PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

दिल्लीको झल्को दिने नारायणीको यो तस्विर : बेहाल वीरगंजमा भुँईमै अक्सिजन चढाएर संक्रमितको उपचार



राधेश्याम पटेल

दिल्लीको झल्को दिने नारायणीको यो तस्विर : बेहाल वीरगंजमा भुँईमै अक्सिजन चढाएर संक्रमितको उपचार

वीरगंज : कोरोना संक्रमित बिरामीको यतिबेला वीरगंजस्थित नारायणी अस्पतालमा भुँइमै उपचार जारी छ। अस्पतालमा बेड नपाएपछि कोरोना संक्रमित बिरामीलाई अक्सिजन चढाएर भुँइमै उपचार शुरु गरिएको हो। एकै बेडमा दुई जना बिरामीको उपचार भइरहेको छ। नारायणी अस्पतालको यो तस्विरले दिल्लीमा काबुभन्दा बाहिर गएको कोरोना संकटको झल्को दिएको छ।

५ सय बेड अनुमति प्राप्त अस्पताल भए तापनि ३ सय बेडमा कोभिड र नन-कोभिड गरी अस्पतलाका सबै बेड भरिभराउ भएको नारायणी अस्पताल स्रोतले जनायो। तर जिल्ला संकट व्यवस्थापन केन्द्रका अनुसार पर्सामा ५० जना अस्पतालको आइसोलेसनमा रहेको र बाँकी साढे ८ सय संक्रमित होम आइसोलेसनमा रहेको बताइएको छ। केन्द्रले ५० जना संक्रमितमध्ये ३७ जना नारायणी अस्पतालमा १३ जना नारायणी बयोधामा भर्ना भएर उपचार गराइरहेको जनायो।

तर वीरगंजका एडभान्स मेडिकेयर अस्पताल, तराई अस्पताल, नेसनल मेडिकल केलजलगायत अधिकांश अस्पताल कोभिड र नन-कोभिडका बिरामीबाट भरिसकेको अस्पतालहरुको दाबी छ। वीरगंज हेल्थकेयर र गण्डक अस्पताल पनि लगभग भरिसकेको अस्पतालका सञ्चालकहरुले दाबी गरे।

निजी अस्पतालहरुको यस्तो दाबीपछि बिरामी नारायणमा ओइरिँदा नारायणी अस्पतलले संक्रमितको उपचारको भार थेग्न सकिरहेको छैन। पर्याप्त मात्रामा कोभिड अस्पताल र आइसोलेसन नहुनु, संक्रमितले सहजै बेड नपाउनु, शंकास्पद बिरामीलाई अस्पतालहरुले भर्ना नलिनु, पीसीआर परीक्षणमा अव्यवस्थित पारा, संक्रमितको उपचारमा डाक्डरहरुको लापारवाहीलगायतले वीरगंज फस्दै गएको छ। वीरगंजमा अहिले दिनमै ५ जनाको मृत्यु हुन थालेको छ

बेड पाउन सोर्सफोर्स!

संक्रमितहरु यतिबेला उपचारको लागि अस्पताल चाहरीरहेको भेटिन्छन्। अस्पतालहरुमा सोर्सफोर्सको आधारमा मात्र संक्रमित तथा अन्य बिरामीले बेड पाउने स्थिति पैदा भएको स्थानीयको आरोप छ।

वीरगंज २८ बगहीका एक संक्रमितले धेरै प्रयासपछि मात्रै नारायणीमा बेड पाए। तर उपचार सेवा ठीक नभएको आरोप लगाउँदै उनका परिवार नारायणी बयोधामा रेफर गर्ने तयारीमा छन्।

वीरगंजमा कोरोना नियन्त्रण तथा संक्रमितको उपचारमा तीन तहकै सरकार असफल बन्दै गएको वीरगंजका अगुवाहरु बताउँछन्। कोरोना संक्रमितका उपचार, परीक्षण तथा ट्रयाकिङमा तीन वटै तहका सरकारले प्रभावकारी किसिमले काम नगरेका कारण यस्तो अवस्था आएको वीरगंजका अधिवक्ता जितेन्द्रप्रसाद कुर्मीले बताए। उनकाअनुसार तीन वटै तहका सरकार तथा नारायणी अस्पताल तथा वीरगंजका अन्य निजी अस्पतालबीच समन्वय र सहकार्य नहुदाँ वीरगंजको अवस्था बिग्रँदै गएको हो।

वीरगंजलाई बचाउन केके गर्ने?

कोभिड अस्पताल यथाशीघ्र सञ्चालनमा ल्याउनु पर्छ

नारायणी अस्पतालका चिकित्सकहरुका अनुसार वीरगंज क्षेत्रमा संक्रमण रोकथामका लागि नारायणीबाहेक अन्य दुई वटा कोभिड अस्पताल यथाशीघ्र सञ्चालनमा ल्याउनु पर्छ। तर पैसा खर्च हुने डरले केन्द्र सरकार, प्रदेश सरकार र वीरगंज महानगरले सो सम्बन्धमा तदारुकता देखाएको छैन। यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले नेसनल मेडिकल कलेजको तर्फबाट निजी स्तरमा कोभिड अस्पताल सञ्चालन गर्न सरकारसँग स्वीकृति मागिएको र अनुमति आएपछि बाबा होटललाई कोभिड अस्पताल सञ्चालन गर्ने बताए। तर विगतको कोभिड अस्पतलमा अस्पताल दिएका वीरगंज हेल्थ केयर र गण्डक अस्पतललाई पनि कोभिड अस्पताल बनाउनमा सञ्चालकहरु बिच्किएका छन्।

गत वर्षको कोभिड अस्पताल सञ्चालन गर्दा भुक्तानीमा स्वास्थ्य मन्त्रालय र नारायणी अस्पतलाको मेसु सन्जय ठाकुरले बदमासी गर्दा पनि यस वर्ष निजी अस्पतालले कोभिड अस्पताल बनाउन नचाहेका बताइएको छ। वीरगंज महानगरले खर्च गरेको १० करोड रुपैयाँ पनि नारायणी अस्पतालले हालसम्म बक्यौता राखेको छ जसको कारण वीरगंज महानगरको मेयर विजयकुमार सरावगीले कोभिड अस्पताल, पीसीआर परीक्षण र अन्य आइसोलेसन र क्वान्टिनमा खर्च गर्न अलमलमा छन्।

नन-कोभिड तथा शंकास्पद बिरामीको उपचार सहज

कोभिड अस्पताल सञ्चालनपछि रुघाखोकी वा अन्य रोगले ग्रसित ननकोभिडका बिरामीलाई सहजै ओपिडी जाँच, अन्य स्वास्थ्य परिक्षण तथा पीसीआर परिक्षणबाट स्क्रिनिङ गरी कोभिड वा ननकोभिड छुट्याएर कोभिड र ननकोभिड अस्पताल भर्ना गरी उपचार गर्नू पर्ने सुझाव वीरगंज नेसनल मेडिकल कलेजका चिकित्सक डा.जितेन्द्रकुमार मिश्राको छ।

उनका अनुसार पोहोरजस्तै कोरोना संक्रमतिको ट्रेसिङ गरी उनको परिवारजनलाई घरबाहिर ननिस्किन पनि प्रहरीले घरमा पर्चा टाँस्नु पर्ने हुन्छ। होम आइसोलसनमा बसेका संक्रमित र संक्रमितका परिवारजनले अहिले पनि घर, समुदाय र बजारमा जथाभावी घुमिराखेको र संक्रमण फैलाइरहेका छन्।

पीसीआर परीक्षण व्यवस्थित

नारायणी अस्पतालमा अहिले दैनिक डेढ सय जना पीसीआर परीक्षणको लागि जाने गरेका छन्। तर भीडका भने बाक्लो हुने गरेको देखिएको छ। स्वाब संकलनको लागि खुल्ला मैदान वा खुल्ला ठाउँमा अस्पतालले व्यवस्थापन मिलाउनु पर्ने देखिन्छ। नारायणी अस्पतालको भर्‍याङ र बरान्डामा डेढ सय जनाको भीडले अहिले पीसीआर ल्याबबाटै संक्रमण फैलिन्छ कि भनेर त्राहीत्राही बन्ने गरेको छ। वीरगंज राष्ट्र बैंकका एक कर्मचारीका अनुसार प्रयोगशालाका कर्मचारीले ज्यान लगाएर काम गरिरहे पनि ठाउँ साँघुरो भएकोले वीरगंजमै कतै बाहिर स्वाब संकलन गरी प्रयोगशालामा ल्याई परिक्षणपछि फोनमा नतिजा जानकारी गराउँदा सहज हुने बताए।

अहिले पीसीआर परीक्षण गराउने भनेको लक्षण देखिएका बिरामी हुन्। 'जब वीरगंजमा ८० जनाको हाराहारीमा दैनिक संक्रमित निस्किरहेका छन् भने त्यसको मतलब दैनिक ४ सय संक्रमित यस्तै घुमिरहेका छन्। किन भने २० प्रतिशतमा मात्र लक्षण देखिन्छ। जसको इम्यूनिटी पावर राम्रो हुन्छ, उसमा कोरोनाको लक्षण नदेख्न पनि सक्छ,' नारायणी अस्पतालका फेमिली फिजिसियन डा. उदायरायण सिंहले बताए।

वीरगंज–रक्सौल नाका बन्द गर्नूपर्छ

वीरगंज आर्थिक नगरी र नेपालकै मुख्य प्रवेशद्वार भएकोले भारतमा बढेको कोरोना महामारीलाई ध्यानमा राख्दै नाकालाई पूर्ण रुपमा ठप्प बनाउनु पर्ने वीरगंजका युवा अरविन्द सिंह बताउँछन्। उनका अनुसार सीमा बन्द नगर्दा र भारतबाट आउनेलाई क्वारेन्टाइनमा १० दिन सम्बन्धित पालिकाले नराख्दा यस्तो अवस्था बिग्रिदै गएको उनको भनाई छ। उनले दैनिक किनमेल गर्न आवतजावत गर्नेहरुलाई पूर्ण रुपमा रोक लगाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनालागयतको निगरानी बढाउनु पर्ने उनको धारणा छ।

लकडाउनले चेन ब्रेक गर्नूपर्छ

वीरगंजमा कम्तीमा १५ दिन लकडाउन लगाएर कोरोना महामारीको चेन क्रम तोड्नु पर्ने चिकित्कसहरुको भनाई छ। नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजका अध्यक्ष डा. अरुणकुमार सिंहका अनुसार विश्वका विकसित राष्ट्रहरुले जसरी लकडाउन गरी महामारीमा केन्द्रित भएका छन्। त्यसैगरी, पोहोरमा पनि कडा लकडाउनले महामारीालई नियन्त्रण गर्न मद्दत मिलेको थियो। सोही अनुरुपमा वीरगंजमा पनि अब लकडाउनको विकल्प नरहेको उनको सुझाव छ। उनले बाँके, काठमाडौंजस्तै देशको विभिन्न शहरमा अवस्था विग्रेपछि लकडाउन प्रशासनले लगाउदै गएको र यस विषयमा पनि पर्सा जिल्ला संकट व्यवस्थापन केन्द्रले रणनीति बनाएर निर्णय गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell