन्द्र महतोलगायत नेताको समूह भने ओलीविरुद्ध मोर्चाबन्दी गर्ने पक्षमा छैन।

स्थायी कमिटी सदस्य गणेश साहले जसपाको गठबन्धन प्रतिको धारणा प्रस्ट नभएकाले ओलीको विकल्प दिन अप्ठेरो भएको बताए। 'माओवादीबाहेक सबै पार्टी आन्तरिक संघर्षमा छ अहिले। दुई खालका स्कुल अफ थटले अप्ठेरो भइरहेको छ। एउटै नबनेसम्म समस्या आइरहला। अहिलेको निर्णायक भनेको जसपा हो। जसपामा पनि किचलोको अवस्था छ,' उनले भने।

कारवाही छोडेर फकाउँदै प्रचण्ड

ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेका प्रचण्ड आफूलाई छोडेर ओलीतिर लागेका नेताका हकमा भने केही नरम छन्। जबकी माओवादी केन्द्रका बादलसहितका २३ जनालाई ओलीले फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनित गरिसकेका छन्।

तत्कालीन नेकपामा ओलीलगायत उनको समूहमा रहेका नेतालाई धमाधम कारवाही गरेका प्रचण्ड माओवादी केन्द्र बनेपछि भने केही रक्षात्मक देखिएका छन्।

चैत ३ गते माओवादी केन्द्रको संसदीय दलको बैठकले एमालेमा लागेका आफ्ना नेतालाई पुन: पार्टीमा फर्काउनका लागि नेताहरु - नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गुरुङ सम्मिलित तीन सदस्यीय वार्ता टोली बनाएको थियो।

तर, एमाले प्रवेश गरिसकेका नेताहरुले भने अब माओवादीमा नफर्किने घोषणा गरिसकेका छन्। एमालेमा प्रवेश गरेका नेताहरुले संवाद गर्नसमेत रुचि देखाएन।

पार्टी नै परित्याग गरिसकेका नेताहरुलाई माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले २४ घण्टे स्पष्टिकरण सोध्ने बाहेकको निर्णय गर्न सकेको छैन। केन्द्रीय कमिटीको बैठकबाट कारवाही गरेमा सांसद पद समेत धरापमा पर्ने भए पनि माओवादी केन्द्रले तत्काल कारवाही नगर्ने नेताहरुको भनाई छ।

स्थायी कमिटी सदस्य साहाले पार्टीको मुख्य ध्यान गठबन्धन बनाउने भएकाले पार्टी छोडेका नेतालाई कारवाही गर्ने एजेण्डले महत्व नपाएको बताए। 'अहिलको जोडबल भनेको नयाँ सत्ता समिकरणकै बारेमा छ। पार्टी छोडेकाहरुलाई के गर्ने भन्नेबारेमा त्यति प्राथमिकता छैन,' उनले भने।

माधव नेपाललाई पर्खँदै 

फागुन २३ गतेको अदालतको फैसलापछि नेकपाका नाममा पेरिसडाडाँमा बसेको अन्तिम स्थायी कमिटीको बैठकमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल वाम एकताका लागि पहल गर्ने भन्दै छुट्टिएका थिए। नेपाल समूहले एमालेमै बसेर ओलीबिरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको थियो। तर, ओलीले आफू इतर नेतालाई खबरै नगरी केन्द्रीय कमिटीको बैठक बोलाए फागुन २८ गते।

नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनाल समूहका नेतालाई पदबाट हटाएपछि पनुर्मिलन नभइ विवाद चर्किएको छ। २८ गतेको निर्णय फिर्तालाई नेपाल-खनालले बटमलाइम बनाएर ओलीसँग वार्ता गरे पनि सफल नभएपछि नेपाल-खनाल समूह पार्टीभित्र संकटको अवस्थामा छ। चैत ४ र ५ गते राष्ट्रिय भेला गरे पनि नेपाल समूहले ओलीविरुद्ध कसरी अगाडी बढ्ने भन्नेबारे प्रष्ट रणनीति बनाउन सकेन। भेला नगर्न चेतावनी दिइरहेका ओली नेपाल-खनालको उक्त भेलाबाट झनै चिढिएका छन्। ७ गतेको केन्द्रीय कमिटीको बैठकमा नेपाल-खनालले आफ्नो असहमति सहितको पत्र पठाए पनि ओलीले गुटको माग सुनुवाइ नहुने सन्देश पठाएका थिए।

उक्त बैठकबाटै ओलीले नेपाल समूहका ४ जनालाई कारवाहीको निर्णय गरेका थिए भने सोमवार स्पष्टिकरणको सोधिएको पत्र पठाइसकिएको छ।

संसदीय दल र केन्द्रीय कमिटीको अंकगणितमा कमजोर अवस्थामा रहेका नेपाल-खनाल अहिले धर्म संकटमा परेका हुन्। आत्मालोचना गर्दै ओलीलाई मान्ने या विद्रोह गर्ने भन्नेमा नेपाल-खनाल समूह अनिर्णित छ।

प्रचण्ड भने नेपाल-खनालको ओलीप्रतिको त्यही रणनीतिलाई पर्खिरहेका छन्। साहले नेपाल समूहको अबको रणनीति आफ्ना पार्टीले पर्खिरहेको बताए। 'कम्युनिस्टरहरुको के हुन्छ भन्दा आफ्नै पार्टीभित्र अन्तसंघर्ष गरेर अगाडी बढ्ने भन्ने हुन्छ नभए विद्रोह भन्ने विषेशता हुन्छ। अब उहाँले के गर्नुहुन्छ? त्यसले पनि हाम्रो हकमा ठुलो अर्थ राख्छ,' नेता साहले भने।

ओलीले फेरी संसद विघटन गर्ने डर

माओवादी केन्द्रका नेताहरुका अनुसार प्रचण्ड फेरि पनि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने र चुनावमा जान सक्ने भन्दै ओलीको रणनीतिलाई जसरी पनि रोक्नुपर्नेमा जोड गरिरहेका छन्। ओलीले आफ्नाबिरुद्ध गठबन्धन बन्नै नदिने र बनी हाले फेरी संसद विघटन गर्ने धम्की दिइरहेको माओवादिको बुझाइ छ।

चैत ३ गते राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा ओलीले फेरि पनि संसद विघटन गर्न सकिने बताएपछि बैठकमा सहभागी अधिकांश दलका नेताहरुले विरोध जनाएका थिए भने प्रचण्डले अदालतको फैसला कार्यान्वनय नभए अवस्था जटिल हुने बताएका थिए। स्थायी कमिटी सदस्य साहले माओवादी केन्द्रको ध्यान संसद निरन्तर चल्नुपर्ने भएकाले पनि थप निर्णय गर्न ढिलाइ भएको बताए। 'हाम्रो धारणा त संसद निरन्तर होस भन्ने छ। सबै दलमा अहिले कलह सिर्जना भएको अवस्था भए पनि हाम्रोमा त्यो अवस्था छैन। विचारमा एक भए पनि निर्णयमा अलि ढिलाइ भइरहेको छ। ओलीले फेरी संसद विघटन गरेमा के गर्ने भन्ने पनि चुनौती छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell