PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव टेबल हुँदै, 'फ्लोर क्रस' रोक्न एमालले बोलायो संसदीय दलको बैठक



पूजा पन्थी

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव टेबल हुँदै, 'फ्लोर क्रस' रोक्न एमालले बोलायो संसदीय दलको बैठक

बुटवल : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आजबाट सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुनेछ। प्रदेशसभा बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले अविश्वासको प्रस्ताव टेबुल गर्ने कार्यसूची रहेको छ। त्यसपछि प्रस्तावमा विभिन्न दलका सांसदहरुले आफ्नो धारणा राख्ने कार्यसूची रहने जनाइएको छ।

दलका सभासदहरुले आफ्नो धारणा राखेपछि बैशाख २० गते सोमबार आफूविरुद्धको अविश्वासको प्रस्तावमा मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिने बताइएको छ। मुख्यमन्त्रीले जवाफ दिएपछि सोही दिन मतदान हुने कार्यसूची रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले जानकारी दिए। शनिवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस र माओवादी केन्द्रका सांसदले कोरोना संक्रमणको कारण एकैदिनमा प्रस्तावको टुंगो लगाउन भनेका थिए। सत्तारुढ दल भने एमालेले दुई दिन माग गरेको थियो।

बैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। तर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ जनासहित ४ सभासदको पद खारेज भएको छ। अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश सभाको विशेष अधिवेसन बोलाउन समावेदन गरेका थिए।

हस्ताक्षर गरेकामध्ये जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी अविश्वासको प्रस्ताव दर्ता भएको केही वेरमै मन्त्री बन्न गएका थिए। कल्पना पाण्डेबाहेक बाँकीले प्रस्तावमा हस्ताक्षर गरेका थिए।

लुम्बिनी प्रदेशमा कुल ८७ सदस्य रहेको भएपनि जसपाका चार जना र माओवादी केन्द्र दुई जना सभासद कारवाहीमा परेपछि उनीहरुको पद खारेज भएको छ र सभामा ८१ सदस्य मात्र बाँकी रहेको छ। अविश्वासको प्रस्ताव पारित हुन ४१ सांसद आवश्यक पर्दछ। अहिले सत्तारुढ नेकपा एमालेसँग ४१ सांसद रहेका छन्, कांग्रेसका १९, माओवादी केन्द्रका १७ जसपाका २ (चार जना कारवाही पछि) र राष्ट्रिय जनमोर्चाका १ सांसद छन्।

अझै संकटमा छ लुम्बिनीमा शंकर पोखरेलको सरकार, यसरी निर्णायक बन्न सक्छन् सभामुख

एमाले बाहेकका दलको सांसद संख्या जोड्दा ३९ सांसद मात्र हुन्छन्। यो हिसाबले मुख्यमन्त्री शंकर पोखरेल सुरक्षित देखिन्छन्। तर मतदानमा क्रस मतदान हुने आशंका रहेको छ। एमालेका ४१ सांसदमध्ये माधव नेपाल पक्षमा खुलेका २ सांसदले फ्लोर क्रस गर्ने अनुमान गरिएको छ। कर्णाली प्रदेशमा जस्तै लुम्बिनीमा फ्लोर क्रस भएमा शंकर पोखरेलको मुख्यमन्त्री पद जानेछ।

दुवै पक्षका आआफ्ना रणनीति

आफ्नो नेतृत्वको सरकार जोगाउन मुख्यमन्त्री शंकर पोखरेल भेटघाट र तयारीमा जुटेका छन् भने अविश्वासको प्रस्ताव ल्याउनेले एमालेका केही सांसद जो अहिले चर्चामा आएका छैनन् उनीहरुको सहयोगमा सरकार ढाल्ने योजना बनाएर बसेका छन्। प्रदेशसभामा अहिले कायम रहेका ८१ सांसदमध्ये मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व गरेको नेकपा एमालेका ४१ सांसद छन्। बैशाख ६ गते सरकारमा सामेल जसपाका ४ जना मन्त्रीलाई संसद पदबाट हटाइएपछि अहिले जसपाका २ सांसद मात्र रहेका छन्। यद्यपि जसपाबाट मन्त्री बनेका ४ जना संसद पदमुक्त सांसद शुक्रबार सर्वोच्च गए पनि उनीहरुको रिट दर्ता भएको छैन।

लुम्बिनी प्रकरणले फुटको संघारमा जसपाः महन्थ र उपेन्द्र-बाबुरामको लडाईंमा कसले बाजी मार्ला?

सोमबार मतदान हुने समयसम्म त्यसको के निचोड आउँछ भन्ने टुंगो छैन। अविश्वासको प्रस्ताव ल्याउने नेतृत्व गरेको माओवादी केन्द्रको सभामुखसहित १८ र नेपाली कांग्रेसको १९ सांसद रहेका छन्। अहिलेको अवस्थामा कांग्रेस माओवादीलाई साथ दिने २ सांसद जसपामा छन् भने १ रहेको जनमोर्चाले अविश्वासको पक्षमा मतदान गर्ने घोषणा गरेको छ। कांग्रेस माओवादीले एमालेभित्रका केही सांसद र जसपाका सांसदले अविश्वासको पक्षमा मत हाल्ने अपेक्षासहित अगाडि बढेका छन्।

सबै सांसदलाई एक बनाउने एमालेको रणनीति

विशेष अधिवेशनको पूर्वसन्ध्यामा बिहान ८ बजे नेकपा एमाले संसदीय दलले आफ्नो बैठक डाकेको छ। प्रमुख सचेतक भूमिश्वर ढकालले आइतबार बिहान बस्ने बैठकले पार्टीका सबै नेताहरू एक हुनेगरी नयाँ सन्देश दिने र अहिलेसम्म प्रदेशसभाका कुनै पनि सांसद कतै नगएकाले सबै एक ठाउँमा उभिएर प्रस्तावको फेस गर्ने जानकारी दिए। कर्णालीमा जस्तै एमालेका केही सांसदले फ्लोर क्रस गर्नसक्ने हल्ला चलेपछि उनले लुम्बिनीमा त्यस्तो कुनै पनि सम्भावना नरहेको जानकारी दिए।

एमालेका सांसद चोर्ने कांग्रेस-माओवादीको योजना

अविश्वासको प्रस्ताव लैजाने कांग्रेसमाओवादीले एमालेबाट केही सांसद चोरेर अविश्वासको पक्षमा मतदान गराउने रणनीतिमा लागेका छन्। शनिबार पनि एमालेमा मुख्यमन्त्री शंकर पोखरेलसँग अनसन्तुष्ट रहेका केही सांसदहरुलाई यो पक्षले विशेष आग्रह गरेको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक पकरुद्दिन खानले अहिलेको अवस्थामा एमालेको स्पष्ट बहुमत देखिएकाले अविश्वासको मत पारि गराउन चोर्नुको कुनै विकल्प नरहेको प्रतिक्रिया दिए।

उनले भने - एमालेसँग प्रष्ट बहुमत छ, उहाँहरुको असन्तुष्टिमा खेल्ने हो तर निकै चुनौती छ, आफ्नो भविश्य बिगारेर कोही आउला जस्तो छैन, प्रताव पास गर्न समस्या देख्छु तर राजनीतिमा केही संभावना हुन्छन्।’ तर १ जना एमालेका सांसदले फ्लोर क्रस गरेमा मुख्यमन्त्री पोखरेलविरुद्धको प्रस्ताव पास हुनेछ र सरकार ढल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell