PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतमा बढ्दो कोभिड-१९ संक्रमणका कारण जोखिममा नेपाल



पहिलोपोस्ट

भारतमा बढ्दो कोभिड-१९ संक्रमणका कारण जोखिममा नेपाल

काठमाडौं : पछिल्लो सात दिनमा देशभर एक हजार ६३९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। संक्रमण बढ्दै जाँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानमा स्वास्थ्य मापदण्ड पालना गर्न कडा निर्देशन दिएको छ।

त्यस्तै, पछिल्लो समय विद्यालयमा विद्यार्थीहरुमा कोभिड १९ संक्रमित दर बढेकाले सरकारले विद्यालयहरुको भौतिक रुपमा उपस्थित भएर गरिने पठपाठन बन्द गर्ने तयारी पनि गरेको छ।

जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयले विद्यालयको पठनपाठन बन्द गर्न सिफारिस गरिसकेको छ। 'भिडभाड हुने ठाउँबाट संक्रमण फैलिएको देखियो। त्यसैले बन्द गर्नुपर्ने भनेका हौं,' स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले भने

मन्त्रालयले सीसीएमसीलाई विद्यालय बन्द गर्न सिफारिस गरेको हो। त्यस्तै, मन्त्रालयले यसअघि रात्रिकालीन व्यवसाय ९ बजेपछि अनिवार्य रुपमा बन्द गर्न आग्रह समेत गरिसकेको छ।

मन्त्रालयले भने विद्यालय मात्र होइन २५ जनाभन्दा बढी मानिसको जमघट हुने सम्पूर्ण स्थान बन्द गर्नुपर्ने बताउँदै आएको छ। सिनेमा हल, सपिङ मल लगायतका क्षेत्रमा २५ जना मानिसको भेला हुने स्थानमा पर्छ।

'हामीले त २५ जनाभन्दा बढी जमघट हुने क्षेत्र बन्द गर्नुपर्ने भनेका छौं। यस विषयमा छलफल भएको छ। चाँडै केही भए थाहा पाउनु हुने छ,' प्रवक्ता गौतमले भने।

पछिल्लो सात दिनको तथ्यांक हेर्दा दैनिक संक्रमण दर बढ्दै गएको छ। दैनिक रुपमा २३४ जनामा संक्रमण पुष्टि हुँदै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाउँछ।

बिहीवार मात्र नेपालमा ३३२ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै २९० जनामा संक्रमण बुधवार पुष्टि भएको थियो।

यो पछिल्लो सात दिनमा सबै भन्दा कम चैत २१ गते १२८ जनामा संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ।

पछिल्लो समय संक्रमण फैलिँदै जाँदा स्वास्थ्यकर्मीहरुले पनि भयावह स्थिती आउन सक्ने भन्दै सचेत गराएका छन्।

डाक्टर अनुप सुवेदीले त नेपालमा मृत्युदर पहिलेको भन्दा बढ्ने चेतावनी दिएका छन्। पछिल्लो समय वायु प्रदूषण उच्च रहेकाले श्वासप्रश्वासप्रणाली अस्वस्थ भएको बेला कोभिड-१९ पनि लागे दोहोरो समस्याको मार पर्ने उनले बताएका छन्।

भारतमा संक्रमण बढ्दा जोखिम नेपालमा

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३१ हजार ९६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। पछिल्लो सात दिनमा चार दिन संक्रमितको संख्या लाख कटेको छ।

यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ३० लाख ६० हजार ५४२ पुगेको छ।

यस्तै, शुक्रवार बिहानसम्म थप ७४० जनाको संक्रमणका कारण मृत्यु भएको छ। भारतमा हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ६४२ पुगेको छ।

हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ९ लाख ७९ हजार ६०८ पुगेको छ। नेपालका सीमावर्ती भारतीय राज्यहरुमा संक्रमण बढ्दै जाँदा नेपालमा जोखिम बढ्दै गएको छ।

नेपालका सीमावर्ती भारतीय राज्यहरु पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डमा मात्र पछिल्लो दिन ११ हजार २६५ सक्रिय संक्रमित थपिएका छन्।

जसमध्ये उत्तर प्रदेशमा मात्र ७ हजार ३५१ जनामा सक्रिय संक्रमित थपिएका छन्। त्यस्तै पश्चिम बंगालमा एक हजार ८१९ र बिहारमा एक हजार ५७९ तथा उत्तराखण्डमा ५१६ जना सक्रिय संक्रमित थपिएका छन्।  

भारतमा संक्रमण बढ्दै जाँदा नेपाल फर्किनेहरु पनि बढ्दै गएका छन्। महाराष्ट्र, दिल्ली लगायत कोरोनाबाट धेरै प्रभावित राज्यहरुबाट मानिसहरु रेलमा गाउँ फर्किरहेका छन्। नेपालको सीमासँग जोडिएको गोरखपुरमा समेत धेरै मानिस फर्किरहेका छन्। भारतबाट नेपाल फर्किनेको संख्या बढ्दै जाँदा नेपालमा जोखिम पनि बढ्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell