PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पूर्व माओवादीलाई प्रयोग गरी नेपाल पक्षलाई ‘ठेगान’ लगाउँदै ओली



विधुर ढकाल

पूर्व माओवादीलाई प्रयोग गरी नेपाल पक्षलाई ‘ठेगान’ लगाउँदै ओली

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनलाई बल दिने गरी ओली पक्षले माधव नेपाल पक्षलाई 'ठेगान' लगाउन पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकबाट नेताहरुको कार्यविभाजनलाई पारित गरेको छ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कमिटीको बैठकले माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै आफू पक्षका नेताहरु तथा पूर्व माओवादीबाट एमालेमै रहेका नेताहरुलाई दोहोरो तथा तेहरो जिम्मेवारी दिइएको छ।

एमाले र माओवादी केन्द्रबीचको एकतालाई सर्वोच्च अदालतले फागुन २३ गते बदर गरिदिएसँगै २८ गते ओलीले आफू पक्षीय केन्द्रीय कमिटीको बैठक आयोजना गरी ९ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी खारेज गर्दै महाधिवेशन आयोजक समिति बनाएका थिए। स्थायी कमिटी पनि आफू अनुकुल बनाउने गरी ओलीले आफू र महासचिवलाई जिम्मेवारी दिएका छन्। त्यस्तै, उनले महाधिवेशन आयोजक कमिटीको जिम्मेवारी निर्धारण र कार्यविभाजन प्रस्ताव तयार गर्नका लागि विष्णु पौडेलको संयोजकत्वमा टोपबहादुर रायमाझी र शंकर पोखरेल सदस्य रहेको कार्यदल पनि बनाएको जानकारी गराएका छन्।

सोही कार्यदलको सिफारिसका आधारमा ९ ‍औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यलाई हटाइ १९ सदस्यीय स्थायी कमिटी गठन गरेका छन्। आफू पक्षीय नेताहरुलाई बढुवा गर्दै स्थायी कमिटीमा ल्याएका छन्।


सम्बन्धित समाचार:

एमालेको स्थायी कमिटी : कसको 'एक्जिट' कसको 'इन्ट्री'?


ओली पक्षका नेतालाई दोहोरो जिम्मेवारी

पार्टीको पार्टी स्कुल विभाग आफूले राखेर अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका नेताहरुलाई दोहोरो जिम्मेवारी दिँदै माधव नेपाल पक्षका नेताहरुलाई भूमिकाविहिन बनाएका छन्।

महासचिव ईश्वर पोखरेलाई केन्द्रीय कार्यालयको प्रमुख र उपत्यका विशेष कमिटीको इञ्चार्जको जिम्मेवारी दिइएको छ। विष्णु प्रसाद पौडेललाई संगठन विभागको प्रमुख र अर्थ तथा योजना विभागको प्रमुख बनाइएको छ। यसअघि संगठन विभागमा वामदेव गौतमलाई जिम्मेवारी दिइएको थियो। परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले प्रचार तथा प्रकाशन विभागको प्रमुख र प्रवक्ताको जिम्मेवारी पाएका छन्। प्रचार विभागको प्रमुखमा योगेश भट्टराई थिए।

वरिष्ठ नेता माधव कुमार नेपालले नेतृत्व गर्दै आएको विदेश विभागको जिम्मेवारी खोस्दै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईलाई विदेश विभागको प्रमुख र प्रवास क्षेत्रको इञ्चार्ज बनाइएको छ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार स्थायी कमिटी सदस्यमा मात्र बढुवा भएका छैनन् की उनलाई निर्वाचन विभाग, आर्थिक विभागको प्रमुख नै बनाइएको छ। त्यस्तै, उनलाई नेपाल ट्रेड युनियन महासंघ तथा सम्बद्ध संगठनहरुको इञ्चार्ज बनाइएको छ।

त्यस्तै, भर्खरै महान्यायाधीवक्ताबाट राजिनामा दिएका अग्नी प्रसाद खरेललाई निर्वाचन विभागको प्रमुखको जिम्मेवारी दिएको छ।

