PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

मन्त्रीबाट पदमुक्त भएका बादल आजै पुन: नियुक्तिका लागि सपथ लिँदै



पहिलोपोस्ट

मन्त्रीबाट पदमुक्त भएका बादल आजै पुन: नियुक्तिका लागि सपथ लिँदै
फाइल फोटो

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले आजै फेरि सोही पदमा सपथ लिने भएका छन्। माओवादी केन्द्र छोडेका बादल हाल नेकपा एमालेको केन्द्रीय सदस्य छन्। आजै माओवादीले उनलाई पदमुक्त गरेको हो।

पार्टी छाडेपछि माओवादी केन्द्रले बादललाई सांसद पदबाट हटाउने निर्णय गरेको थियो। त्यही निर्णयलाई आज कार्यान्वयनमा गएपछि उनले पुन: मन्त्री पदमा नियुक्ति लिनु परेको हो। आफ्नो सरकारलाई काँध थापेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई फेरि नियुक्तिको तयारी गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहका सूर्य थापाले आजै अपरान्ह ५ बजे सपथ कार्यक्रम रहेको जानकारी दिए।

'आजै ५ बजे सपथको तयारी छ,' उनले भने।

राष्ट्रियसभा सदस्यबाट हटेसँगै मन्त्रीमा पुन: नियुक्ति हुन लागेका बादलको कार्यकाल संविधान अनुसार ६ महिनाको मात्रै हुने छ। संविधानको धारा ७८ मा सांसद नभएको ब्यक्तिलाई पनि राष्ट्रपतिले मन्त्री पदमा नियुक्त गर्न सक्ने ब्यवस्था छ। तर, ६ महिना भित्र संघीय संसदको सदस्य हुनुपर्ने व्यवस्था छ। अन्यथा प्रतिनिधिसभाको कार्यकालभरी मन्त्रीका लागि अयोग्य हुने ब्यवस्था छ।

कारवाहीले रिक्त भयो पद

गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभाको सांसदबाट पदमुक्त भएका छन्। गृहमन्त्री थापाले माओवादी छाडेर एमाले प्रवेश गरेपछि उनको पद रिक्त भएको संघीय संसदको महासचिवव डा भरतराज गौतमले सूचनामार्फत जनाएका छन्। उनको मन्त्री पद समेत गुमेको हो। 

माओवादीका संसदीय दलका नेता दीननाथ शर्माले लिखित पत्र पेश गरेको सूचना प्राप्त भएपछि उनको पद रिक्त भएको संघीय संसदले जनाएको छ।

'राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ र दफा ३२ को उपदफा (१) को खण्ड (ख) बमोजिम दल त्याग गरेको व्यहोरा जनाई उक्त पार्टीको संसदीय दलले निर्णय गरी दफा ३४ को उपदफा (२) बमोजिम प्रक्रिया अगाडि बढाई दिन भनी सोही दलका राष्ट्रिय सभाका नेता माननीय दीनानाथ शर्माद्वारा लिखित पत्रका साथ संघीय संसद सचिवालयमा मिति २०७७/१२/२७ गते सूचना प्राप्त भएकोले नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) बमोजिम राष्ट्रिय सभा सदस्य माननीय रामबहादुर थापा मगरको पद रिक्त हुन आएकोले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका सम्माननीय अध्यक्षबाट स्वीकत भए बमोजिम यो सचना प्रकाशित गरिएको छ,' संघीय संसदको सूचनामा भनिएको छ।

थापा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वागमती प्रदेशबाट ६ वर्षका लागि निर्वाचित भएका थिए। माओवादी केन्द्रले थापाले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार उनीहरुलाई कारवाही गरेको थियो। माओवादीले दल त्याग गरेको सूचना संघीय संसद सचिवालयमा बुझाउँदै राष्ट्रियसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरेको थियो

यसअघि नेकपा एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका चार सांसदलाई संघीय संसद सचिवालयले पदमुक्त गरेको थियो

कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित लेखराज भट्ट, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, रौतहट ३ बाट निर्वाचित प्रभु साह र कैलाली ३ बाट निर्वाचित गौरीशंकर चौधरीलाई पदमुक्त गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell