
काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वीय दर्शन, धर्म र सनातनीय संस्कार जोगाउन आह्वान गरेका छन्।
कुम्भ मेलामा सहभागी हुन भारतको उत्तराखण्डस्थित हरिद्वारमा रहेका पूर्वराजा शाहले बाह्य दबाब र सांस्कृतिक अतिक्रमणले पूर्वीय दर्शन र सनातनीय संस्कारमा ह्रास आएको बताउँदै यसतर्फ सबैको ध्यानाकर्षण गराएका हुन्।
‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नु भएको, के नेपाल सानो छ ? भन्ने निबन्ध पढेको थिएँ। बडो चिन्ताकासाथ हाम्रो आर्य सभ्यताको महत्व खिइँदै गएको कुरामा उहाँले उक्त निबन्धमा लेख्नू भएको थियो,’ शाहले भने, ‘हो, कतिपय बाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केहि समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कूरा साँचो हो।’
शाहले अब हामीले हाम्रो धर्म बचाउनु, संस्कृतिको रक्षा गर्नु, मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नू, गंगा नदीहरूको प्रवाह स्वच्छ पार्नुपर्नेमा जोड दिएका छन्। ‘यिनै प्रयोजन हेतू यो महाकूम्भ मेलाको यो विशाल भेलाको र यहाँ उपस्थित सबै विद्वान, विदूषी, सन्त महात्माहरूको ध्यान पूगोस्। यही अवधारणा छ मेरो,’ उनले भनेका छन्।
सम्बन्धित समाचार : 'नेपालका नरेश'का रुपमा पूर्वराजा ज्ञानेन्द्र शाहको हरिद्वार यात्रा : कति तीर्थ कति राजनीति?
पूर्वराजा शाहले जल, स्थल र आकाशलाई निरन्तर विषाक्त बनाइँदै लगिएको आजको प्रदूषणयुक्त विश्व क्षेत्रमा समस्त वातावरणलाई अमृतमय बनाउने दृष्टिकोणले हेर्दा यस्ता कुम्भ मेलाको औचित्य आजको समयमा पनि अर्थपूर्ण हुने उल्लेख गरेका छन्। ‘हराभरा स्वच्छ प्रकति, निर्मल नद नदी तथा ताल तलैया एवं समस्त वातावरणलाई प्रदूषणमुक्त बनाउने आजको विश्वव्यापी अभियानमा कुम्भ मेला जस्ता हाम्रा यस्ता धार्मिक अनूष्ठान सर्वथा उपयोगी र प्रेरणादायी हून्छन् भन्ने मेरो दृष्टिकोण छ,’ उनले भनेका छन्।
शाहले हाम्रो सभ्यता, हाम्रो धर्म परम्परा तथा सनातनी संस्कृति विश्व मै बेजोड रहेको उल्लेख गरेका छन्। ‘नेपाल र भारतका कैयन देवस्थलहरू, धामहरू एवं अनेकौं स्थानहरू यस्ता छन्। जसले सदैव सर्वे भवन्तु सुखिनको विश्वव्यापी मान्यता राख्दछन्। हामी कतिले र अरू कतिले हाम्रा यी धार्मिक सांस्कृतिक स्थलहरूलाई तथा हाम्रा अनेकौं रितिस्थितिलाई के कति बुझ्दछन् कुन्नि, तर सारभूतरूपमा भन्नुपर्दा हाम्रो धर्म सभ्यता, संस्कृतिका अनेक आर्दशहरू विश्वकै मानवीय मूल्यलाई डोर्याउँछन्,’ उनले भनेका छन्।
हरिद्वारस्थित कुम्भ मेलाका अवसरमा भोलि शाहले गंगामा शाही स्नान गर्दैछन्।