काठमाडौं : त्रिदेशीय क्रिकेट सिरिजको सुरुका दुई खेलमा दर्शकले रंगशालामै गएर क्रिकेट हेरे। तर बढ्दो कोरोना संक्रमणका कारण सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने गरी मापदण्ड बनायो। विद्यालदेखि रंगशालासम्म त्यसको प्रभाव पर्यो। तेस्रो दिने नेपाल र नेदरल्याण्डस् खेल थियो अनि दर्शकको उपस्थिति भने निषेध गरिएको थियो। तर न दर्शकको हुटिङ रोकिएको थियो न दर्शकहरुले खेल हेर्न नै छाडे। रंगशाला वरपरका रुखमा, त्यहाँका बारहरुमा दर्शक देखिइ नै रहे।
यस्ता फोटोहरु समाजिक सञ्जाल पनि त्यतिकै चर्चामा रहे। नेपाली टोलीका पूर्व कप्तान पारस खड्काले सामाजिक सञ्जालमा तस्बिर हाल्दै टीयू क्रिकेट मैदानमा दर्शकको क्रेज भन्ने आशय दिए। उनको ट्वीटलाई कोटट्वीट गर्दै जारी सिरिज खेलिरहेको नेदरल्याण्ड्सका बेन कुपरले लेखे: मैदानमा दर्शकहरुलाई प्रवेश अनुमती छैन तर यसले नेपाली क्रिकेट समर्थकलाई रोकेको छैन। कुपरले क्रिकेट प्रतिको पूर्ण प्रतिबद्धतासहित आफ्नो टीम प्रतिको माया देख्दा खुशी लागेको बताए।
No spectators allowed in the ground but that didn’t stop the Nepalese fans! Pure dedication and a pleasure to see how important cricket and their team is to them! @CricketNep https://t.co/PF21rmVbAm
— Ben N Cooper (@bencooper_32) April 20, 2021
त्यस्तै नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टीयू क्रिकेट मैदानमा पहिलो पटक दर्शकबिनै खेलेको अनुभव यसपटक गरेको भन्दै यसले आफूलाई नमिठो अनुभुति हुने बताए।
'एकदमै नरमाइलो लाग्छ। बाहिर भन्दा त भित्र सेफ छ जस्तो लाग्यो। त्यसरी बस्नु भन्दा बरु आधालाई भित्र आउन दिए अझ सेफ हुने देखियो,' उनले भने, 'कस्तो नमज्जा भने कोही रुख चढिरहेको छन् कोही के गरिरहेका छन्। यस्तो अवस्थामा। उहाँहरु अलि केयरफुल पनि होस भन्ने चाहन्छु।'
कप्तान मल्लले अगाडि भने: अवस्था राम्रो पक्कै छैन। केसहरु बढिरहेका छन्।
त्यस्तै दर्शकको मायाले आफूलाई खुशी पार्ने बताउँदै मल्लले आफ्नो ख्याल गर्न समर्थकहरुलाई सुझाब दिएका छन्।
'हो माया हो मायाले उहाँहरु यहाँ आउनु भएको हो। तर आफ्नो पनि ख्याल राखेर गर्दा राम्रो हुन्छ जस्तो लाग्छ।' उनले भने।