काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा जानकी देवी रामलाई नियुक्त गर्ने भएको छ। प्रतिनिधिसभा सदस्य तर्फ समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित सांसद सानु शिवा पहाडीको मृत्यु भएपछि रिक्त भएको स्थानमा रामलाई नियुक्त गर्ने भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिवाको ठाउँमा रामलाई सांसदमा नियुक्त गर्न निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेका हुन्। पार्टीका तर्फबाट जारी आन्तरपार्टी निर्देशनमा उनले यस्तो जानकारी दिएका हुन्। साथै ओलीले समानुपातिक तर्फ निर्वाचन आयोगमा बन्दसूचीको उम्मेदवार रहेकी धनकुमारी सुनारको नाम हटाउने निर्णयसमेत गरेका छन्। उनलाई पार्टी परित्याग गरेको भन्दै उनको नाम सूचीबाट हटाउने निर्णय गरेको ओलीले बताएका छन्।
एमाले केन्द्रीय विभागकी सदस्य सुनारले एमाले दलाल, पूँजीपति र भ्रष्टलाई संरक्षण गरेको आरोप लगाउँदै २०७४ साल फागुनमा पार्टीसँग सम्बन्ध बिच्छेदको घोषणा गरेकी थिइन्।
