PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

थ्री नेसन्स् कपको फाइनलमा नेपाल बंगलादेश भिड्दै, कप्तान चेम्जोङ भन्छन् : जित हाम्रै



पहिलोपोस्ट

थ्री नेसन्स् कपको फाइनलमा नेपाल बंगलादेश भिड्दै, कप्तान चेम्जोङ भन्छन् : जित हाम्रै

काठमाडौं : थ्री नेसन्स् सिरिज अन्तर्गत आज फाइनल खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने फाइनलमा नेपाल र बंगलादेश भिड्दै छन्।

प्रतियोगिता अवधिभर कीर्गिस्तान र बंगलादेशबीचको खेलमा आत्मघाती गोलबाहेक कुनै टिमले विपक्षीको पोस्टमा गोल गर्न सकेको छैन। घरेलु टोली नेपालले कीर्गिस्तान र बंगलादेश दुबैसँग गोलरहित बराबरी खेल्दै फाइनल प्रवेश गरेको हो भने बंगलादेशले पहिलो खेलमा कीर्गिस्तानलाई १-० र दोस्रो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको थियो।

बंगलादेशका प्रशिक्षक जेम्स डे पेनाल्टीको मामिलामा सबै टिम चुकेको स्वीकार्छन्। ‘फाइनलमा पनि गोल भएन भने नि?’ भन्ने प्रश्नमा हाँस्दै उनले भने: उसो भए पेनाल्टी।

‘हामी राम्रो खेलेर जित्ने लक्ष्यका साथ उत्रने छौं। तर घरेलु टोलीमाथि जित निकाल्नु पक्कै पनि कठिन हुनेछ,’ उनले भने।

प्रशिक्षकको कुरामा सही थप्दै बंगलादेशी कप्तानले भने, 'यो म्याच निकै कठिन हुनेछ। तर हामी जित्नका लागि उत्रने छौं।'

हाम्रो फोकस स्कोरिङमा : प्रशिक्षक महर्जन

त्यस्तै नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले आफूहरुको ध्यान स्कोरमा रहने बताए। प्रतियोगिताभर स्कोर गर्न नसकेको स्वीकार्दै उनले यसअघि पनि प्रयास गरेको भए पनि आजको खेलमा प्रयासलाई नजितामा निकाल्ने योजना रहेको बताए।

त्यस्तै आजको खेलमा स्टार्टिङ लाइनअप फेरिने उनले बताए। ‘पहिलो दुई खेलमा स्टार्टिङ लाइनअप उही थियो। फाइनल खेलमा यो थोरै फेरिने सम्भावना छ। हेर्दै छु।’

जित हाम्रै : चेम्जोङ

त्यस्तै भारतीय आईलिगमा उत्कृष्ट गोलकिपर बनेका नेपाली टोलीका कप्तान किरण चेम्जोङले यसअघिका दुईखेलमा राम्रो प्रदर्शन गरे पनि स्कोरिङ गर्न चुकेको बताए।

‘कोचले भन्नुभए जस्तै पहिलाका दुई खेलहरु प्रदर्शनका हिसाबले राम्रो भएको थियो जो सँग म पनि सन्तुष्ट छु। तर स्कोरिङ गर्न सकिएको छैन,’ उने भने, ‘अब भोलिको म्याचमा स्कोरिङ गर्न सक्छौं भन्ने मलाई लाग्छ।’

त्यस्तै सबै खेलाडी घरेलु मैदानमा खेल्न पाउँदा उत्साहित रहेको भन्दै आफु पनि कप्तानको रुपमा पहिलो उपाधि दिलाउन उत्साहित रहेको बताए। आफूहरुले खेल जित्नेमा ढुक्क सुनिएका चेम्जोङले घरेलु मैदानका दर्शकहरु आफ्नो लागि एक्ट्रा पावर भएको बताए।

‘अडियन्सहरु एक्ट्रा पावर हुन्। म सँधै मोटिभेटेड हुन्छु। वहाँहरुलाई देख्दा मैले मेरो देशका लागि अझ धेरै केही गर्नुछ भन्ने लाग्छ,’ उनले भने, ‘स्ट्राइकरमा अलि युवा खेलाडीहरु हुँदा धैर्य गर्न सकिरहेको छैन। रोहितको प्रदर्शन एकदमै राम्रो छ।’

उनले अगाडि भने : युवा खेलाडीहरुले पनि प्रयास गरिरहेको छ। फाइनलमा राम्रो गर्छन् भन्ने विश्वास छ।

यसअघि मंसिर महिनामा बंगलादेश पुगेको नेपाली टोलीले घरेलु टोलीसँग दुई खेल खेल्दा पहिलो खेलमा पराजय र दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो।

फिफा वरीयतामा नेपाल १७१ औं स्थानमा छ भने बंगलादेश १८६ औं स्थानमा छ। फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि आज दशरथ रंगशाला पुग्ने बताइएको छ

नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की

डिफेन्डर्स : रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ

मिडफिल्डर : त्रिदेब गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रबिशंकर पासवान

फर्वार्ड्स् : अन्जन विष्ट, दर्शन गुरुङ, अभिशेक रिजाल, भरत खवास



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell