PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तीन घण्टामा तीन फ्लाइट : सुन तस्करको नेटवर्कभित्र परेका वैदेशिक रोजगारमा गएका ५ युवा करिब डेढ किलो सुनसहित समातिए



पहिलोपोस्ट

तीन घण्टामा तीन फ्लाइट : सुन तस्करको नेटवर्कभित्र परेका वैदेशिक रोजगारमा गएका ५ युवा करिब डेढ किलो सुनसहित समातिए

काठमाडौं : करिब डेढ किलो अवैध तरिकाबाट ल्याएको सुनसहित प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ९७ ग्राम सुनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूले टर्च लाइट र स्पिकरको भित्र पट्टी सुन राखेर ल्याएका थिए। यसअघि पनि विमानस्थलबाट राइस कुकर, पङ्खा, सुटकेस इत्यादि उपकरणभित्र सुन राखेर अवैध तरिकाले ल्याउने गरेको पाइएको थियो।

'सबै जना वैदेशिक रोजगारीमा गएर फर्किएका हुन्। उनीहरूले टर्च लाइटभित्र सुन राखेर ल्याएका थिए,' विमानस्थलका सुरक्षा प्रमुख एसएसपी राजेश बास्तोलाले भने।

पक्राउ पर्नेहरूमा सुमित तामाङ, जनक खड्का, यमलाल खनाल, राजु विक र धनबहादुर तामाङ रहेका छन्। उनीहरू सोमबार बिहान विभिन्न फ्लाइटबाट विमानस्थलमा ओर्लिएका हुन्। सुन तस्करले उनीहरूलाई भरिया बनाएर विदेशबाट सुन पठाएको खुलेको छ।

सुन तस्करीको नेटवर्कभित्र वैदेशिक रोजगारमा गएका युवा

नुवाकोट घर भएका सुमित हिमालयन एयर लाइन्सबाट सवा ११ बजे विमानस्थल ओर्लिएका थिए। उनको साथबाट प्रहरीले २ सय २० ग्राम सुन फेला पारेको हो। सोही विमानबाट आएका नुवाकोटका धनबहादुर  तामाङको साथबाट  २ सय ४९ ग्राम सुन फेला परेको प्रहरीले जानकारी दिएको छ। दुबईबाट नेपाल एयरलाइन्सको विमानमा आएका राजु विकको साथबाट प्रहरीले २ सय ग्राम सुन फेला परेको थियो।

प्युठानका यमलाल सवा ८ बजे एयर अरेबियाबाट काठमाडौं ओर्लिएका थिए। उनको साथबाट ३ सय ४९ ग्राम सुन फेला परेको हो। त्यस्तै सोही विमानबाट आएका जनक खड्काको साथबाट ३ सय ४९ ग्राम सुन भेटिएको हो। यसरी तीन घण्टा भित्र तीन वटा फ्लाइटमा आएका पाँच जनाको साथबाट करिब डेढ किलो अबैध सुन फेला परेको हो।

यसरी सानो परिणाममा सुन ल्याउनेहरूमा सुन तस्करले वैदेशिक रोजगारीमा गएका युवाहरूलाई पासोमा पार्ने गरेका देखिन्छ। केही रकम र टिकटको लोभ देखाएर विदेशबाट सामान भन्दै उनीहरूले सुन समेत पठाउने गरेको देखिन्छ।

तस्करहरूले सानो परिमाणमा वैदेशिक रोजगारमा गएका युवालाई भरिया बनाएर सुन पठाउने गरेका छन्। यसरी ५० ग्राम सुन विदेशबाट ल्याएर नेपालमा बिक्री गर्दा २० देखि ३० हजार रुपैयाँसम्म नाफा हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell