देश लकडाउनमा थियो। हिँड्दै काठमाडौं छाडेर गाउँतिर जानेको घुइँचो बढ्दो। संक्रमणको अवस्था यति भयावहपूर्ण त थिएन। तर, के होला भन्ने त्रास चाहिँ उत्पात। जनता घरभित्र थुनिँदा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसै बेला रचेका थिए एउटा कविता। मे १ मा सार्वजनिक गरिएको कवितामा लेखिएको थियो -
'अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुटाउनु पर्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
नेपाली मर्न पर्दैन'
लकडाउन सुरु भएको एक महिना कटिसक्दा पनि राज्यले नरहेको भन्दै नागरिक लाखापाखा लाग्दै थिए। विदेशमा श्रम गर्न पुगेका धेरै नेपालीहरु बिचल्लीमा रोइरहेका थिए। ओली मे २ मा भने ओलीले कविता लेखेर जनतालाई देशमै रोजगारको आश्वासन दिए -
'स्वदेशमै रोजगार
स्वेदेशमै बास
रोजिँदैन प्रवास
अब गर्ने देश विकास'
कोरोनाको त्राससँग जुधिरहेको बेला ओलीले लेखका कविता 'चुनावी नारा' भन्दा कम थिएनन्। सुन्दा 'आह!' लाग्ने तर यही शैलीले पूरा कहिल्यै नहुने। त्यसैले त प्रधानमन्त्रीले लेखेका यी कविता 'ग्राउन्ड रियालिटी' भन्दा फरक रहे।
प्रधानमन्त्री ओलीले अब नेपाली मर्न पर्दैन र आँसु खसाउन नपर्ने दाबी गरेको १५ दिनपछि देशमा पहिलो कोरोना भाइरस संक्रमितको मृत्यु भएको पुष्टि भयो। गत वर्षको जेठ ३ अर्थात् आजैका दिन।
मृतक थिइन् –सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा ९ की एक महिला।
२०७७ साल जेठ २ गते सरकारले सदनमा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। ओलीको कविताको भाव यो नीति तथा कार्यक्रममा पनि अटाएको थियो। कोभिड १९ महामारी बिच लकडाउनको समयमा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले नेपाललाई कोभिड १९ मुक्त बनाउँदै संक्रमणबाट नागरिकको ज्यान जान नदिने प्राथमिकता राखेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको मेहनतका कारण कोरोना संक्रमणले नेपालमा मृत्यु कसैको नभएको भाषण गरिन्। तर, नीति तथा कार्यक्रम प्रस्तुत गरेको भोलिपल्ट नै कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु भएको घोषणा भयो।
यद्यपि, सरकारले आफ्नो ‘जिरो डेथ’ नीति सुनाउनुअघि नै उनको मृत्यु भइसकेको थियो। जेठ १ गते मृत्यु भएकी महिलामा तीन दिनपछिमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। श्वासप्रस्वासमा समस्या देखिएर धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो उनको। अस्पतालले महिलाको स्वाब परीक्षण गर्दा उनमा कोभिड १९ पोजेटिभ देखिएको थियो। उनमा संक्रमण कसरी भयो? खुल्न सकेन।
कोरोना संक्रमणका कारण पहिलो मृत्यु भएको आज (जेठ ३) एक वर्ष पूरा भएको छ। देशलाई 'कोरोना संक्रमण मुक्त बनाउने र जिरो डेथ' रणनीति नारामै सीमित हुँदा आजसम्म कोरोना संक्रमणका कारण ५ हजार २१५ जनाको मृत्यु भएको छ।
तर 'अब नेपाली मर्न पर्दैन' भन्ने प्रधानमन्त्री ओली यी तथ्यांकसँग बेखबर जस्तै देखिन्छन्- पहिलो लहरमा झैं।
लकडाउन बिच कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भइसक्दा राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरुले कोरोनाका कारण मृत्यु भएको भनिएकाहरुको मृत्यु ‘कोरोनाकै कारण नभएको’ ठोकुवा गरेका थिए। सायद् आफ्नो कविताबाट प्रेरित भएका थिए उनी।
उनले भनेका थिए - 'अहिले मर्यो भनेको कोरोनाले छोएपछि मरेकोलाई कोरोनाले मरेको नै मान्नुपर्छ भन्ने विश्व स्वास्थ्य संगठनको मापदण्डको कारणले मात्रै कोरोनाले भनेको हो। वास्तवमा कोरोनाले बितेका होइन। बितेको अरु कारणले हो। अरु कम्प्लिकेसनले हो। कोरोना विमारीले भएको होइन त्यस्तो।'
त्यसबेलामा कोरोना संक्रमितमा लक्षण देखिएको थिएन। न त मृतकहरुमा नै संक्रमणको कुनै लक्षण देखिएको थियो। तर, मृतकको संख्या बढ्दै गए पनि प्रधानमन्त्री ओलीले भन्न छाडेनन्, ‘मृत्यु कोरोनाका कारण भएको होइन।’
बरु कोरोनालाई सामान्य रुघाखोकीको संज्ञा दिएर ‘हाच्छिउँ साच्छिउँ’ गर्दा कोरोना नै हराउने गलत ज्ञान बाढिरहे उनले। तातोपानी खाएर कोरोना उडाउनुपर्छ भनिरहे। तातोपानी र आयुर्वेदिक औषधि र नेपालीको रोग प्रतिरोधात्मक क्षमताको बखान गर्दै बसे। अहिले पनि गर्दैछन्। प्रतिनिधिसभामा उनले 'नेपालीको इम्युनिटी पावर बलियो छ' भन्दै दावी पेश गरका थिए। 'त्यो कसले कुन अध्ययनका आधारमा भनेको' भन्दै सांसद गगन थापाले प्रश्न गर्दा ओलीले जवाफ फर्काएका थिए - मैले भनेको। भर्खरै। ओलीको 'मुखाले जवाफ' लगत्तै सत्तारुढ दलका सांसदहरुले टेबुल ठोकेका थिए। त्यसरी टेबुल ठोक्नेहरुमा अहिलेका स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी पनि थिए।
तर, ५ हजार मानिसको ज्यान गुमिसकेपछि भने आफूले सोचेको भन्दा तीव्र गतिमा फैलिएको ओलीले स्वीकार गरेका छन्। प्रधानमन्त्री भनेका छन् : नेपालीहरुको इम्युनिटी पावर बलियो छ। कोरोना अलि अलि सर्छ होला भन्ने सोचेको थिएँ तर यसरी वृद्धि हुन्छ भनेर सोचेको थिइँन। दु:खद् यो हो कि ओलीले गल्ती बोलेको स्वीकार्न ५ हजार नेपालीको ज्यान गुमाउनु पर्यो।
यद्यपि, प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा उनले अझै कोरोनालाई हल्का रुपमा लिइरहेको अनुभूति हुन्छ। वास्तवमा कोरोना थप बलियो भइरहेको छ, देशका नागरिकहरु चाहिँ कोरोनाबाट पराजित भइरहेका छन्। ओलीले राजनीति त जितिरहेकै छन् तर जनताप्रतिको दायित्वबाट उत्तिकै रफ्तारमा गिरिरहेका पनि।
अहिले कोरोनाको दोस्रो लहरले देशलाई फेरि ठप्प पारेको छ। संक्रमण र मृत्युदर पहिला भन्दा निकै बढेको छ। अस्पताल खोज्दाखोज्दै, अक्सिजनको अभावमा ज्यान गुमाउनेहरु बढ्दो छ। पशुपति आर्यघाटमा देखिने दैनिक दृश्यले प्रस्ट हुन्छ : प्रधानमन्त्री ओलीले काव्यिक शैलीमा कोरेका शब्दहरुले उनलाई नै गिज्याइरहेको छ।
अकालमा बगेका रगत, अक्सिजन र एम्बुलेन्स नपाएर मृत्यु भएकाका आफन्त, आर्यघाटमा बल्दै गरेका हरेक लाशले ओलीको शासनमाथि प्रश्न गरिरहेको छ - 'के अझै यी मृत्यु र कारुणिक दृश्य कारक कोरोना होइन् प्रधान मन्त्रीज्यू?'
देश संक्रमणको उच्च जोखिमबाट गुज्रिँदै गर्दा ओलीको उदय 'नयाँ निरो' का रुपमा भएको छ। जनता आफ्नो 'सास' जोगाउन अक्सिजनको खोजीमा भौंतारिरहँदा ओली सरकार आफ्नो कुर्सीमा 'अक्सिजन' भर्न व्यस्त रह्यो। जित त ओलीकै भइरह्यो लगातार, हारेको जनताले मात्र हो। राजनीतिक जित हासिल गरेका ओलीसँग जनताले विश्वास गरेका थिए : अब चाहिँ सरकारले कोरोना नियन्त्रणमा ध्यान देला कि!
तर, ओलीले प्रधानमन्त्रीमा पुन: नियुक्ति भएकै दिन दिएका अभिव्यक्तिबाट देश सरकारबिहीन महसुस गरायो। जनता अस्पतालमा शय्या नपाएर चिसो भुइँमा छटपटाइरहेकै थिए। संक्रमितको ज्यान जोगाउन कुरुवा बस्ने आफैँ अक्सिजन खोज्न भौंतारिँदै थिए।
ठीक त्यतिखेर नै ओलीले ठोकुवा गरे - 'अस्पतालमा बेडको अभाव छैन।' उनले भने, सकियो। तर्क र तथ्याङ्क किन चाहियो?
उनी यतिमा मात्रै सीमित भएनन्। सरकारको असफलता लुकाउन दोषजति जनताको टाउकोमा थोपरिदिए। सबैमा सरकारी अस्पतालमा बेड खोज्नु भन्दा सुविधासम्पन्न अस्पतालमा जाने इच्छा भएको भन्दै ओलीले कुनै अस्पतालमा मानिसहरु केन्द्रित हुँदा अरु अस्पतालहरुको बेड रित्ता रहेको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिए। उनले बेडमात्रै नभइ अक्सिजन सहितको बेड र स्वास्थ्यकर्मीको उपलब्धता रहेको बारे बोले।
बोले र जनताको दु:ख उनलाई दु:ख लागेन। त्यसपछि समाते कैची र काट्न थाले रिवनहरु। उधारो उद्घाटनका श्रृङ्खला फेरि सुरु भयो। चाहिएको त अस्पतालमा बेड थियो। तर, बेड भएको झुटो दाबी गर्दै ३ हजार क्षमताको सभाहल उद्घाटनमा उनी सक्रिय भए। त्यो पनि काम पूरा नभएको, धरहराजस्तै। फेरि काम पूरा नभएको संरचना उद्घाटन गरेको भन्यो भने ओलीले भन्लान : हेर्न जानु।
हेर्न जान त खासमा प्रधानमन्त्री नै जानुपर्ने हो - आफ्नो निवास नजिकै रहेको शिक्षण अस्पतालको अवस्था। काठमाडौंमा रहेका सरकारी अस्पताल बाहिरको दृश्य जहाँ बेड नपाए संक्रमितहरु भुइँमा बस्न बाध्य छन्। अक्सिजन नपाएर नागरिकको ज्यान गइरहेको छ। भेन्टिलेटर र अक्सिजन नपाउँदा बचाउन सक्ने ज्यानलाई पनि बचाउन सकिएको छैन। ओलीले हेर्न जानुपर्थ्यो - निजी अस्पतालको अवस्था। जसले भनिरहेको छ, 'अक्सिजनको अभाव छ, बिरामी भर्ना लिन सक्दैनौं।'
अस्पतालमा चर्को शुल्क तिरेर शव उठाउनुपर्ने बाध्यता हेर्न पुग्नुपर्थ्यो ओली। ओलीले हेर्नैपर्थ्यो : मरिरहेका नेपाली। तिनका आफन्तका आँखाबाट झरिरहेको आँसु।
असाध्यै धेरै काम चलिरहेको एक ठाउँमा उनले शिलन्यास गरेनन्। उद्घाटनका लागि रिबन पनि काटेनन्। आर्यघाटमा नअटेपछि वाग्मती किनार र पछि चौरमा पनि चिता बनिरहे। मानिसहरु जलिरहे। त्यहाँ शिलन्यास पनि भएन, चिता तयार हुँदा पनि रिवन काटिएन।
तर, आफूलाई झुटो सावित गराउन प्रधानमन्त्री किन त्यहाँ जान्थे? बरु आज दलबल लिएर ओली मदन आश्रित दिवसको अवसरमा पुगे बल्खु। नेकपा एमालेको पुरानो कार्यालय रहेको स्थानमा 'कर्मकाण्डी श्रद्धाञ्जली'को टेको थेग्न। मदन भण्डारीको शालिकमा चढाए फूलका माला।
'प्रायोरिटी म्याटर्स'!
सरकारको प्राथमिकता जनता हुने हो भने सायद प्रधानमन्त्रीले देख्थे- अब स्मृतिमा याद हुने नागरिकको शव। प्लास्टिकको ब्यागमा बेरिएको प्रियजनको सासबिहीन शरीर छुन नपाइ फूल चढाउने अनुहार। अस्पतालबाहिर संक्रमित र आफन्तको शारीरिक र मानसिक कष्ट।
तर, प्रधानमन्त्रीका लागि त 'सिचुएसन इज अन्डर कन्ट्रोल।'
अनि जनताका लागि भने प्रधानमन्त्रीले भनेका कुरामा 'हि.. हि..' गर्दै हाँस्नु बाहेकको विकल्प नै के छ र?