काठमाडौं: नुवाकोटे टाइगरले दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन्। प्रतिद्धन्द्धी डेविडलाई हराउँदै टाइगरले उपाधि रक्षा गरेका हुन्। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धात्मक खेलमा डेविडले टाइगरमाथि धेरै पटक सशक्त प्रहार गरेका थिए। उत्कृष्ट फिनिसिङ दिने चक्करमा रिङमाथि चढेर टाइगरमाथि जाइलाग्न खोज्दा डेविड लक्ष्यमा पुग्न नसकेपछि घुँडा सिधै रिङमा बज्रिएर घाइते भए। उनी उठ्नै नसक्ने गरि बजारिएको मौकालाई सदुपयोग गर्दै टाइगरले डेविडमाथि आफ्नो लक लगाए। रेफ्रीको तीन काउन्टसँगै च्याम्पियनको उपाधि जितेका थिए।
उपाधिका साथ टाइगरले नगद एक लाख र च्याम्पियन बेल्ट पनि प्राप्त गरे। प्रतियोगितामा उपविजेता बनेका डेभिडले नगद ५० हजार रुपैयाँ पाए। प्रतियोगितामा चट्टानले तेस्रो स्थानमा चित्त बुझाए। शुक्रबार रद्द भएको ठगु र द युगबीच च्यालेन्ज खेल पुनः भएको थियो। हिजोको भएको खेलमा ठगुका साथीले आएर रेफ्रिलाई पछारेपछि खेल रद्द भएको थियो। त्यसपछि द युगले ठगुलाई आजका लागि रिङबाटै च्यालेन्ज गरेका थिए। ठगु र द युगबीच प्रतिस्पर्धा एकदमै डरलाग्दो भएको थियो। दुबैले एकअर्कामाथि रिङभित्र र बाहिर रहेका बस्तुहरुले प्रहार गरेका थिए। उनीहरुबीच भएको खेलमा टेबल, कुर्सी, फलामको चेन, सिढी लगायत त्यहा वरपर रहेका वस्तुहरु एक अर्का माथि प्रहार भएको थियो। निकै घमासान भएको खेलमा दुबैजना रक्ताम्य भएका थिए। तर अन्त्यमा आएर द युगले ठगुलाई हराउँदै जित हात पार्न सफल भए।
द युगले आइरन म्यानको उपाधि पाए। नेपाल रिङ रेस्लिङ संघको आयोजनामा संचालन भएका २ दिने रिङ रेस्लिङ प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल,राखेप सदस्य सदस्य ,राजेश गुरुङ, हरि खड्का, गण्डकी प्रदेशका खेलकुद सदस्य सचिव तेज गुरुङ,राखेप सदस्य आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए।