PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अन्तर्राष्ट्रिय मिडियामा प्रधानमन्त्री : फितलो क्राइसिस डिप्लोमेसी, मोही माग्ने ढुंग्रो लुकाउने चाल!



विधुर ढकाल

अन्तर्राष्ट्रिय मिडियामा प्रधानमन्त्री : फितलो क्राइसिस डिप्लोमेसी, मोही माग्ने ढुंग्रो लुकाउने चाल!

काठमाडौं : शनिवारमात्र अमेरिकी सञ्चार माध्यममा नेपालमा कोभिड-१९ नियन्त्रणमा रहेको दाबी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको दुई दिनपछि बेलायती पत्रिकामा लेख प्रकाशित गर्दै कोभिड-१९ को अवस्था भयावह भएको भन्दै सहयोगको अपिल गरेका छन्।

शनिवार मात्र उनले सीएनएनसँगको कुराकानीमा नेपालमा कोभिड-१९ नियन्त्रणमा रहेको बताएका थिए।

सिएनएनका पत्रकारले हाल परीक्षणको ४४ प्रतिशत परीक्षण पोजेटिभ आएको र गत महिना दैनिक १०० को हाराहारीमा रहेको कोभिड संक्रमण दिनकै ९ हजार पुगेको भन्दै प्रधानमन्त्रीसँग किन? भन्दै प्रश्न गरेका थिए। प्रधानमन्त्री ओलीले जनतामा लापारवाही बढेको र सोही कारण संक्रमण फैलिएको दाबी गर्दै सेकेन्ड वेभमा लगेको बताए।

त्यस्तै पत्रकारले अघिल्ला महिनामा चाडपर्व मनाइएको र ठूला भेलाहरु पनि कारण हुन? भनेर सोध्दा नेपालको राजनीतिक अस्थिरताका कारण विपक्षी दलहरुले सभा गर्दा संक्रमण फैलिन मद्दत पुगेको दाबी गरे। उनले राजनीतिक दलहरुले लापारवाही गरेको दाबी गर्दा आफैले गरेका सभाहरुलाई उल्लेख गरेनन्।

त्यसको दुई दिनपछि ओलीले बेलायती अखवार दी गार्डेइनमा लेख प्रकाशित गर्दै जी ७ को अध्यक्षसमेत रहेको बेलायतसँग जरुरी सहयोग गर्न अनुरोध गरेका छन्। 

'मैले यो लेख्दै गर्दा मेरो देश कोभिड -१९ पाण्डेमिकको नयाँ र क्रुर उछालसँग लडिरहेको छ। संक्रामकको संख्या बढ्दै जाँदा हाम्रा साहसी डाक्टर, नर्स, अन्य सुसार प्रधान गर्नेहरु, नागरिक स्वंमसेवकहरु र सम्पूर्ण स्वास्थ्य प्रणालीमा नै गम्भिर चुनौती थपेको छ,' गार्डेइनको अनलाइन संस्करणमा प्रकाशित उनको लेखमा भनिएको छ। उनले संक्रमितहरुलाई अस्पतालमा शय्या उपलब्ध गराउन नसक्ने अवस्था आएकोसमेत लेखेका छन्।

त्यतिमात्र होइन उनले संक्रमणको उचाई चुमिरहेको बताएका छन्। 'तीन करोड जनसंख्या भएको देशमा दैनिक ८ हजारको हाराहारीमा संक्रमण पुष्टि हुनु केही उच्च  हो। यति हुँदाहुँदै मृत्युदरलाई तल राख्न सकेका छौँ,' उनले भनेका छन्।

लेखमा आफ्नो सरकारले कोभिड-१९ को संक्रमण नियन्त्रणमा सक्दो प्रयास गरेको दाबीसमेत गरेका छन्। साथै उनले अस्पतालहरुमा अक्सिजन लगायतका सामाग्रीको सुनिश्चितताका लागि सक्दो प्रयास गरेको दाबी गरेका छन्। यति हुँदा हुँदै पनि स्रोत र पूर्वाधारहरुको अभावका कारण महामारीको भारी बोझको रुपमा परिणत हुँदै गएको उनले बताएका छन्।

'त्यसैले मैले अन्तर्राष्ट्रिय समुदायसँग जीवन जोगाउने हाम्रो प्रयासमा हामीलाई भ्याक्सिन्, डायग्नोस्टिक किट, अक्सिजन किट, महत्त्वपूर्ण हेरचाहका औषधी तथा सामाग्रीहरु सहयोग गर्न अपिल गरेको छु,' उनले लेखेका छन्, 'हाम्रो जरुरी आवश्यकता भनेको जोगाउन सकिने मृत्युलाई रोक्नु हो।'

उनले यस कठिन घडीमा बेलायतसँग आफ्नो अपेक्षा उच्च रहेकोसमेत बताएका छन्। उनले यो पाण्डेमिकले धनी र गरिब देशहरुको बीचमा रहेको विशाल खाडीलाई फेरी पनि दर्शाएको बताउँदै यो खाडललाई सबैलाई खोप तथा स्वास्थ्य सामाग्री उपलब्ध गराएर पुर्नुपर्ने बताएका छन्। जी ७ को अध्यक्ष रहेको बेलायतले नेपालका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्।

'हाम्रा शेर्पाहरु उच्च उचाईमा संघर्ष गरिरहेका आरोहीहरुसँग अक्सिजन सेयर गरेर चिनिएका छन्। आज, कोभिड-१९ ले हाम्रो देशलाई श्वासबिहिन बनाइरहेको छ। त्यसैले हामी अन्तर्राष्ट्रिय समुदायका शेर्पाहरुको खोजी गरिरहेका छौँ। हिमाल आरोहीहरुका,' उनले लेखको अन्तिममा लेखेका छन्, 'हामी हाम्रा विश्वभरी रहेका साथीहरुसँग हामीलाई तत्काल अत्यावश्यक स्वास्थ्य सामाग्री, जीवन जोगाउने औषधीहरु, खोप सहयोग गर्न याचना गरेका छौँ। यी दुई साझा चुनौतीहरु- जलवायु परिवर्तन र पाण्डेमिकका लागि एक मात्र विकल्प भनेको ऐक्यवद्धता हो। एक मात्र वाटो भनेको एक भएर लड्नु हो विश्वव्यापी परिवारको रुपमा।' 

नेपालको कुटनीति: मोही माग्ने ढुंग्रो लुकाउने!

कोभिड-१९ संक्रमण उच्च रहँदा नेपालमा परीक्षणको दायरा साँघुरो छ। परीक्षण गरिएकामध्ये हाल दैनिक औषतमा ४० प्रतिशत बढीमा संक्रमण पुष्टि भइरहेको छ। सोमवारको तथ्यांक हेर्दा कुल परीक्षणमध्ये ५०.३५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। हाल नेपालमा दैनिक सरदरमा एक हजार मानिसमा ०.५ जनाको मात्र परीक्षण भइरहेको छ। त्यही भारतमा प्रति एक हजार सरदरमा १.२७ जनाको परीक्षण भइरहेको छ।

आवर वर्ल्ड इन डाटाको तथ्यांकअनुसार नेपालमा दैनिक नेपालमा प्रति १० लाख २७९.४५ जनामा संक्रमण पुष्टि भएको छ। त्यहीँ भारतमा २८३.५० जनामा संक्रमण पुष्टि भएको छ। हालसम्मको तथ्यांकअनुसार नेपालमा कुल संक्रमित प्रति १० लाख २ हजार १२ भन्दा बढी छ। त्यही भारतमा एक हजार ९८३ छ।

परीक्षणदर कम हुँदा पनि नेपालमा भारतमा भन्दा वृद्धिदर बढी छ। सात दिन अगाडिभन्दा अहिले नेपालमा संक्रमण पुष्टिदर ६३.३ प्रतिशतले बढी हुँदा भारतमा ४.८ प्रतिशतले बढी छ।

ठूलो जनसंख्या र क्षेत्रफल भएको भारतमा संक्रमितको संख्या बढी भए पनि जनसंख्या र क्षेत्रफललाई हेर्दा हामी भारतको महामारीको संक्रमण दर भन्दा तल छैनौँ। धेरै कुरामा बढी नै छौँ। तर, भारतमा अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव बढिरहँदा नेपालमा सहयोग किन कम छ? अन्तर्राष्ट्रिय समुदायले किन नेपाललाई सहयोगको हात बढाउन अन्कनाइरहेका छन्? प्रश्न सरकारमा अडिएको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन्- 'हामी मोही माग्छौँ ढुंग्रो लुकाउँछौँ। अनी कसरी आउँछ सहयोग? सहयोग गर्छु भनेकासँग त सहयोग लिन अनेक बहाना बनाइन्छ।'

यसको उदाहरण अघिल्लो कोभिड लहरमा चीनले स्वास्थ्य सामाग्री तथा औषधीहरु अनुदान दिने भनिएको रकमबाटै पठाउँछौँ भनेर प्रस्ताव गर्दा नेपालले नमानेर खरिद गरेको थियो। त्यही खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै सरकारको आलोचना भइरहेको छ। संसदीय समितिले भ्रष्टाचार भएको निचोडसमेत निकालेको छ।

'अहिले हामीले सहयोग माग्ने बेला हो। अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्ने बेला हो,' ती अधिकारीले भने, 'देशको संक्रमणको अवस्था, हाम्रो क्षमतालाई तथ्यगत रुपमा स्पष्ट अन्तर्राष्ट्रिय समुदायसँग भन्ने हो। यस्तो बेला तथ्य लुकाएर हुँदैन्। हाम्रो स्वास्थ्य प्रणालीले नभ्याउँदा भारतमा दैनिक चार लाख बढी छ। हाम्रोमा जम्म ९ हजार भनेर बस्ने होइन। भारतको जनसंख्या एक अर्ब तीस करोड हो हाम्रो जनसंख्या जम्मा तीन करोड यो अनुपात पनि अन्तर्राष्ट्रिय समुदायलाई देखाउने बेला हामी ९ हजार देखाएर नियन्त्रणमा छ भन्छौँ भने सहयोग कसरी आउँछ?'

छिमेकी देश भारतलाई सघाउन अहिले हरेक दिनजसो ठूला देशहरुले कैयौं उडानमार्फत् स्वास्थ्य सामाग्री पठाइरहेका छन्। तर, नेपाल भने विदेशीले सहयोग गरेको सामाग्री कुन जहाजबाट लिएर आउने भन्ने अल्मलिन्छ।

अमेरिकाले भारतलाई खोप उत्पादनको लागि आवश्यक कच्चा पदार्थ र अन्य स्वास्थ्य उपकरण सहयोग गरेको छ। बेलायतबाट स्वास्थ्य उपकरण भारत पुगिसकेको छ। ईयुले पनि सहयोग गर्ने निर्णय गर्दा क्यानाडाले एक करोडको सहयोग घोषणा गरेको छ।

पाकिस्तानले समेत भारतलाई सहयोग गर्ने प्रस्ताव राखिसकेको छ। दोस्रो लहर सुरु भए पछि चीनले सहयोग गरेको  र राष्ट्रसंघले पनि भारतलाई सहयोग गर्ने प्रस्ताव गरेपनि भारतले स्वीकार गरेको छैन ।

झण्डै उस्तै नियति भोगेको नेपालमा भने अहिलेसम्म चीनले दिने २० हजार अक्सिजन सिलिण्डर र अमेरिकाले मेमा १ मा घोषणा गरेको ८५ लाख डलरबाहेकको सहयोग नेपालमा आएको छैन। चीनले दिने भनेको २० हजार अक्सिजन सिलिण्डर मध्ये चार सय मात्र मंगलवार नेपाल आइपुग्दै छ। एक साताभन्दा बढी कुन जहाजमा ल्याउने भन्नेमै नेपाल सरकार अलमलमा देखियो।

तर, कुटनीतिक रुपमा सरकारले सहयोगका लागि पहल गर्न सकेको छैन। अन्य देशले आफै चाहेर आएका सहयोगबाहेक नेपालले पहल गर्न सकेको छैन। 'प्रधानमन्त्रीज्यूले अन्तर्राष्ट्रिय मिडियामा अन्तर्वार्ता दिँदा एउटा अवसर थियो। तर, उहाँ नियन्त्रणमा छ भन्नुहुन्छ अनी सहयोग पनि माग्नुहुन्छ,' परराष्ट्रका ती अधिकारीले भने, 'नियन्त्रणमा छ भन्नेलाई किन दिन्छन्? पहिलो प्राथमिकता भनेको जहाँ नियन्त्रणमा छैन त्यहाँ दिन्छ नी।'

प्रधानमन्त्रीले मिडियामा आफ्ना धारणा राख्दै गर्दा कुटनीतिक रुपमा पनि पहल गर्नुपर्छ। तर, त्यसतर्फ सरकार चुकेको छ।

यो पनि पढ्नुस्:

कोभिड-१९ विरुद्ध लड्न फितलो 'क्राइसिस डिप्लोमेसी' : कहाँ चुक्यो नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell