पोखरा : गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेलगत्तै दिएको अभिव्यक्तिप्रति तीन दलका नेताले ध्यानाकर्षण जनाएका छन्। बुधवार प्रेस वक्तव्य जारी गर्दै नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेपाली कांग्रेसले प्रमुख पदको मर्यादाविपरीत अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्।
कृष्णचन्द्र नेपाली पोखरेल, हरिबहादुर चुमान र धनमाया पोखरेलद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ, ‘माननीय प्रदेश प्रमुखज्युले नियम, कानुन ऐनको परिधिभित्र अविश्वासको प्रस्ताव निष्क्रिय भएको भनेर दिनुभएको अभिव्यक्ति अत्यन्त भ्रामक, अराजक, आपत्तिजनक र प्रदेश प्रमुख जस्तो पदको मर्यादाविपरीत छ।’
वक्तव्यमा प्रदेश प्रमुखबाट आएको अभिव्यक्ति अस्वभाविक भएको उल्लेख छ।
‘प्रतिपक्षको संवैधानिक कार्यबाट अत्तालिएर सत्ता पक्षको पक्षपोषण हुने गरी आएको अभिव्यक्ति अस्वभाविक र आपत्तिजनक छ। संविधानको कुन धारा उपधाराले, ऐनको कुन उफदफाले वा नियमावलीको कुन नियमले अविश्वासको प्रस्ताव निष्क्रिय हुने हो। माननीय प्रदेश प्रमुखज्युबाट अविश्वास प्रस्तावको प्रस्तावकहरुलाई मार्गदर्शन हुने नै छ,’ जारी वक्तव्यमा उल्लेख छ।
सम्बन्धित समाचार :
प्रदेशसभा लथालिंग पारेको आरोप लगाउँदै गण्डकीमा प्रदेश प्रमुखले मागिन् सभामुखको राजीनामा

