काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकलाई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले बहिष्कार गरेका छन्।
ओलीले बोलाएको बैठकलाई नेपाल-खनाल समूहले बहिष्कार गरे पनि उक्त समूहका नेता विष्णु रिजाल, सोम मिश्र लगायतका नेता भने सहभागी भएका छन्।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद उत्पन्न भएका बेला रिजाल ओलीका कट्टर आलोचकका रुपमा चिनिएका थिए। सर्वोच्च अदालतले फागुन २३ गते एमाले माओवादी अलग हुनुपर्ने फैसला गरेपछि पनि नेता रिजाल नेपाल समूहमै सक्रिए थिए। चैत ४ र ५ मा नेपाल समूहले आयोजना गरेको सानेपा भेलमा पनि रिजालले ओलीको आलोचना गर्दै प्रश्न गरेका थिए। माघ ६ गते प्रेस सेन्टरले आयोजना गरेको भेलामा रिजालले ओली गणतन्त्र विरोधी भएको भन्दै चर्को आलोचना गरेका थिए।
लामो समयसम्म ओलीको आलोचक रहेका रिजाल आज भने बालुवाटारको बैठकमा सहभागी भएका हुन्। उनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै ओलीको बचाउ गर्न थालेका थिए। उनले सोमवार पनि प्रतिनिधिसभाको चालु अधिवेशन तत्काल अन्त्य गर्नुपर्ने बताएका थिए।
'यदि प्रतिनिधिसभाले कुनै विधेयक वा अरु काम अघि बढाउन सक्ने होइन भने चालू अधिवेशन तत्काल अन्त्य गरी सरकार नीति-कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुनु राम्रो हुन्छ। किनकि, वैशाखभित्रै वर्खे अधिवेशन बस्नैपर्छ,' उनले भनेका छन्।
नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य रहेका रिजाल नेपाल प्रधानमन्त्री भएका बेला प्रेस सल्लाहकार समेत थिए।