त्यस्तै, मन्त्रीहरुलाई तथा प्रदेशका मन्त्रीहरुलाई पनि दोहोरो जिम्मेवारी दिइएको छ। आफू पक्षका नेताहरुको जिम्मेवारीलाई यथावत राख्दा उनले माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेका छन्। 

प्रदेश १ को इञ्चार्जमा सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ। नेम्वाङलाई संसदीय मामिला प्रमुखसमेत बनाइएको छ। यसअघि प्रदेश १ को इञ्चार्ज भीम आचार्य रहँदै आएका थिए।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई प्रदेश १ को सहइञ्चार्ज र भोजपुर जिल्लाको इञ्चार्जको जिम्मेवारी दिइएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई वाग्मती प्रदेशको सहइञ्चार्ज र नगरपालिका महासंघको इञ्चार्ज चयन गिएको छ।

स्थायी कमिटी सदस्यमा बढुवा भएका केशवप्रसाद बढुवाललाई सल्लाहकार परिषदको अध्यक्षमा कायम राखिएको छ। स्थायी कमिटीमा बढुवा भएका योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेललाई लेखापरीक्षण आयोगको अध्यक्षमा यथावत राखिएको छ। त्यही अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहोराको जिम्मेवारी खोसिएको छ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई वाग्मती प्रदेशको सहइञ्चार्ज र काठमाडौं जिल्लाको इञ्चार्जको जिम्मेवारी दिइएको छ। मन्त्री पद्माकुमारी अर्याललाई गण्डकी प्रदेशको सहइञ्चार्ज र कृषि भूमिसुधार विभागको प्रमुखको जिम्मेवारी दिइएको छ।

मन्त्री पार्वत गुरुङलाई नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन र सम्बद्ध संगठनहरुको इञ्चार्ज, दोलखा जिल्लाको इञ्चार्ज र गाउँपालिका महासंघको इञ्चार्जको जिम्मेवारी दिइएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई गण्डकी प्रदेशको इञ्चार्जमा कायम राखिएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशको इञ्चार्जका साथै संघीय मामिला विभागको प्रमुखको जिम्मेवारी दिइएको छ।

मन्त्री भानुभक्त ढकाललाई प्रदेश १ को सहइञ्चार्ज र पर्यटन प्रवर्द्धन विभागको प्रमुखको जिम्मेवारी दिइएको छ। मन्त्री लिला श्रेष्ठलाई प्रदेश २ को सहइञ्चार्ज बनाइएको छ। मन्त्री प्रेमबहादुर आलेलाई वन तथा वातावरण विभागको प्रमुख बनाइएको छ।

लुम्बिनी प्रदेशका मन्त्री वैजनाथ चौधरीलाई लुम्बिनीको सहइञ्चार्ज र नवलपरासीको इञ्चार्जमा चयन  गरिएको छ। लुम्बिनी प्रदेशकै मन्त्री लिला गिरीलाई प्रदेश कमिटीको अध्यक्ष र प्युठान जिल्लाको इञ्चार्ज बनाइएको छ।

महेश बस्नेतलाई युवा संघ नेपाल तथा सम्बद्ध संगठन र नेपाल खेलकुद महासंघ तथा सम्बद्ध संगठन गरी दुई वटाको इञ्चार्ज बनाइएको छ।

कर्णाली प्रदेशका इञ्चार्जमा यामलाल कँडेललाई जिम्मेवारी दिइएको छ। साथै उनलाई नै सुर्खेत जिल्लाको पनि इञ्चार्ज बनाइएको छ। माधव समूहमा लागेका तथा महाधिवेशनबाट सचिवमा निर्वाचित युवराज ज्ञवाली कर्णालीको इञ्चार्ज थिए। मोहन बानियाँलाई कर्णाली प्रदेशको सहइञ्चार्जसँगै मुगु र जुम्ला जिल्लाको इञ्चार्ज बनाइएको छ। लक्ष्मी प्रसाद पोखरेललाई कर्णालीको सहइञ्चार्जका साथै दैलेख र कालिकोटको इञ्चार्ज बनाइएको छ।

विजय सुब्बालाई तेह्रथुम र धनकुटाको इञ्चार्ज तथ संस्कृति विभागको प्रमुख बनाइएको छ।

नेकपा एमालेको ९ औं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य रहेकी निरुदेवी पाललाई कञ्चनपुर जिल्लाको इञ्चार्ज बनाइएको छ। शिवमाया तुम्बाहाम्फेलाई कानुन विभागको प्रमुख, प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन र सम्बद्ध संगठनको इञ्चार्जका साथै मोरङ जिल्लाको इञ्चार्जको जिम्मेवारी दिइएको छ।

२०७३ साल फागुन २० मा एमाले केन्द्रीय सदस्यमा मनोनित भएका रघुवीर महासेठलाई स्थायी कमिटीमा बढुवा गर्दै प्रदेश २ को इञ्चार्जको जिम्मेवारी दिइएको छ।

सोही मितिमा वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित शान्ता चौधरी दाङ जिल्लाको सहइञ्चार्ज बनाइएको छ। चौधरीलाई नेपाल भूमिहिन सुकुम्बासी संगठन तथा सम्बद्ध संगठनहरुको जिम्मेवारीसमेत दिइएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाकहाकार सूर्यबहादुर थापा क्षेत्री प्रचार तथा प्रकाशन विभागको उपप्रमुख तथा प्रेस चौतारी तथा सम्बद्ध संगठनको इञ्चार्ज भएका छन्। राजेन्द्र प्रसाद गौतमलाई प्रदेश १ को सहइञ्चार्जका साथै संखुवासभाको इञ्चार्ज बनाइएको छ।

माधव गुट फर्केर आएकालाई जिम्मेवारी

शेरबहादुर तामाङलाई केन्द्रीय कार्यालय सचिव वाग्मती प्रदेशको सहइञ्चार्ज र सिन्धुपाल्चोकको इञ्चार्जको रुपमा जिम्मेवारी दिइएको छ। त्यस्तै, लालबाबु पण्डीतलाई प्रदेश १ को सहइञ्चार्जको जिम्मेवारी दिइएको छ।

लामो समय माधव नेपाल पक्षमा रहेका तथा उनी प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका विष्णु रिजाललाई विदेश विभागको उपप्रमुख र दैलेख जिल्लाको सहइञ्चार्जको जिम्मेवारी दिइएको छ।

त्यस्तै, वामदेव गौतमको जिम्मेवारी खोसिएको छ। माओवादी केन्द्रबाट एमालेमा रहेका र एकता हुँदा एमालेबाट थपिएका गरी २६५ केन्द्रीय सदस्यमा १०० जनालाई जिम्मेवारी दिइएको छ।

माधव नेपाल पक्ष ठेगान लगाउन पूर्व माओवादी

रामबहादुर थापालाई वाग्मती इञ्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभाग प्रमुख बनाइएको छ। यसअघि यो जिम्मेवारीमा एमालेको ९ औं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित अष्टलक्ष्मी शाक्य जिम्मेवारीमा थिइन्।

प्रभु साह सहरी विभाग विभाग प्रमुख, पेशागत महासंघ नेपाल तथा सम्बद्ध संगठनहरु र नेपाल बुद्धिजिवि परिषद तथा सम्बद्ध संगठनको इञ्चार्ज बनेका छन्। लेखराज भट्ट सुदूरपश्चिम प्रदेशको इञ्चार्ज उद्योग तथा वाणिज्य विभागको प्रमुख र नेपाल उद्योग व्यवसायी महासंघ तथा सम्बद्ध संगठनहरुको इञ्चार्ज भएका छन्। यसअघि एमालेका उपाध्यक्ष भीम रावल सुदूरपश्चिम प्रदेशको इञ्चार्ज थिए।

मन्त्री गौरी शंकर चौधरीलाई श्रम तथा रोजगार विभागको प्रमुखको जिम्मेवारी दिइएको छ। उर्जा मन्त्री टोपबहादुर रायमाझी मोर्चा संगठन इञ्चार्जको जिम्मेवारी दिइएको ।

माओवादीबाट प्रदेश २ को प्रदेशसभा सदस्यमा विजयी ज्वालाकुमारी साहलाई प्रदेश २ को अध्यक्ष तथा बारा इञ्चार्जको जिम्मेवारी दिइएको छ। त्यस्तै, लिलबहादुर थापालाई गण्डकी प्रदेशको सहइञ्चार्जको जिम्मेवारी दिइएको छ। त्यस्तै, खानेपानीमन्त्री मणिचन्द्र थापालाई खानेपानी विभागको प्रमुखसँगै लुम्बिनी प्रदेशको सहइञ्चार्जको जिम्मेवारी दिइएको छ। 

खेलकुद मन्त्री दावा तामाङलाई युवा तथा खेलकुद विभागको प्रमुखको जिम्मेवारी दिइएको छ। उनी माओवादीबाट वाग्मती प्रदेशसभा निर्वाचनमा पराजित भएका थिए। कर्णाली प्रदेशसभामा माओवादीबाट निर्वाचित धर्मराज रेग्मीलाई कर्णाली प्रदेश सचिव र पश्चिम रुकुमको इञ्चार्ज बनाइएको छ।

लुम्बिनी प्रदेशसभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित दधिराम न्यौपानेलाई रुपन्देहीको इञ्चार्जको जिम्मेवारी दिइएको छ। यसअघि उनी पार्टी एकतापछि नेकपाको जिल्ला सचिवको जिम्मेवारी दिइएको थियो। तर, उनले अस्विकार गरेका थिए। त्यस्तै, उनी माओवादी केन्द्रका जिल्ला सहइञ्चार्ज थिए।

सुदूरपश्चिम प्रदेश प्रदेशसभा सदस्यमा माओवादीबाट निर्वाचित झपट बोहोरालाई अछाम जिल्लाको इञ्चार्जको जिम्मेवारी दिइएको छ। प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईलाई अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व गरेका माओवादीबाट प्रदेशसभामा विजयी टंक आङबुहाङ एमालेमा लागेर प्रदेश १ को सहइञ्चार्ज बनेका छन्।

प्रदेश २ का प्रदेशसभा सदस्यमा माओवादीबाट विजयी रामचन्द्र मण्डल धनुषा इञ्चार्ज जिल्लाको इञ्चार्ज भएका छन्। राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई अर्घाखाँची इञ्चार्ज बनाइएको छ। उनलाई माओवादीले राष्ट्रियसभा सदस्यबाट हटाउने निर्णय गरेको छ।

दिनेश पन्थीलाई गुल्मी इञ्चार्ज जिम्मेवारी दिइएको छ। गिरीधरीलाल न्यौपानेलाई लुम्बिनीको सहइञ्चार्ज बनाइँदा टेकबहादुर बलम्पाकी महोत्तरी सहइञ्चार्ज बनेका छन्।

मनोजजंग थापा विज्ञान तथा प्रविधि विभाग प्रमुख, प्रोग्रेसिभ इन्जिनियरिङ एसोशिएसन नेपाल तथा सम्बद्ध संगठनहरुको इञ्चार्जको जिम्मेवारी दिइएको छ। पासाङ शेर्पा ताप्लेजुङ सहइञ्चार्ज तथा सम्पर्क समन्वय कमिटी प्रदेश १ को इञ्चार्ज बन्दा विषमलाल अधिकारी सिन्धुली इञ्चार्ज बनेका छन्। त्यस्तै, नविन रोका मगरलाई रोल्पा जिल्लाको इञ्चार्ज तथा आदिवासी जनजाती महासंघ सम्ब्ध संगठनहरुको सहइञ्चार्ज बनेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell