जेठ ४ गतेदेखि भेरी अस्पतालमा उपचार गराइरहेका थिए दाङका डिल्लीबहादुर रावत। कोरोना भाइरस संक्रमित उनको स्वास्थ्य स्थितिमा सुधार भने भएन। उनको शरीरमा अक्सिजनको लेभल घट्दो थियो।
'बिरामीको अवस्था गम्भीर थियो। हामीले जानकारी दिँदासमेत उहाँका आफन्तले 'केही भयो भने तिमीहरूलाई छोड्दिन!' भन्दै धम्की दिएका थिए,' अस्पतालकी नर्स खतिजा बानुले सुनाइन्।
बिहीवार बिरामीको शरीरमा अक्सिजनको मात्र ६०/६५ को हाराहारीमा झर्यो। अस्पतालले तत्काल भेन्टिलेटरमा पुर्यायो। तर, केहीबेरमै उनको निधन भयो। राति ८ बजेतिर उक्त जानकारी बिरामीका आफन्तलाई दिए लगत्तै सुरु भयो तोडोफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण।
यो पनि पढ्नुस् :
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न एमाले नेता पनि, पक्राउ परेकालाई नछाड्न खबरदारी
उनीहरू अस्पतालको आईसीयू वार्डमै पसेर पंखादेखि कुर्सीहरू भाँच्न थाले। त्यही क्रममा उनीहरूले नर्स सदीक्षा गैरेको घाँटी न्याँके। अवस्था खराब बन्दै गएपछि त्य्हाँ रहेका अर्की नर्स अस्मिनी गुरुङ र डाक्टर चन्द्रप्रकाश साहु आईसीयू वार्डको क्याबिनमा लुक्न पुगेका थिए। त्यहाँ समेत पसेर कुटपिट गर्न थालेपछि सबै स्वास्थ्यकर्मी क्याबिनको ट्वाइलेटमा पसेका थिए। ट्वाइलेटको समेत ढोका फोडेपछि डाक्टर तथा नर्स झ्यालबाट हामफाले।
नर्स गैरेले आफू हाम फाल्न नसक्ने बताएकी थिइन्। तर, ज्यान जोगाउन अर्की नर्स अस्मिनीले उनलाई तानेर सँगै फाल हालेकी हुन्।
'कुटपिट र हामफाल्दाको चोट ठीक होला तर दिनरात नभनी खटेका स्वास्थ्यकर्मीमाथि जसरी प्रहार भएको छ त्यसको हिसाब गरिनुपर्यो,' खतिजा बानुले भनिन्, 'यस्ता घटना पटकपटक घट्छन्। आफ्नो जीवन जोखिममा राखेर कहिलेसम्म अरुको जीवन जोगाउन खट्ने हामी?'
दुई साताअघि बानु स्वयं ड्युटीमा थिइन्। त्यतिबेला अस्पतालमा अक्सिजनको हाहाकार थियो। भेरी अस्पतालमा आफ्नो प्लान्ट नभएकाले सिलिन्डर भरेर ल्याउनु पर्ने अवस्था थियो। अभाव देखिएसँगै अस्पताल प्रशासनले अक्सिजन कम भएको जानकारी कर्मचारी एवं बिरामीका आफन्तलाई पनि दियो। त्यतिबेला एउटा झुण्डले नर्सहरूमाथि प्रहार गरे।
'तिमीहरूले अक्सिजन घटायौ भनेर एक्कासी लुछ्न आउँदा सहेका थियौं। तर, मार्छु भन्दै प्रहार गर्दा चुप बस्न सक्दैनौं,' बानुले भनिन्, 'कोरोना संक्रमितबाट उनीहरूकै आफन्त पर बस्छन्। लास छोडेर भाग्छन्। आफ्नै मान्छेसँग तर्सेर हेर्दैनन्। हामीले त्यो सबै जिम्मेवारी लिएका छौं। हामीलाई नै मारेर रीस त शान्त होला तर बिरामीलाई कसले हेर्छ?'
आफूहरूको ज्यान सुरक्षित भन्ने प्रत्याभूती होस् र दोषीले आएर सम्बन्धित सबैसँग माफ मागोस् भन्ने चाहन्छन् भेरी अस्पतालका डाक्टर र नर्सहरू। त्यसका लागि बिहीवार रातिदेखि नै आन्दोलनरत् छन् सबै। निरन्तर परिरहेको झरीमा उभिएर आफ्नो जीवन रक्षाको माग गरिरहेका छन्। यी तिनै स्वास्थ्यकर्मी हुन् जसले १ सय ४२ शय्या कोरोना संक्रमितका लागि छुट्याएको अस्पतालमा एकसाथ २ सयभन्दा बढी बिरामीको उपचार गरेका थिए। जसमध्ये ९० प्रतिशत बिरामीको अवस्था गम्भीर थियो, अक्सिजन सहायता अनिवार्य चाहिने।
चाप अत्याधिक हुँदा त्यहाँका स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीले आराम खोजेनन्। बरु, २४ घण्टै पीपीइमा गुम्सिएर कोभिड वार्डदेखि भुईं र भर्याङमै राखेर बिरामीको उपचार गरे।
त्यतिबेला अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर राजन पाण्डेले पहिलोपोस्टसँग भनेका थिए, 'हामी बाध्य छौं। बाध्यता र जिम्मेवारीलाई एकसाथ अघि बढाएका छौं। यो कठिन परिस्थिति हाम्रा लागि चुनौती हो। म चुनौती स्वीकार्ने स्वभावको छु।'
राजनले जस्तै सबै स्वास्थ्यकर्मीले स्वीकारे र त अस्पतालमा कोभिड-१९ को उपचारबाहेक अन्य सेवा ठप्प पारेनन्। निरन्तर सेवा दिइरहे।
कोरोनाविरुद्धको लडाइ मत्थर हुन नपाउँदै स्वास्थ्यकर्मी माथि हातपात भयो। अब अहिले डाक्टर पाण्डे भन्दैछन्, 'मानसिक तनावमा पुर्याएको छ हामीलाई। घटनाले हाम्रो मनोबल मात्र गिराएको छैन हामीलाई तर्साएको छ। सहजै काम गर्न सक्ने वातावरण नै छैन।'
उनी पनि झरीमा उभिएका छन्। सहकर्मीहरूसँगै नारा लगाइरहेका छन् – पहिला हामीलाई जोगाए। त्यसपछि हामी बिरामी जोगाउँछौं।
दोषीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइयोस् भन्ने उनीहरूको माग हो। त्यसभन्दा अघि जसमाथि हातपात भयो उनीहरूसँग माफी मागियोस् र बल्ल कानूनी प्रक्रिया अघि बढोस् भन्ने चाहन्छन्।
हाल कोभिड-१९ वार्डमा सीमित कर्मचारीले सेवा दिएका छन्। आकस्मिकबाहेक अन्य सेवा अवरुद्ध छ।
घटनाबारे थप छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ। तर, दोषी पक्षको राजनीतिक पहुँच भएका कारण कारवाहीमा आलटाल हुनसक्ने आशंका रहेको नर्स बानु बताउँछिन्।
घटनामा संलग्नमध्ये मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ परेका छन्। मानबहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन्।
'उनीहरू जे भए पनि कारवाही गरिनुपर्यो। 'जेल विद आउट बेल' हाम्रो प्रमुख माग हो। यस्ता घटना पटकपटक घटेकाले शक्तिमा भएका यिनै मानिसले सजाय पाए हामी हतोत्साहित हुँदैनौं,' डाक्टर पाण्डेले भने, 'अस्पतालमा शान्ति र सुरक्षा नै हो हामीले खोजेको।'
