PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अब टोलटोलमा आइसोलेसन सेन्टर आवश्यक : गुठीघरमा अक्सिजन र बेड राखेको च्यालसबाट सिक्ने कि?  



पहिलोपोस्ट

अब टोलटोलमा आइसोलेसन सेन्टर आवश्यक : गुठीघरमा अक्सिजन र बेड राखेको च्यालसबाट सिक्ने कि?  

काठमाडौं: वैशाख १७ गते सरकारले केही जिल्लामा कोरोना संक्रमितलाई अस्पतालमा शय्या दिन नसकिने अवस्था आएको भन्दै उपचारबाट हात उठायो। 'स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरि संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ' उल्लेख भएको स्वास्थ्य मन्त्रालयको पत्रमा सरकार महामारीसँग जुध्न र नागरिकको जीवन रक्षा गर्न पूर्व तयारी नभएको स्पष्ट भयो।

सोमबार देशभर हालसम्मकै धेरै कोरोना संक्रमित पहिचान भए। परीक्षण बढ्दै जाने हो भने यो रेकर्ड आउने दिनहरुमा तोडिँदै जानेछ। यस पटकको संक्रमण पहिलाको जस्तो छैन। एक जनालाई संक्रमण देखिँदा पूरै परिवारमा फैलिने गरेको पाइएको छ। साथै पहिलाभन्दा भाइरसले आफूलाई परिष्कृत र बलियो बनाउँदा संक्रमित निकै कमजोर बन्ने गरेका छन्। धेरै संक्रमितलाई अक्सिजनको आवश्यकता परेको छ। आइसियू र भेन्टिलेटरको माग पनि बढ्दो छ। तर, काठमाडौंमै संक्रमितको लागि यथेस्ट पुग्ने गरी स्वास्थ्य संरचना छैन। बाहिरको अवस्था झनै भयावह छ। अस्पतालमा बेड पाउन दुई-चार दिन धाउन बाध्य छन् संक्रमितका आपन्त। निजी अस्पतालमा सबैको पहुँच छैन। सरकारीमा बेड खाली छैन। जानु कहाँ?

सरकारले हात उठाएपछि अहिले 'आफ्नो सुरक्षा आफैं गरौं, सरकारको भर नपरौं' भन्ने अवस्थामा पुगिसकेका छन् नागरिकहरु। यसका लागि स्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प छैन। तर, यसो भन्दैमा संक्रमितहरुको लागि केही गर्नै नसक्ने हो त?

ललितपुरको च्यासलमा अहिले गुठीघरमा बनेको आइसोलेसन सेन्टर चर्चामा छ। सरकारले चाह्यो भने आइसोलेसन सेन्टर बनाउन अहिले नै सक्छ। तर सरकारले गर्ने इच्छा नै नदेखाएपछि च्यासलबासीले सांस्कृतिक र सामुदायिक कार्य हुँदै आएको घरलाई आइसोलेसन सेन्टरमा रुपान्तरण गरेका छन्। अक्सिजन, बेड र औषधिको सुविधासहित।

च्यासल मंका खल: का अध्यक्ष श्याम ब्यञ्जनकार संक्रमणको जोखिम बढेकोले समुदाय नै उठ्नुपरेको बताउँछन्। 'अस्पतालमा बेड छैन भन्ने खबर आएपछि हामीले आफैं मिलेर अक्सिजन, बेड र औषधिको व्यवस्था गर्‍यौं' उनले भने।

एक संक्रमितको लागि अस्पताल खोज्दा खोज्दै नपाएपछि आउने दिनमा गाह्रो पर्न सक्ने बुझेर टोलका चिकित्सक, स्वास्थ्यकर्मी र क्लबहरुसँग संवाद गरेर आइसोलेसन सेन्टर निर्माण गरिएको उनले बताए।

अहिले काठमाडौंमा मात्रै नभइ धेरै संक्रमित रहेको स्थानका अस्पतालमा बिरामीलाई बेडको अभाव छ। त्यसैले च्यासलमा जस्तै समुदाय नै मिलेर उपलब्ध जनशक्ति मिलेर सानो संख्यामा भएपनि आइसोलेसन सेन्टर निर्माण गर्न सके केही राहत मिल्ने उनी बताउँछन्।

च्यासलको क्लब हाउसमा बनेको यो आइसोलेसन सेन्टरमा अहिले संक्रमित भने छैन। टोलमा एक जना संक्रमित भए पनि केही समयअघि संक्रमण मुक्त भएकोले अहिले खतरा छैन। तर आउने दिनमा संक्रमणको जोखिम हुँदैन भन्ने पनि होइन। त्यसैले आइसोलेसन सेन्टर बनाउन आफूहरु लागेको बताउँछिन् डा. समिरा ब्यञ्जनकार।

युएस बंगला विमान दुर्घटनामा बाँच्न सफल उनी अस्पतालमा समय दिएर बचेको समय आइसोलेसन सेन्टरमा दिने तयारीमा छिन्। अब समुदायस्तरमा नै यस्तो आइसोलेसन सेन्टर निर्माण गर्न सके जोखिमको अवस्था कम हुने उनी बताउँछिन्।

भन्छिन्, ' हामीले यो काम सुरु गरेको करिब १० दिन जति भयो। अझै सामान जुटाइरहेका छौं। टोलटोलमा रहेका पार्टी प्यालेस, सामुदायिक भवनमा हामीले यसरी नै आइसोलेसन सेन्टर बनाउन सक्यौं भने राम्रो हुन्छ। हामीले अरुलाई बुझाउन खोजेको पनि यही हो'

उनीसहित च्यासलमै रहेका चिकित्सक र नर्सहरुले समेत आइसोलेसन सेन्टरमा सेवा दिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell