PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ओलीका कदमलाई काउण्टर दिन के छ गठबन्धनको तयारी?



प्रकाश भण्डारी

ओलीका कदमलाई काउण्टर दिन के छ गठबन्धनको तयारी?

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफू इतरको गठबन्धनलाई कमजोर बनाउन एक पछि अर्को कदम चाल्दा इतरका नेताहरु पनि ओलीविरुद्ध कदमको तयारीमा जुटेका छन्। त्यसका लागि एमालेभित्रकै असन्तुष्ट समूहको 'मुभ'मा निर्भर हुने गठबन्धनका नेताहरुले बताएका छन्। ओलीले वैशाख २७ गते विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने तयारी गरेका छन्। तर त्यसका लागि ओलीले एमालेको असन्तुष्ट समूह वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई विश्वासमा लिएका छैनन्।

नेपाल समूहका नेताहरुका अनुसार पछिल्लो समय नेपाल र ओलीबीच संवाद समेत भएको छैन्। पार्टीमै विश्वासको वातावरण नबनाएरै संसदमा विश्वासको मत माग्नु धराप हुने नेपाल समूहका नेताहरुको दाबी छ।

के गर्छन् माधव नेपाल?

ओलीले नेपाल समूहले अडान लिँदै आएको एकता अघिको नवौं महाधिवेशनको केन्द्रीय कमिटीको बैठक बोलाएर छलफल गरेमा नेपाल-खनाल समूहका सांसदले विश्वासको मत दिनेछन्।

विश्वासको मत लिने निर्णय नेपाल समूहसँगको छलफलबिनै भएकोले ‌ओलीले नेपाललाई सहमत गराएर संसदमा प्रस्तुत हुने सम्भावना कम रहेको नेपाल निकट नेताहरुको भनाई छ। नेपाल समूहमा समूहमा ३८ सांसद छन्। नेपाल समूहका सांसद जीवनराम श्रेष्ठले ओलीले संवादको वातावरण बनाए विश्वासको मत आफ्नो समूहका सांसदले  दिने बताए। तर, हालसम्म त्यसको सम्भावना नभएको श्रेष्ठको भनाई छ।

'पार्टीकै पक्षमा मत हान्ने हो। तर त्यसका लागि नेताहरुसँग कुराकानी छलफल हुनुपर्‍यो। हालसम्म त्यसका लागि पहल पनि भएको छैन। अहिले नै यस्तो हुन्छ भन्ने अवस्था छैन। अझै केही दिन बाँकी छ त्यो बेलासम्म परिस्थिति बदलिन पनि सक्छ,' उनले भने।

तर, ओली समूहले भने नेपाल समूहसँग संवाद नभएको भन्ने भनाइलाई अस्वीकार गरेको छ। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले विश्वासको मतका लागि विभिन्न तहमा नेपाल समूहसँग संवाद भइरहेको दाबी गरेका छन्।

'विभिन्न तहमा संवाद भइरहेका छन्। अध्यक्षसँग भएको माधव नेपालको एक्लै वार्तापछि पनि संवाद भएका छन्,' उनले भने।

नेपाल समूहले कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गरेर नेकपा (माओवादी केन्द्र) का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गरेको थियो। उक्त घटनाबाट झस्किएको ओली समूहले नेपाल समूहका संघीय संसदका २७ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो। ओलीले नेपालसहितका नेताहरुलाई सांसद पदबाटै हटाउने तयारी गरे पनि उनी निकट नेताहरुले भने तत्काल सांसदबाट हटाउन नहुने मत राखेपछि ओली पछि हटेका थिए। ओलीले आफ्नो विरुद्धको गठबन्धनमा लागेका दल र तिनका नेतालाई केन्द्रदेखि प्रदेशसम्मै कमजोर पार्ने रणनीति अघि सारेका छन्। ओलीले सोमबार मात्रै सुदूरपश्चिम र गण्डकी प्रदेशका माओवादी निकट प्रदेश प्रमुखलाई हटाएका छन् भने आफू निकट नेताहरुलाई नियुक्ति दिएका छन्।

विश्वास प्राप्त नगरे चुनाव!

ओली निकट नेता नेम्वाङले प्रधानमन्त्रीले विश्वासको मत नपाए चुनावमा जाने नजानेबारे निर्णय हुने बताएका छन्। उनले अहिले नै चुनावमा जानेबारे कुनै निर्णय नभएको भए पनि मतपरिणाममा भर पर्ने बताए। 'विश्वासको मतको परिणाम के हुन्छ भन्नेमा भरपर्छ। अरु पार्टीको बारेमा अरुले निर्णय गर्नुहुन्छ होला तर हाम्रो हकमा अध्यक्षको विश्वास छ पार्टी एक भएर मतदान गर्छ,' उनले भने।

विश्वासको मत लिनुको अर्थ पार्टीलाई एकता भएको सन्देश दिनु पनि भएको नेम्वाङको भनाई छ। आफ्नै पार्टी विभाजन भएको भन्दै प्रधानमन्त्रीलाई नैतिक संकटमा पार्न खोजेपछि एकता कायमै रहेको देखाउन ओलीले विश्वासको मत लिन लागेको उनले बताए।

'साथीहरुले आफ्नै पार्टी एकजुट छैन् भनेर प्रश्न उठाइदिए। त्यसैले हामी एक ढिक्का छौं भनेर देखाउन पनि विश्वासको मत लिन लागिएको हो,' उनले भने।

माओवादी दाबी अब 'एक्सन'मै जाने

माओवादी केन्द्रले हाल ओलीको गतिविधिलाई असंवैधानिक भन्दै चर्को आलोचना गरिरहेको छ। लुम्बिनी प्रदेशमा ओली निकट नेता शंकर पोखरेलको मुख्यमन्त्री पद बचाउन असंवैधानिक कदम चालेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार नै विज्ञप्ति जारी गरेर विरोध जनाएका थिए। ओलीले विश्वासको मत लिन लागेपछि माओवादीले आफ्नो पार्टीको रणनीति बनाउन सोमबार बैठक बस्ने तयारी गरेको भए पनि वैठक भने बस्न सकेन।

प्रचण्ड निकट नेताहरुका अनुसार नेपाली कांग्रेस, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव समूहका नेताले सोमबार अनौपचारिक छलफल गरेका थिए। तीन दलले अब नयाँ रणनीति बनाउने माओवादी केन्द्रका नेताहरुले बताएका छन्। स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले विश्वासको मत लिनेबारे पार्टीले नयाँ रणनीति बनाउने बताए।

'बैठक बस्छ त्यसपछि के गर्ने? कसरी अगाडि बढने भन्ने कुरा हुन्छ। अहिले अनौपचारिक रुपमा कुराकानी भइरहेका छन्, 'उनले भने।

नेताहरुबीच सोमबार भएको अनौपचारिक छलफलमा परिस्थिति गम्भीर भइसकेकाले अब एक्सनमै जानुपर्ने माओवादीले धारणा राखेको प्रचण्ड निकट स्रोतले बताएको छ। तर, ओलीका विरुद्ध एक जुट भएर कसरी अगाडि बढ्ने भन्नेबारेमा भने गठबन्धन निष्कर्षमा पुगि नसकेको माओवादीका नेताहरुले बताएका छन्।

'लोकतान्त्रिक शक्ति मुख्यगरी हिजो र आजका घटनाबाट अब एक्सनमै जाने भन्ने तयारी भएको छ। सुरुमा शेरबहादुर देउवा तयार हुन भएन। अहिले उहाँले पनि एक खालको बुझाइ बनाइ सक्नुभएको छ,' स्रोतले भन्यो।

माओवादीले ओलीले विश्वासको मत लिँदा असफल पार्ने र नयाँ धुवीकरण गर्ने तयारी गरेको छ। स्थायी कमिटी सदस्य गणेश साहले धुवीकरणको प्रयास थप बलियो बन्दै गएको बताए। उनले ओलीविरुद्ध ओली इतर समूह एक हुने वातावरण अब बनि सकेको बताए।

'अब पनि बनेन भने कहिले बन्छ? अहिले के भइरहेको छ भने ओली बाहिरका शक्ति एक हुने प्रयास छ,' उनले भने। माओवादी केन्द्रले ओलीले विशेष अधिवेशन बोलाएर विश्वासको मत लिन लाग्नु अलोकतान्त्रिक भएको बताएको छ। आफूले सरकारलाई दिएको समर्थन रणनीतिक रुपमा मात्रै फिर्ता नलिएको बताइरहेको माओवादीले अब ओलीलाई रोक्न सम्भव भएका सबै उपाय लगाउने बताउँदै आएको छ। ओलीलालाई जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतोको समूहले विश्वासको मत दिने बताउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell