बाघदरबारको पछाडि रंजितकारहरुको कुल-देवता छ। २०५० सालको अन्त्यसम्म उक्त स्थान सुनसान थियो। धेरै घर थिएनन्। बायाँ भागमा खुला चौर थियो। त्यहाँ विभिन्न चराहरु पाइन्थे। वर्षमा एकपटक कुल-देवता पूजा गर्न पुग्नेहरुको आकर्षणको केन्द्रबिन्दु बन्थ्यो त्यहाँ रहेको मयुर। पानी पर्दा ओत लाग्ने ठाउँ यही खुला चौर नजिकैको भवन थियो। पछि बाघदरबार नजिकै चाइना टाउन बन्यो। बाँकी क्षेत्रमा होटल बन्न सुरु भयो। बाघदरबार साँघुरियो। कुल-देवता होटलले घेरिए। दरबारमा महानगरपालिकाको कार्यालय थियो।
कुनै बेला काठमाडौंको मुख्य प्रशासनिक केन्द्र बनेको बाघदरबार हाल जीर्ण छ। त्यहाँ दरबार छ भनेर पनि धेरैलाई थाहा छैन।
यही बाघदरबार परिसरभित्रै १९७ वर्ष अघि भीमसेन थापाले बनाएका थिए 'मीनार'। भीमसेन थापा फाउन्डेसनका संस्थापक सुशील विक्रम थापाका अनुसार ताहा गल्लीको पूर्वपट्टि थियो 'मीनार', जसलाई पछि धरहरा भन्न थालियो।
यही पिपल बोटको पूर्वमा भीमसेन थापाले बनाएको पहिलो मीनार रहेको बताइन्छ।
पञ्चायत कालमा भीमसेन थापालाई राष्ट्रिय विभूति घोषणा गरेपछि मात्रै मीनारलाई भीमसेन स्तम्भ भन्न थालियो। त्यसअघि नै मीनारलाई धरहरा भन्न सुरु भइसकेको थियो।
राजाराम सुवेदीले प्राचीन नेपालको ८०औं अंकमा धरहराको अर्थ प्रस्टाउन खोजेका छन्। उनले धरहरा शब्द संस्कृतबाट आएको उल्लेख गरेका छन्। संस्कृतमा सेतो घरलाई धवलगृह भन्ने गरिएको भन्दै उनले धरहरा त्यहीबाट प्रेरित भएको हुनसक्ने उनको दाबी छ।
+++
भीमसेन थापाले वि सं १८८१ मा मीनार (पहिलो धरहरा) बनाउन लगाएका थिए। यो स्तम्भ भीमसेन थापाको निवास बाघदरबारभित्र बनाइएको थियो। त्यो मीनार १८९० सालको भूकम्पमा नराम्ररी चर्केको थियो।
बाघदरबार र भीमसेन थापाले बनाइको दुई मीनार (धरहरा) को चित्र। तस्विर : सुशील विक्रम थापा
भीमसेन थापाको कृति बोक्ने यो 'मीनार' अहिले अस्तित्वमा छैन। हामीले सुनधारामा देख्दै, सुन्दै र पढ्दै आएको धरहरा भीमसेन थापाले बनाएको पहिलो धरहरा भने होइन। यसबारेमा जनश्रुतिहरु भए पनि किताबी पाना यसबारेमा मौन छन्। जसकारण धेरैले भीमसेन स्तम्भ भनेको सुन्धारामा रहेको धरहरा मात्र हो भन्ने ज्ञान छ।
भीमसेन थापाले १८८२ मा दोस्रो 'मीनार' बनाएका थिए। नेवार समुदायका केही जातिले कुल-देवता पूजा गर्दै आइरहेको क्षेत्रमा नयाँ मीनार ठडिएको थियो। सुन्धारा नजिकैको ११ तल्ले धरहरा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल थापाले नै बनाएका थिए। त्यस बखत राजा राजेन्द्र वीरविक्रम शाहदेवलाई काखमा राखेर महारानी त्रिपुरासुन्दरीले शासन सत्ता सञ्चालन गर्दै आएकी थिइन्।
'भीमसेनले बनाएको मीनारबाट प्रभावित भएर रानीले पनि त्यस्तै संरचना बनाउन लगाएकी थिइन्। त्यो पनि भीमसेन थापाले नै बनाउन लगाएका थिए। त्यस बेलाका सर्वेसर्वा नै थापा भएकाले त्यो पनि भीमसेन थापा नै नाममा रहन गएको हुनसक्छ' सुशील भन्छन्।
त्रिपुरासुन्दरीले एउटा धरहरा हुँदाहुँदै किन नयाँ धरहरा बनाउन लगाइन्। त्यसको उद्देश्य प्रस्त हुनसकेको छैन। यद्यपि, भीमसेन थापाले निर्माण गरेको पहिलो धरहरामा राजारानीको नाम उल्लेख नहुँदा दोस्रो धरहरा निर्माण भएको हुन सक्ने कथन समेत रहेको छ।
बुद्धिमान वंशावलीमा विदेशीहरुलाई शान देखाउन धरहरा बनाइएको उल्लेख भएको सुशील बताउँछन्। यी दुवै धरहरा करिब ११० वर्ष अस्तित्वमा रहेको राजाराम सुवेदीले उल्लेख गरेका छन्।
किन बन्यो पहिलो मीनार?
नेपालमण्डल मठ मन्दिरको देश हो। त्यसबेला नेपाल भनेर काठमाडौंलाई चिनिन्थ्यो। तर मुगल शैलीमा उपत्यकामा कुनै संरचना बनेका थिएनन्। भीमसेन थापाको समयमा मात्रै नेपालमा मुगल शैलीले प्रवेश पाएको हो।
राजा र भीमसेन थापा धेरै वर्ष भारतको बनारसमा बसेका कारण त्यहाँका मुगल शैलीबाट प्रभावित भएका थिए। नेपालमा त्यस किसिमको कुनै संरचना नभएको समयमा भीमसेन थापाको कौशलताको कदर गर्दै मुगल शैलीमा 'मीनार' बनाइएको थियो।
भीमसेन थापाका कान्छा भाई रणवीर सिंहका सन्तान सुशील विक्रम थापाका अनुसार मुगल शैलीमा बनेकोले धरहराको केही महत्व नभएको भन्ने समूह पनि रहेको छ। तर त्यसको महत्व र उद्देश्य बारे धेरैलाई थाहा नभएको उनी बताउँछन्।
'मुगल शैलीमा बनेको धरहराको कुनै महत्व छैन भन्ने पनि छ। तर, धरहरामाथि शिवलिङ्ग र गजुर राखिएकोले त्यसको धार्मिक महत्व रहेको पनि पुष्टि हुन्छ' उनले भने।
सुशीलले अंग्रेजसँगको युद्धका क्रममा तराइलाई नेपालमै राख्न सफल भएको उपलक्ष्यमा भीमसेन थापाले पहिलो मीनार धरहरा निर्माण गरेको दाबी गर्छन्।
'अंग्रेजसँग युद्ध भइसकेपछि सुगौली सन्धि भयो। त्यस क्रममा तराइको भाग सबै अंग्रेजलाई दिने कुरा उठ्यो। दरबारका भारदारहरुले भने पहाड आफूसँग राखेर तराई अंग्रेजलाई छाडौं भनेछन्। तर भीमसेन थापाले त्यसको विरोध गरे' सुशीलले इतिहासका गाथा सुनाउँदै भने।
सुशीलका अनुसार त्यस बेला सरकारीका कर्मचारीहरुलाई तलबका रुपमा जग्गा र खान्की दिने गरिन्थ्यो। त्यसको धेरै अंश तराइसँग जोडिएको थियो। तर तराइका सबै जग्गा अंग्रेज दिइए कर्मचारीहरुलाई खान्की दिन गाह्रो हुने देखेर भीमसेन थापाले तराइको भूभाग अंग्रेजलाई नदिने भन्दै अडान लिए। अंग्रेजले तराई दिएवापत् वार्षिक दुई लाख रुपैयाँ दिन्छु भन्दा पनि भीमसेन थापाले मानेनन्। र अन्तत: अंग्रेज तराई लिने कुराबाट पछि हटेको थियो।
'तराई नदिने भनेर भीमसेन थापाले लिएको अडानका कारण देशको क्षेत्र बचेकोले राजाले थापाको कृति राख्ने गरी मीनार बनाउन दिएको हो।' सुशीलले भने।
उनका अनुसार भीमसेन थापाले तराईका त्यही जग्गाको प्रयोग गरेका हरेक वर्ष १० लाख राजश्व उठाउन सफल भएका थिए।
दोस्रो मीनार पनि अब इतिहासमा मात्रै
१८९० को भूकम्पले भीमसेन थापाले बनाएको दुवै मीनार चर्किएका थिए। त्यसको सय वर्षपछि १९९० सालमा आएको भूकम्पले दुवै मीनारलाई ढलायो। सुवेदीका अनुसार १९९० सालको भूकम्पपछि पहिलो मीनार 'इतिश्री' भयो। अंग्रेजलाई आफ्नो विवेकले पराजित गरेर ठडिएको मीनार पछि कहिलै ठडिएन। सुशिल भने १८९० को भूकम्पमै भीमसेन थापाले बनाएको पहिलो मीनार भत्किएको दाबी गर्छन्।
धरहराको विभिन्न रुप : १९९० सालको भूकम्प अघि/ २०७२ सालको भूकम्पअघि / २०७२ सालको भूकम्पमा बाँकी रहेको अवशेष
भीमसेन थापाले बनाएको दोस्रो मीनार (जुन धरहराको रुपमा परिचित छ) भने विभिन्न कालखण्डमा भत्कियो। वि सं १९१३ मा चट्याङले यो धरहरा भत्किएको थियो त्यसको दश वर्षपछि पुरानै शैलीमा जीर्णोद्वार गरिएको थियो। त्यसपछि वि सं १९९० माघ २ गतेको भूकम्पमा समेत यो धरहरा ढल्यो। १९९२ मा राणा प्रधानमन्त्री जुद्ध शमशेरले धरहराको पुर्निनर्माण गर्न लगाएका थिए। त्यसपछि ११ तल्लेको धरहरा ९ तल्लामा खुम्चियो र माथिल्लो तल्लामा बार्दलीसमेत राखियो। भीमसेन थापाले बनाएको मीनारमा बार्दली थिएन।
वि. सं २०७२ को भूकम्पले फेरि भीमसेन स्तम्भ ढल्यो। कहिल्यै नठडिने गरि। उक्त भूकम्पमा धरहरा भत्किँदा करिब ६० जनाको मृत्यु भएको थियो भने धेरै जना घाइते भएका थिए। धरहरा ढलेको समाचारले नेपालमा ठूलै भूकम्प गएको आकलन गरिएको थियो।
भीमसेन स्तम्भ कि धरहरा मात्रै?
६ वर्षपछि भीमसेन थापाले बनाएको दोस्रो धरहरा रहेको स्थानमा अहिले नयाँ धरहरा ठडिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (११ वैशाख) एक कार्यक्रमबीच नवनिर्मित धरहराको उद्घाटन गरे। उद्घाटन भएको धरहराले मुख्तियार भीमसेन थापाको गाथा बोक्न नसक्ने बताउँछन् भीमसेनको थापा फाउन्डेसनका कोषाध्यक्ष समेत रहेका सुशील विक्रम थापा। नयाँ शैलीमा बनेको धरहरा ट्रेड टावरको रुपमा स्थापित हुने देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे।
'यसलाई ऐतिहासिक भन्नै मिलेन। ट्रेड टावर जस्तो भयो। भीमसेन स्तम्भ जस्तो यो बनेको छैन। भूकम्पमा मन्दिरहरु पनि भत्किएका थिए। सबै पुरानै शैलीमा निर्माण भयो। धरहरामात्रै नयाँ शैलीमा किन बनाइयो थाहा छैन' उनले भने।
नवनिर्मित भएको धरहरा २२ तल्लाको छ। बाहिरबाट ११ तल्ला देखिए पनि भित्रबाट २२ तल्ला रहेको छ। त्यसबेला चुना प्रयोग गरेर बनाइएको धरहरा अहिले भने कंक्रिट र फलाम प्रयोग गरि बनाइएको छ। चौडाइ र उचाईमा समेत नयाँ धरहरा धेरै ठूलो छ। नयाँ धरहराको जमिनमुनि दुई तल्ला भूमिगत संरचना रहनेछ भने जमिनमाथि भुइँ तल्लासहित २३ तल्ला हुनेछ। समग्रमा आधुनिक धरहरा २५ तल्लाको हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। राणा कालमा पुनर्निर्माण भएको भीमसेन थापाले बनाएको धरहराको अवशेष भने अहिले हरियो जाली र जस्तापाताले छोपेर राखिएको छ।
२०० वर्षमा ठडिएको तेस्रो धरहरा
शनिबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेसँगै काठमाडौंमा तेस्रो धरहरा बनेको छ। पहिलो धरहरा अस्तित्वमै छैन। दोस्रो धरहराको अवशेष बाँकी छ। काठमाडौं र नेपालको शान भन्दै आधुनिक शैलीमा २२ तल्ले तेस्रो धरहरा अब ठडिएको छ।
करिब २०० वर्षको अन्तरालमा काठमाडौंमा बनेको यो तेस्रो मीनार हो।
आधुनिक प्रविधिको प्रयोग गरेर व्यापारिक प्रायोजनका लागि नयाँ धरहरा प्रयोग हुने भएपछि सम्पदा अभियन्ता र स्थानीयले विरोध गरेका थिए। धरहरा निर्माणको क्रममा उपाकु मार्ग समेत मिचिएको भन्दै विरोध भएको थियो। साथै सुन्धाराको संरक्षण र पुरानो धरहराको अवशेष जोगाउन कुनै कदम नचालिएको भन्दै आलोचना समेत भएको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने नयाँ धरहरा बने पनि यस क्षेत्रमा मनाउँदै आइसकेका सबै परम्परालाई निरन्तरता दिइने बताए। नयाँ र पुरानो धरहराबीच उपाकु मार्ग कायम रहने उनले बताएका छन्। साथै धरहराको विस्तृत परियोजनामा सुन्धाराबाट २४ घण्टै पानी आउने उनले दाबी गरे।
यस्तै, शनिबार उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि दुई पटकको भूकम्पमा ढलेको धरहरा पुरानै शैलीमा बनेको र दुवै पटक भत्किएको भन्दै अब धरहरा कहिलै नढल्ने गरी बनाउन आधुनिक प्रविधि प्रयोग गरिएको बताए। उनले धरहरा काठमाडौं चिनिने र नेपाल चिनिने प्रतीक भएको भन्दै खुसीयालीमा दीपावाली गर्न समेत आह्वान गरे।
हाल धरहराको उद्घाटन भए पनि नयाँ धरहराको सबै काम सकिएको छैन। अन्डरग्राउन्ड पार्किङ, हल, सुन्धारा, संग्रहालय इत्यादिको काम सकिन अझै करिब ८ महिना लाग्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।