PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

झन्डै १ किलो हेरोइनको ९३ वटा क्याप्सुल पेटभित्र बोकेर लाहोरबाट काठमाडौं ओर्लिएका दावाको बयान : ९४ वटा दिएका थिए, एउटा चाहिँ खान सकिन



सविन ढकाल

झन्डै १ किलो हेरोइनको ९३ वटा क्याप्सुल पेटभित्र बोकेर लाहोरबाट काठमाडौं ओर्लिएका दावाको बयान : ९४ वटा दिएका थिए, एउटा चाहिँ खान सकिन

काठमाडौं : धादिङ घर भएका ४९ वर्षीय दावा लामा तामाङ मार्च २९ मा काठमाडौँबाट दुबई हानिए। दुबईमा कसलाई भेट्ने र त्यसपछि कहाँ जाने उनलाई पत्तो थिएन। तर, त्यहाँ बस्ने र खाने व्यवस्था भने मिलाइएको थियो।

तीन दिन बितिसकेको थियो। उनको भिसा पनि सकिन लागेको थियो। उनी के गर्ने भन्ने द्विविधामा थिए। त्यसपछि उनको सम्पर्क भयो, होनीमाया तामाङसँग। त्यहाँबाट पाकिस्तान जाने  पेपर भिसा मिलाइयो। अप्रिल ४ मा दावा फ्लाइटबाट दुबई देखि पाकिस्तानको लाहोर हानिए। फेरि तीन दिन होटेलमा नै बास भयो।

अप्रिल ७ मा लाहोरबाट पाकिस्तानको फैसलावाद गए उनी। उनलाई अर्का व्यक्तिले दिएको जानकारी अनुसार नै उनी एक देशबाट अर्को देशमा पुगिरहेका थिए। उनी पाकिस्तानबाट दुबई हुँदै नेपाल लागू औषध हेरोइन लिन पुगेका थिए। उनलाई ट्र्याक भने नेपालमा बसेर होनिमाया तामाङले गरिरहेकी थिइन्। उनी लागू औषध कारोबारी हुन्।

फैसलावादमा पुगेपछि उनलाई लागू औषधको क्याप्सुल दिइयो। उनी ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। लागू औषध नियन्त्रण ब्युरोको टोलीले दावाले लागू औषध लिएर आउन लागेको सूचना पाइसकेको थियो। शरीर तथा लगेज चेक गर्दा लागू औषध फेला परेन। तर, प्रहरी ढुक्क थियो उनले लागू औषध बोकेर आएका छन्। शरीरमा लागू औषध ल्याएको सूचना भएकाले उनलाई नेपाल प्रहरीको अस्पताल पुर्‍याइयो।

'पहिले सामान्य एक्सरेमा हेर्दा देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो,' लागू औषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी दिलीप चौधरीले भने।दावाको शरीरबाट निकालिएको हेरोइन


अस्पतालमा दावालाई औषधि खान दिइयो। दुई दिनसम्म उनको शरीरबाट लागू औषध हेरोइनका ९३ वटा क्याप्सुल निकालियो। दावाको शरीरबाट निकालिएको लागू औषधको परिमाण ९ सय ग्राम थियो। लागू औषध बेरिएको प्लास्टिकसमेत जोड्ने हो भने १ किलोभन्दा धेरै।

'उसलाई ९४ वटा क्याप्सुल खान भनिएको थियो। तर, एउटा खान नसकेर ९३ वटा क्याप्सुल खाएको उनले बयान दिएका छन्,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए। दावाको पेटभित्रबाट निकालिएको एउटा क्याप्सुलको तौल ९ देखि १२ ग्रामसम्मको थियो।

उनले पाकिस्तान हुँदै नेपाल ल्याएर सम्बन्धित व्यक्तिलाई लागू औषध बुझाएको खण्डमा २ हजार डलर पाउने मौखिक सहमति भएको थियो। तर, काम पूरा नहुँदै उनी प्रहरीको कब्जामा परे। प्रहरीले विमानस्थलमा पक्राउ गर्दा समेत उनले आफूसँग केही नभएको प्रतिक्रिया दिएका थिए।

'हामीलाई शंका थियो। त्यसैले तातोपानी, खानेकुरा खान दिँदा समेत उसले खाएकँ थिएनन्,' एक प्रहरी अधिकृतले भने।

दावाको पेटभित्र ९० लाख बराबरको हेरोइन, विमानस्थलमा समातिएपछि सिटी स्क्यान गर्दा भेटियो ९३ वटा क्याप्सुल

उनका अनुसार जफत भएको लागू औषधको बजार मूल्य ९० लाख रुपैयाँभन्दा माथि पर्न आउँछ। कूल ९ सय ग्राम लागू औषध जफत भएको हो। उनी यसअघि पनि लागू औषध कारोबारका क्रममा पक्राउ परिसकेको प्रहरीले जनाएको छ। ५ वर्ष कैद सजाय भुक्तान गरिसकेका धादिङका दावा लामा फेरि उस्तै प्रकरणमा पक्राउ परेका हुन्।

'यसमा ठूलो नेटवर्क छ। अन्य मानिसलाई पनि खोजी गरिरहेका छौँ। पछिल्लो समयमा नेपालमा नै खैरो हेरोइनको खपत हुने गरेको देखिएको छ,' एसएसपी चौधरीले भने।

प्रहरीले धादिङ घर भएकी होनिमाया तामाङलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell