काठमाडौं : काठमाडौं महानगरपालिका भित्र स्थानीय भाषा (नेपाल भाषा) मा स्थानीय पाठ्यक्रम लागू गरेको उपलक्ष्यमा मंगलबार महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई नागरिक अभिनन्दन गरियो।
नेवा: पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्लाले आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगरको सम्पूर्ण कर्मचारीको प्रतिनिधिका रुपमा प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीलाई समेत अभिनन्दन गरिएको थियो। साथै महानगरका ३२ वटै वडालाई समेत सम्मान गरिएको थियो।
नागरिक अभिनन्दनभन्दा अघि न्यूरोड गेटबाट र्याली निकालिएको थियो। महानगर प्रमुख, उपप्रमुख सहित भाषा क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व एवं बालबालिका मरु, असन, इन्द्रचोक, जुद्धशालिक, मजिपात हुँदै वसन्तुपरसम्म र्यालीमा सहभागी भएका थिए। बालबालिकाहरुले 'मातृभाषमा पढ्न पाउनु मेरो अधिकार हो', 'भाषा रहे जाति रहन्छ' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
सम्बन्धित समाचार : काठमाडौं महानगरलाई नागरिक अभिनन्दन : उपप्रम पोखरेलले भने 'दुई/तीन वर्षमा नेपालभाषामा सम्बोधन गर्छु'
कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले महानगरको कामको प्रशंसा गर्दै भाषा संरक्षणमा केन्द्रको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।