PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तयारीमा व्यस्त युवा खेलाडीले भरिएको राष्ट्रिय टोली, आउला त नेपाली फुटबलमा नयाँ आयाम?



मुकुन्द घिमिरे

तयारीमा व्यस्त युवा खेलाडीले भरिएको राष्ट्रिय टोली, आउला त नेपाली फुटबलमा नयाँ आयाम?

काठमाडौं: भोलि मंगलवार नेपाली फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेलका लागि इराक जाँदैछ। त्यो भन्दा महत्वपूर्ण विश्वकप छनोट अन्तर्गतको बाँकी खेल पनि खेलेर फर्कनेछ नेपाल। नेपाल सुपर लिग नसकिँदै यसका लागि तयारी सुरु गरिसकेका थिए नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले।

सँधैको भन्दा यसपटक राष्ट्रिय टोली फरक छ। राष्ट्रिय टोलीमा आधा दर्जन खेलाडीले त पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदै छन्। त्यसमा केही खेलाडीहरुले टीममा पुनरागमन गरेका छन्। त्यस्तै राष्ट्रिय टोलीका केही चर्चित अनुहारहरु टिममा परेका छैनन्। सबैभन्दा महत्वपूर्ण त नवनियुक्त कुवती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी राष्ट्रिय टोली बनाउन लागेका छन्। राष्ट्रिय टोलीमा ठूलो परिवर्तन आउँदा उनीसँग हरेक प्रश्नको जवाफ छ, तार्किक कारणसहित।

एन्फाले औपचारिक रुपमा चैत २२ गते उनलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। आफ्ना कुराहरु स्पस्ट रुपमा राख्ने अलमुताइरीले नेपाल सुपर लिग चलिरहँदा नै राष्ट्रिय टोलीले नयाँ खेलाडीहरु पाउने दाबी गरेका थिए। उनले पहिलो पटक राष्ट्रिय टोलीलाई अभ्यास गराइरहेका छन् तर उनको मिहिनेत हेर्दा लाग्छ उनी दीर्घकालिन सोच लिएरै आएका छन्। उनलाई थाहा छ: मैत्रीपूर्ण खेल खेल्न लागेको इराक नेपालभन्दा धेरै स्तरीय टिम हो र विश्वकप छनोट अन्तर्गतका बाँकी खेलहरुमा खेल्नुपर्ने टिम पनि कठिन छन्।

खेलका लागि प्रस्थान गरिनु अघिको पत्रकार सम्मेलनमा अलमुताइरी निकै आक्रामक सुनिए। उनको मुख्य असन्तुष्टी थियो: खेलाडी छनोटमा भएको आलोचना। उनले स्पस्ट गरी टिमभन्दा बाहिर राखिएका खेलाडीलाई बाहिर राखिनुको कारण र टिममा भएका खेलाडीमा उनले देखेको सम्भावना। अझ सामाजिक सञ्जालमा आएको अर्को गुनासो थियो: सुपर लिगको च्याम्पियन काठमाडौं रेजर्सका कुनै पनि खेलाडी टिममा किन परेनन्। यसलाई पनि उनले स्पस्ट पार्दै सम्भावित खेलाडीको नामै लिएर उनीहरुको चोटबारे स्पस्ट पारे। उनको मुख्य आशय थियो: म एउटा खेलका लागि चोटमा रहेका खेलाडीहरुको करियर धरापमा पार्न चाहन्न।

ट्रेनिङ राम्रो भइरहेको छ राम्रो भइरहेको भन्दै एनएसएलपछि खेलाडी थाकेकाले रिकभरीका लागि समय चाहिएको बताए।

उनले कसरी खेल्ने भनेर खेलाडीहरुलाई लेख्न लगाएर गहिरो विश्लेषण गर्न लगाएका रहेछन्। उनले रिपोर्ट नै पढेर सुनाए। उनले भने:

‘हामी सुतेका छैनौं। हामी कडा मिहिनेत गरिरहेका छौं। तर कोही आएर सोधे कि यो खेलाडी खै? त्यो खेलाडी खै?’

युवा टिम बनाएको बारे पनि उनी स्पस्ट सुनिए। उनको आशय देखियो अहिलेको युवाले अनुभव गर्न सके अर्को पटकमा जित्न सक्छ। पुरानो टिमले पनि विश्वकप छनोट अन्तर्गतको खेलमा फराकिलो अन्तरले हारेको स्मरण गर्दै परिवर्तनको आवश्यकता औल्याए।

‘यसपटक अस्ट्रेलियासँग टिमले ६-० ले हारिएला? इतिहास हेर्दा कति म्याचमा कति खेल जितियो? हामीलाई परिवर्तन चाहिएको छ। र परिवर्तनका लागि त रिस्क लिनै पर्छ,’ उनले भने, ‘अन्तिम खेलमा अस्ट्रेलियासँग खेल्दा नेपाली टोलीको उमेर कति थियो?  औसतमा ३१। अहिले कति छ? औसतमा २३। उनीहरुले अहिले हार्ने हो भने अर्को दुई वर्षपछि जित्न सक्छन्।’

उनले आफू नामको पछि नलाग्ने तर्कसमेत गरे: त्यतिबेला म नहुन सक्छु तर जो कोच आउँछ उसले च्याम्पियन बनाउन सक्छ। 

सामाजिक सञ्जालमा कोचको अलमल

प्रशिक्षक अब्दुल्लाह यसपटक साह्रै छिटो समर्थकहरुबीच चर्चित भए। उनीभन्दा अगाडिका विदेशी प्रशिक्षक योहान कालिनको तुलनामा त अझ धेरै छिटो। यसको कारण हो सामाजिक सञ्जाल। फेसबुकमा उनको उपस्थिति पछिल्लो अप्रिल यता देखिन्छ। तर त्यसयता फुटबल फ्यान ग्रुपदेखि लिएर फेसबुक स्टाटस राख्नसम्म पनि उनी धेरै सक्रिय देखिन्छन्। अझ सुरुसुरुमा त फेसबुकमा म्यासेज धेरै आएकाले रिप्लाइ गर्न कठिन भएको भन्दै स्टाटस नै राखेका थिए। उनी जुन रुपमा फेसबुकमा उपस्थित छन्, कमेन्ट गरिरहेका छन् या हेरिरहेका छन् त्यसले पनि उनलाई केही बिचलित गरेको बुझ्न कठिन हुँदैन। यसको क्रम सुरु भएको भने उनले बन्द प्रशिक्षणको सुरुवातबाटै भएको बुझ्न सकिन्छ। उनले बन्द प्रशिक्षणमा खेलाडी बोलाएसँगै फुटबल फ्यानमा कुन कुन खेलाडी परे परेनन् या किन परेनन्? किन परे? यस्त प्रश्नहरु आउनु स्वभाविक हो। अझ नेपालमा त फुटबलको यति धेरै समर्थक छन् कि कमेन्टहरु सामान्य रुपमै धेरै आउँछन्। सामाजिक सञ्जालमा आउने कमेन्ट सकारात्मक मात्रै हुन्छन् भन्न सकिन्न।

र, राष्ट्रिय टोलीका कोच भनेको त पब्लिक फिगर नै हुन्छ। यसमा उनीमा देखिएको आक्रोश सामाजिक सञ्जालको साइड इफेक्टका रुपमा पनि हेर्न सकिन्छ। सामान्यमा पब्लिक फिगरले कमेन्ट या सामान्य रिएक्सनलाई इग्नोर गरिरहेका हुन्छन् तर यसमा उनी बढी नै सिरियस भएको देख्न सकिन्छ।

सम्बन्धित समाचार : ग्याजेट्सले खेलाडीलाई जोड्छ कि तोड्छ? चिन्ता : मैदानमा उत्रिने खेलाडी डिस्ट्र्याक्टसनको सिकार

इराकसँगको खेल

इराकको आयोजनामा वार्सा इन्टरनेसनल स्टेडियममा नेपाल र इराक भिड्नेछन्। खेल मे २९ (जेठ १५ गते) हुने तय भएको एन्फाले जनाएको छ।

नेपालले यसअघि इराकसँग सन २००१ मा प्रतिस्पर्धा गरेको थियो। विश्वकप छनोटको उक्त खेलमा इराकले नेपाललाई ४-२ गोलअन्तरले हराएको थियो।

फिफा बरीयतामा इराक ६८ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ। अर्थात इराक नेपालभन्दा फिफा बरीयतामा १०३ स्थानमाथि छ।

नेपालले यसअघि त्रिदेशीय सिरिजमा बंगलादेश र कीर्गिस्तानसँग खेलेको थियो। जसमा जित निकाल्दै नेपाली टोली उत्साहीत देखिन्छ। यद्यपी थ्री नेसन्स कपबाट नेपाली टोलीमा धेरै परिवर्तन भएको छ।

विश्वकप छनोटका खेल

विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेल मात्र खेल्न बाँकी छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ। ५ खेलमा नेपालले चाइनिज ताइपेइसँग मात्र जित निकालेको थियो। नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्।

४ खेलबाट १२ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै समान खेल खेलेर १० अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा ३ अंक जोडेको नेपाल चौथो स्थानमा छ। उता चाइनिज ताइपेइ जितविहीन रहँदै तालिकाको पुछारमा छ।

नेपालले आगामी खेलमा जुन ३ मा चाइनिज ताइपेइसँग, जुन ८ मा जोर्डनसँग र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ।

खेलाडीहरु  :

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आगामी खेलहरुका लागि २३ सदस्यीय टिमको घोषणा गरेका छन्। प्रशिक्षक अलमुताइरीले केही अनुभवी खेलाडीहरुको स्थानमा नयाँ खेलाडीहरुलाई स्थान दिएका छन्।

प्रारम्भिक चरणमा रहेका भरत खवास, रञ्जित धिमाल, शेसेहाङ आङदेम्बे, रविशंकर पाशवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा, दर्शन गुरुङलगायतका खेलाडीहरु बाहिरिएका छन् भने मनिष डाँगी, सुरज जिउ ठकुरी, विशाल सुनार, आयुस घलानलगायतका खेलाडीले पहिलो पटक टिममा स्थानमा बनाएका छन्। त्यस्तै, नवयुग श्रेष्ठ र सन्तोष तामाङले टिममा पुनरागमन गरेका छन्।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell