PahiloPost

Sep 8, 2024 | २३ भदौ २०८१

माधव नेपाल र भीम रावलपछि एमालेले गर्‍यो घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन



पहिलोपोस्ट

माधव नेपाल र भीम रावलपछि एमालेले गर्‍यो घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन

काठमाडौं : प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका नेकपा एमालेका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डे निलम्बनमा परेका छन्।

यसअघि माधवकुमार नेपाल र भीम रावललाई नेकपा एमालेले कारवाही गरेको थियो। भुसाल र पाण्डे नेपाल समूहमा सक्रिय छन्।
दुई नेतालाई कारवाही गरेर ६ महिनाका लागि निलम्बन गरिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। नेता नेपाल र रावललाई पनि ६ महिना निलम्बन गरिएको छ।

पार्टीले सोधेको स्पस्टिकरणको जवाफ चित्त बुझ्दो नभएकाले उनीहरुलाई निलम्बन गरिएको नेकपा नेता सुवास नेम्बाङले जानकारी दिए। 
भुसाल र पाण्डे दुवैले पार्टी अध्यक्ष ओलीको कदमको कडा आलोचना गर्दै जवाफ दिएका थिए।

कडा थियो भुसालको जवाफ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणको जवाफ स्थायी कमिटी सदस्य तथा उपमहासचिव घनश्याम भुषालले कडा रुपमा बुझाएका थिए। ११ पृष्ठको जवाफमा ओलीमाथि नै भुसालले विभिन्न आरोप लगाएका थिए जुन अपेक्षित थियो। साथै, जवाफ पछि भुसालमाथि कारवाही हुने पनि अपेक्षा थियो।

आफूसँग ओली रुष्ट हुनुको कारण थाहा भएको उल्लेख गर्दै भुसालले ओलीसँग खतरनाक ग्रन्थी भएको आरोप लगाएका थिए। उनले भनेका थिए, 'मैले हेर्दा तपाईंको एउटा खतरनाक ग्रन्थी के छ भने तपाईंले जसबाट फाइदा लिनु हुन्छ अन्त्यमा उसैलाई ठुँग्नु हुन्छ। मलाई राम्ररी थाहा छ तपाईं मसँग किन रुष्ट हुनुहुन्छ।'

ओलीले सोधेको स्पष्टिकरणको तीन दिनसम्म जवाफ नदिएपछि पुन ताकेता गरेपछि गएको मंगलवार मात्रै भुसालले जवाफ फर्काएका हुन्।

पूरा पढ्नुस भुसालको जवाफ

पाण्डेको पनि कडै थियो जवाफ

पार्टी अनुशासन तोडेको आरोप लागेर प्रस्टिकरण मागिएपछि सुरेन्द्र पाण्डेले पनि कडै जवाफ फर्काएका थिए। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पठाएको जवाफमा प्रधानमन्त्रीले कङ्गारु अदालतको अभ्यास गरिरहेको प्रमाणित भएको आरोप लगाएका थिए। यसअघि नेता घनश्याम भुसालले प्रधानमन्त्री ओलीलाई बुझाएको स्पष्टीकरण र पाण्डेको जवाफ करिब एकै देखिन्थ्यो। आफूमाथि लगाइएका आरोप मिथ्या भएको सावितका लागि मात्र जवाफ लेखेका पाण्डेले उल्लेख गरेका थिए। उनले प्रधानमन्त्री ओलीले गुट भेला गरेर पार्टीको वैधानिक व्यवस्थाको उल्लङ्घन गरेको पनि जवाफमा उल्लेख गरेका थिए।

जवाफमा यसअघि फागुन २८ गते प्रधानमन्त्री निवासमा बसेको बैठकबाट भएका निर्णय अवैधानिक रहेको पनि उल्लेख गरिएको थियो। गुटको निर्णय पार्टी निर्णय हुन नसक्ने जवाफमा उल्लेख थियो। गुटको निर्णयले पार्टी विधान उल्लङ्घन गरेको जिकिर पनि पाण्डेको जवाफमा उल्लेख थियो जुन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीका लागि प्रितकर हुने विषय होइन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell