PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नरम महन्थलाई नै काउन्टर दिने गरी आक्रमक उपेन्द्र : तराई देख्ने बित्तिकै बिहार सम्झिने?



पहिलोपोस्ट

नरम महन्थलाई नै काउन्टर दिने गरी आक्रमक उपेन्द्र : तराई देख्ने बित्तिकै बिहार सम्झिने?
फाइल फोटो

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा मिटिङमा 'संसद हटाइदिउँ' भनेको बताएका छन्। 'एउटा मिटिङमा प्रमले संसद हटाइदिउँ भन्नुभएको थियो,' उनले ओलीलाई उदृत गर्दै भने, 'जुन सदनमा प्रमलाई विश्वास छैन् त्यो सदनले उहाँलाई कसरी विश्वासको मत दिने?'

उनले सरकारको ध्यान कोरोना नियन्त्रणमा हुनुपर्ने उल्लेख गर्दै त्यतातिर नरहेको आरोप लगाए।  'कोरोना नियन्त्रमा जानुपर्ने अहिलेको आवश्यकता होइन? बिरामी बेड र औषधि नपाएर मरिरहेको छ,' उनले भने। जुन सदनलाई असंवैधानिक तरिकाले विघटन गरेका थिए त्यहीँ विश्वासको मत मागेको उल्लेख गरे।  

उनले विश्व स्वास्थ्य संगठनले एक वर्षअघि नै चेतावनी दिएको सुनाउँदै कोरोना नियन्त्रणमा सरकारले केही नगरेको आरोप लगाए।

'अस्पतालमा बरण्डामा मरिरहेका छन् । कोभिड महामारीतर्फ ध्यान दिनुपर्थ्यो । तर, ध्यान कहाँ गयो? अयोध्यातर्फ। चितवनमा अयोध्या स्थापना गर्नतर्फ। रथयात्रा तर्फ । त्यसले कोरोना ठीक हुन्छ?,' उनले प्रश्न गरे, 'सहमति हामीसँग गर्नुभयो । कार्यान्वयनका बेला विश्वासघात गर्नुभयो। धोका दिनुभयो। कसरी विश्वास गर्ने?' 

मधेस मुस्लिम, जनजाति दलित थारुका राष्ट्रिय समस्यालाई समाधान गर्ने प्रयास तीन वर्षमा नभएको उनको दावी थियो। 'अहिले अलिअलि मधेशलाई फकाउन खोजेको देखिन्छ। तराई देख्ने बित्तिकै बिहार सम्झिने?,' उनले भने, 'मधेशमा आन्दोलन हुँदा, गोली चल्दा प्रधानमन्त्री कहाँ थिए? त्यो बेला तपाईँको अभिव्यक्ति के थियो - दुई चार वटा आप झरे। अहिले त्यहीँ आप खुवाउनुहुन्छ?' 

यादवले करौडौं कमिसनका कारणले खोप नआएको बताए। 'स्वास्थ्यमन्त्री यहीँ छन्। कसले गरेको थाहा छैन। छानविन भएको छैन। जनताको जीवनसँग खेलवाड गर्ने सरकारलाई कसले के का आधारमा विश्वास गर्ने?,' उनले प्रश्न गरे। 

'संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पाइँदैन भन्नुभएको छ। प्रदेशका अधिकार कानुन बनाएर खोस्ने काम गर्नुभयो। सबैभन्दा न्युन समावेशिता तीन वर्षमा भएको छ,' ओलीप्रति आक्रामक रुपमा उत्रिएका उनले भने, 'संघीय गणतन्त्रलाई समाप्ता पार्ने खेल भयो। के यो संविधान दानमा दिएको हो? पछि गएर समाप्त पार्नका लागि विश्वासको मत दिने हो?'

यसअघि बोलेका महन्थ ठाकुरले भने ओलीलाई मधेशको समस्या अपनत्वका साथ लिएको भन्दै धन्यवाद दिएका थिए। एकै पार्टीका दुई नेताको अभिव्यक्ति परस्पर बाझिएको छ। 

यो पनि पढ्नुस् : ओलीको मागमा महन्थको 'धन्यवाद', मत चाहिँ 'तटस्थ'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell