PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

ओलीको रणनीतिक 'मुभ' :  ह्वीप उल्लंघन गर्नेलाई कारवाहीको साटो निलम्बन फुकुवा, वार्ताले ल्याउला एक ठाउँमा?



प्रकाश भण्डारी

ओलीको रणनीतिक 'मुभ' :  ह्वीप उल्लंघन गर्नेलाई कारवाहीको साटो निलम्बन फुकुवा, वार्ताले ल्याउला एक ठाउँमा?

काठमाडौं :  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकाएक वरिष्ठ नेता माधवकुमार नेपालप्रति नरम देखिएका छन्। उनी नरम त्यतिबेला देखिएका छन् जतिबेला गठन्धनको सरकारको दाबीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको अल्टिमेटम सकिँदै छ।

संविधानको धारा ७६(२) अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनको सरकारका लागि अन्तिम कसरत गरिरहेका छन्। यद्यपि, त्यसका लागि एमालेको माधवकुमार नेपाल समूह निर्णायक छ।

अपडेट : वार्ता सुरु: 

ओली नेपाल 'वान अन वान' भेट : सुल्झेला झगडा?

नेपाल समूहका २० जना सांसदले पदबाट राजीनामा गरे र जसपाको एक समूहले गठबन्धनलाई साथ दियो भने ओली आउट हुँदै नयाँ सरकार बन्न सक्छ। तर, त्यसअघि नै नेपाल समूहका ४ नेता माथिको निलम्बन फुकुवा भएको छ। फागुन २३ गते यता नेपाल समूहलाई पेलेरै जाने रणनीतिमा लागेका ओली संसदीय अंकगणितका कारण नेपालसँग नरम हुनुपर्ने अवस्थामा पुगेका छन्।

ओली उल्टै नरम !

नेपाल कम्युनिस्ट पार्टीको नामको विवादमाथि फैसला दिँदै सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई फागुन २३ मा पूर्ववत अवस्थामा फर्काएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मित्रता गासिरहेका नेपाललाई त्यतिबेला एमालेमा फर्कनुको विकल्प रहेन। फर्कनै लागेका नेपाललाई ओलीले भने स्वीकार गरेनन्।

बरु उनले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफूलाई बहुमतले पेलेको भन्दै बदल लिने रणनीति अख्तियार गरे। उक्त रणनीति अनुसार नै फागुन २८ गते नेपाल समूहलाई खबर नगरी ओलीले केन्द्रीय कमिटीको बैठक डाके। त्यसयताका बैठकहरु नेपाल समूह विना नै बसे र धमाधम निर्णयहरु गरिरहे।

यतिसम्म कि नेपाल समूहका नेताहरुलाई निलम्बन सम्मको निर्णय ओली समूहको एकल बैठकले गरेको थियो। तर, बिहीवार 'अफेन्सिभ' रुपमा उत्रिरहेका ओलीले 'यु' टर्न हुँदै 'डिफेन्सिभ' मुभ निकालिरहेका छन्। बालुवाटारमा आफ्नो समूहको स्थायी कमिटी बैठक राखेर नेपाल समूहका नेतालाई कारवाही गर्ने निर्णयबाट पछिमात्रै हटेका छैनन्, उनले २०७५ जेठ २ मा फर्कन सक्ने पनि संकेत गरेका छन्। बालुवाटार बैठकले गरेको निर्णयको दोस्रो बुँदामा 'विगतका सबै कुरा बिर्सिएर' कारवाही फुकुवा गरिएको उल्लेख छ। जुन बुँदामा नेपाल समूहका माग सम्बोधनका लागि संकेत गरिएको छ।

'पार्टी एकताको रक्षाको लागि विगतका सबै कुरा बिर्सिएर अगाडि बढ्ने र यस प्रयोजनका लागि माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई निलम्बन कारवाही फुकुवा गर्ने,' उल्लेख गरिएको छ।

२०७५ जेठ २ अघिको नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई मान्यता दिनुपर्ने नेपाल समूहको माग रहँदै आएको छ। ओलीलाई बहिस्कार गर्ने नीति लिएको नेपाल समूहले प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिँदा पार्टीको ह्वीप उल्लंघन गर्‍यो। र, मतको प्रकृया बहिस्कार गर्‍यो। यसअघि पार्टी विरोधी गतिविधि गरेको भन्दै ४ नेतालाई कारवाही र २५ सांसदलाई स्पष्टिकरण सोधिएको थियो।

ओली समूहका नेताहरुले ह्वीप उल्लंघन गरेकोमा नेपाल समूहलाई कारवाही हुने ओली र उनी निकटतम नेताहरुले बताउँदै आएका थिए। तर,गठबन्धनको सरकार बन्ने र नेपाल समूहले राजीनामा गर्ने पक्कापक्की भएपछि ओली एक कदम पछि हटेका छन्। ओली समूहका नेता तथा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले तत्काल ओली नेपाल वार्ता हुने बताए। उनले त्यसका लागि ओलीले नै फोन गरेर नेपाललाई निम्तो दिएको जानकारी दिए।

ओली किन भए ब्याक?

नेपालप्रति आक्रामक देखिएका ओली पछिल्लो केही समय यता भने नरम रुपमा प्रस्तुत भइरहेका देखिन्छ। दोस्रो तहका नेता मार्फत् नेपालसँग सवांदमा रहेका ओलीले नेपाललाई फकाउने र घुर्काउने रणनीति एकसाथ अगाडि बढाएका छन्। संसदमा विश्वासको मत लिने दिन सोमवार अन्तिम अवस्थामा नेपाललाई ओली समूहका दोस्रो तहका नेताले राजीनामा दिन रोकेका थिए।

ओली समूहभित्र उप-प्रधानमन्त्री ईश्वर पोखरेल बाहेकका नेताले वैशाख १० गतेको बालुवाटारमा बसेको बैठकमा नेपाल समूहलाई मिलाएर लैजानुपर्ने धारणा राखेका थिए। ओलीले नेपाल सहितका ३० सांसदलाई कारवाहीका लागि तयारी गरेको भए पनि दोस्रो तहका नेताहरुले उनलाई रोकेका थिए।

आइतवार ओली समूहका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेलसँगको वार्तामा नेपालले नयाँ पार्टी बनाउने सन्देश दिएका थिए। नेपालको उक्त सन्देशले ओली एक कदम पछि हट्न बाध्य भएको ओली निकट स्रोतले बताएको छ। 'पार्टी पूरै विभाजित हुने र संसदमा पनि बहुमत गुम्दा एमालेलाई घाटा हुने भएपछि पछि हटेर भए पनि एकताको पहल गर्ने कुरा भएको थियो,' स्रोतले भन्यो।

आफ्नै नेताको दवावमा नेपाल

ओली र नेपाल दुवै समूहमा मध्यमार्गी नेताहरु पनि छन्। तिनैले नेकपा एमाले विवाद मिलाउन लगातार संवाद गरिरहेका छन्। उनीहरुकै सक्रियताका कारण चैत २ गते पार्टी कार्यालयमा तथा वैसाख ८ र ९ गते मेरियट होटलमा वार्ता भएको थियो।

नेपाल समूहका नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतले एमालेभित्रै बसेर आफ्ना माग सम्बोधन गराउनुपर्ने भन्दै नेपाललाई दबाव दिँदै आएका छन्। दोस्रो तहका नेताहरुले एमाले छाडेर नयाँ पार्टी गठनमा नलाग्ने र सामूहिक राजीनामा नगर्ने अडान लिँदै आएका छन्।

उनीहरुको दबावका कारण नेपाल निर्णय विहीन बन्दै आएका थिए। बिहीवार पनि वार्ताका लागि पहल भइरहेकाले सामूहिक राजीनामाका लागि नेपाल समूहले साढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ। यसबिचमा ओली-नेपाल वार्ता हुने र उक्त वार्ता निर्णायक हुने बताइएको छ।

यद्यपि, नेपाल समूहले राजीनामा भने तयारी अवस्थामा राखेको छ। नेपाल समूहका सांसद जीवनराम श्रेष्ठले सोमवार नै राजीनामाको निर्णय भएकाले त्यो जतिखेर पनि अघि बढ्न सक्ने बताए।

'हामीले वार्ताका लागि पहल पनि गरिरहेका छौं भने अर्कातिर राजीनामा पनि ठिक्क अवस्थामा छ। कुरा मिलेन भने त राजीनामा भइहाल्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell