PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

वामदेवपछि माधव नेपालले पनि अभियान चलाउने, अलग्गै पार्टी बनाउने तयारी कि ओलीलाई नै सच्याउने पहल?



पहिलोपोस्ट

वामदेवपछि माधव नेपालले पनि अभियान चलाउने, अलग्गै पार्टी बनाउने तयारी कि ओलीलाई नै सच्याउने पहल?

काठमाडौँ: अदालतले नेकपा (एमालेÌ र नेकपा (माओवादी) केन्द्र छुट्याउनु अघि नेपाल कम्युनिस्ट पार्टी नेकपामा विग्रह आएपछि उपाध्यक्ष वामदेव गौतमले तेस्रो लाइन अघि बढाए -नेकपा एकता अभियान। तर, एमाले ब्युँतिएपछि गौतमको ध्यान एमाले एकतामा केन्द्रित भयो।

उनले हाल एमाले एकता अभियान चलाइरहेका छन्। तत्कालीन नेकपा र हाल एमालेका शिर्ष नेताहरुले उनको अभियानप्रति चाख नदेखाए पनि एकताकै पहलमा लागिरहेका छन्। पार्टीमा यसरी अभियान चलाउनेमा गौतम अब एक्ला भने रहेनन्। गौतमको जस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि अभियान चलाउने भएका छन्। तर, नेपालको अभियानको नाम पार्टी एकता नभइ शुद्धढीकरण हुने भएको छ। त्यसका लागि अवधारणा पत्र तयार भइसकेको छ भने शनिबार राष्ट्रब्यापी अभियानको ढाँचा सार्वजनिक गर्ने नेपाल समूहका नेताले बताएका छन्। समानान्तर रुपमै गतिविधि अघि बढाइरहेको भए पनि नेपाल समूहले समानान्तर कमिटी बनाएकोबारे हालसम्म स्वीकारेका छैनन्। आफूले २०७५ जेठ ३ अघि माओवादी केन्द्रसँग एकता गर्नु अघिको कमिटीलाई क्रियाशील बनाएको नेपाल समूहको तर्क छ।

कस्तो अभियान?

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो आलोचनामा उत्रिएका नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनाल समूहका ४ जना नेतालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका छन्। फागुन २८ गते आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर नेपाल-खनाल समूहलाई 'बाइपास' गरेपछि त्यसयता नेपाल आफ्नो समूहलाई सक्रिय बनाउनमा लागि परेका थिए। उक्त रणनीति अनुरुप फागुन ४ र ५ गते सानेपामा राष्ट्रिय कार्यकर्ता भेला गरेर नेपाल समूहले समानान्तर गतिविधिलाई निरन्तरता दिएको थियो। भेलाबाट पारित अवधारण पत्रलाई संसोधन गरेर अभियानको अवधारणा पत्र बनाउन शुक्रबारको स्थायी कमिटी बैठकले निर्णय गरेको नेपाल समूहका नेता योगेश भट्टराईले जानकरी दिए।

अभियान चलाउनका लागि नेपालले केन्द्रदेखि स्थानीय तहसम्मै एमालेको समानान्तर कमिटी गठनको तयारी गरेका छन् भने सातै प्रदेशमा संयोजक समेत तोकिसकेका छन्।

भट्टराईले शनिबार अभियानका ढाँचा सार्वजनिक हुने बताए। 'भोलिको छलफबाट देशव्यापी रुपभा संगठन विस्तार र शुद्धढीकरणको राष्ट्रव्यापी अभियानका लागि ढाँचा बनाउनेबारे छलफल गरेर सार्वजनिक गर्नेछौँ,' उनले भने।

संगठन निर्माण, प्रशिक्षण र विशेष कार्यक्रम

नेपाल समूहले अलगै पार्टी बनाउने भनिए पनि तत्काल अलगै पार्टी नबनाउने बरु एमाले नै शुद्धढीकरणको राष्ट्रव्यापी अभियान चलाउने भएको छ। त्यसका लागि दस्तावेज तयार पारेर प्रकाशन गर्ने र राष्ट्रब्यापी रुपमा पार्टीमा सर्कूलर गर्ने नेपाल समूहको तयारी छ। राष्ट्रिय भेलामा उठेका १० टोलीका सुझावलाई समेटेर नेपाल समूहले भोलि अवधारणा पत्र सार्वजनिक गर्ने बताएको छ। नेपाल समूहका नेता भट्टराईले भोलि अवधारणा पत्र सार्वजनिक हुने बताए।

'केही दिनअघि सम्पन्न राष्ट्रिय भेलामा प्रतिवेदन हामीले प्रस्तुत गरेका थियौँ। त्यसमा १० वटा टोलीबाट आएका सुझावलाई समेट्दै छलफल गरेका छौँ। त्यसलाई हामी भोलि छलफल गरेर अन्तिम रुप दिनेछौँ,' उनले भने।

भेलाको निष्कर्ष अनुसार नै अभियान चलाउन थालिएको नेपाल समूहले जनाएको छ। तर ती कार्यक्रम के कसरी अगाडि बढ्छन भन्नेबारे भने भोलि मात्रै थाहा हुने भट्टराईले बताए।

'पार्टीको राष्ट्रिय भेलाबाट निकालेको निष्कर्ष अनुसार राष्ट्रव्यापी अभियान चलाउने निष्कर्ष निकालेका छौँ। 'भोलि हुने छलफलबाट राष्ट्रव्यापी कार्यक्रमको कसरी जान्छन्? संगठन निर्माण अभियान भेला प्रशिक्षण विशेष खालका कार्यक्रमको भोलि अन्तिम रुप दिन्छौँ,' उनले भने।

नाम अभियानको अभ्यास फरकै पार्टीको

नेपालले बिहीबार पोखरामा आयोजित गण्डकी प्रदेशको भेलामा ओलीलाई हटाएर छुट्टै केन्द्रीय कमिटी बनाउने बताएका थिए। त्यस्तै उनले काठमाडौँमा कार्यालयको खोजी भइरहेको समेत बताएका छन्। उनले बुधबार राजधानीमा आफू निकट युवा संघको कार्यालयको उद्घाटन गर्दै पार्टीबाट निकालिएपछि आफू सडकमा गएर नबस्ने बताएका थिए। 'संगठन बनिसकेपछि पार्टीबाट सबै निकालिएपछि सडकमा बसेर हिँड्ने कुरा आउँछ त? आन्दोलनमा अगाडि बढिने छ। देशभरका कार्यकर्ताले जे भन्छन् त्यही गरिने छ,' नेपालले भनेका थिए

नेपाल निकट नेताहरुका अनुसार नेपालले तत्काल नयाँ पार्टी नै गठन गर्ने छैनन्। तत्कालका लागि संगठन बिस्तार र पछि त्यही संगठनमार्फत नयाँ पार्टीको घोषणा गर्ने नेपाल समूहको तयारी छ। तर, तीन महिना संगठन विस्तारमा लाग्ने नेपाल समूहले दाबी गर्दै आएको छ। नेता नेपालले अदालतको फैसलापछि उत्पन्न विवाका बेलादेखिनै ओलीको पेलाइलाई सहेर नबस्ने बताउँदै आएका थिए। यस्तै उनले कम्युनिस्ट एकताका लागि भन्दै ओली इतर समूहका कम्युनिस्ट नेताहरुसँगको भेटवार्तालाई पनि तीव्रता दिएका छन्। नेपाल निकट नेता युवराज ज्ञवालीले माओवादी केन्द्रका नेता पुष्पकमल दाहालसँगै कम्युनिस्ट घटक नेताहरुसँग संवाद भइरहेको बतएका छन्। 'प्रचण्डसँग मात्रै होइन। वाम एकताका लागि अरु नेताहरुसँग पनि हाम्रो छलफल वहस त भइरहेको छ। हाम्रो यस्तो छलफललाई कसैले चाहेर पनि रोक्न सक्दैन्,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell