PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

विपक्षी दलहरु अलमलमा पर्दा ओलीलाई 'हाइसन्चो'



विपक्षी दलहरु अलमलमा पर्दा ओलीलाई 'हाइसन्चो'

काठमाडौं : पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे। उक्त कदमलाई तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले चर्को विरोध गरे। उनीहरु प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउने भन्दै सडकमा ओर्लिए।

संसद विघटनलाई अरु दलले पनि असंवैधानिक भन्दै सडकमा प्रदर्शन गर्‍यो। सर्वोच्चले फागुन ११ गते संसद विघटन असंवैधानिक भएको फैसला गरिदियो।

संसद पुनर्स्थापना भएसँगै ओलीलाई सरकारमा बस्ने नैतिकता नभएको आवाज नेपाली काँग्रेसलगायत विपक्षी दलहरुले बुलन्द पारे। तर फागुन २३ गते पुनर्स्थापित संसदको पहिलो बैठक बस्नुअघि नै सर्वोच्चले नेकपा विवादसम्बन्धी मुद्दा छिनोफानो गरिदियो।

फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदियो। योसँगै राजनीतिक कोर्स पनि बदलियो। त्यसपछि माओवादी केन्द्रको समर्थन रहेको ओली सरकार अहिले पनि दुई तिहाई नजिककै बहुमतका साथ शासन चलाइरहेको छ। धेरैले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरे पनि त्यसो हुन सकेको छैन।

यस्तो अवस्थामा विपक्षी दलहरु एकअर्काप्रति सशंकित बन्न थालेका छन्। ओली भने ढुक्कका साथ सत्ताको बागडोर संचालनमा छन्। उनी अघिल्ला वर्षहरुमा भन्दा ठाँटका साथ कार्यक्रमहरुमा सहभागी भइरहेका छन्।

विपक्षी दलहरु 'तै रानी मै रानी…'

यतिबेला प्रतिपक्षी दलहरुले एकले अर्कोलाई प्रतिपक्षी भूमिका ननिभएको आरोप लगाइरहेका छन्। मुख्यत: नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) अहिले सत्ता निर्माणको वरपर घुमेका दलहरु हुन्। काँग्रेस र जसपालाई प्रधानमन्त्री ओली पक्ष, माओवादी केन्द्र र एमालेको माधव पक्षबाट सरकार निर्माणमा सघाउन विभिन्न छलफलका टेबल सेयर गरिसकेका छन्।

तर, कुनै ठोस उपलब्धि भने निस्किएको छैन।

ओलीलाई प्रधानमन्त्रीबाट सत्ताच्युत गर्नुपर्छ भन्दै खरो उत्रिएका जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले बिहीवार काँग्रेसतिर सुई घुमाउँदै प्रतिपक्षीको धर्म ननिभाएको आरोप लगाउन भ्याए।

उनले ट्वीटरमा ओलीलाई बिदाई गर्न ढिलाई गर्न नहुने भन्दै यसमा प्रतिपक्षको धर्म अनुकुल काँग्रेसले काम नगरेको बताएका छन्। उनले भनेका छन्, 'बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनै पनि बेला वैकल्पिक सरकार दिन वा नयॅा निर्वाचनमा जान तयार रहने हो। अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन: नयॅा प्रपंच गरिरहेको ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकूल भएन है!'

यसो त उनकै दलका नेताहरुले पटकपटक प्रधानमन्त्री ओलीसँग छलफलका लागि टेबल सेयर गरिसकेको अवस्था छ। ओलीले जसपाकै अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गरिएको खबर बाहिरिएसँगै तातिएको जसपा अहिले मौन बसेको छ।

यता काँग्रेसले भने जसपा स्पष्ट नभएको आरोप लगाउन थालेको छ। नैतिकताका आधारमा ओलीलाई एक सेकेन्ड पनि सरकारमा बस्ने अधिकार नभएको बताएका काँग्रेस नेता प्रकाशमान सिंहले जसपा र माओवादी केन्द्रले अलमल गरेको आरोप लगाए।

बिहीवार विराटनगर पुगेका नेता सिंहको प्रश्न थियो, 'कांग्रेस अहिले पनि परिस्थितिलाई सम्हालेर जान तयार रहेको छ। तर नैतिकताहीन सरकारलाई माओवादी केन्द्रले समर्थन दिइराख्ने, जनता समाजवादीले कुनै प्रस्ट निर्णय नलिने अनि सरकारको विकल्प दिन काँग्रेसले ध्यान दिएन भन्नू कतिको जायज?'

विराटनगरबाटै फर्कँदै गर्दा काँग्रेस सभापति शेरबहादुर देउवाले अविश्वासको प्रस्ताव कसले ल्याउनुपर्ने भन्नेमा आफू अनविज्ञ रहेको प्रतिक्रिया दिए।

देउवालाई संचारकर्मीले अविश्वासको प्रस्ताव कसले ल्याउनुपर्ने भनी प्रश्न गरेका थिए। जवाफमा जंगिँदै देउवाले भनेका थिए, 'हामलाई थाहै छैन।'

हुन पनि माओवादीले समर्थन फिर्ता नगरी काँग्रेस वा जसपाले केही गर्न सक्ने अवस्था छैन। यस्तो अवस्था काँग्रेसले साथ नदिएकोले सिर्जना भइरहेको माओवादी केन्द्रका नेताहरुको आरोप छ। यसरी विपक्षी दलहरु अलमलमा पर्दा ओलीले भने फेरि निर्वाचनकै गीत घन्काउन थालेका छन्। काँग्रेसमा देउवाइतरका नेताहरुले सभापति देउवालाई छिटो प्रधानमन्त्री बन्ने आँट गर्न उचालिरहेका छन्।

देउवाको ध्यान भने चुनावैतिर देखिन्छ। प्रतिनिधिसभा विघटनपछि सरकारले वैशाखका लागि निर्वाचन घोषणा गरेको थियो। देउवाले संसद पुनर्स्थापना भन्दा पनि निर्वाचनतिरै ध्यान दिन आफ्ना नेता कार्यकर्तालाई निर्देशित गरिराखेको थियो। पछिल्लो क्रियाकलाप पनि उस्तै देखिन्छ देउवाको। यो मात्र हैन, निर्वाचन चाहने ओलीको इच्छासँग देउवाको इच्छा मेल पनि खाएको छ। जसले गर्दा प्रधानमन्त्री ओलीविरुद्ध माओवादी केन्द्रले पनि कुनै कदम चाल्न कस्सेको देखिँदैन। 'तै रानी, मै रानी कसले भर्छ कुवाको पानी?' भने झैं विपक्षी दलहरु प्रधानमन्त्री ओलीलाई पदबाट हटेको देख्न चाहने तर अविश्वासको प्रस्तावमा भने कोही अघि बढ्ने अवस्था अहिले देखिएको छैन। यसले ओलीलाई भने हाइसन्चो मिलेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell