PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

अस्पतालले नै अक्सिजन नहुँदा संक्रमितले ज्यान गएको बताए पनि गण्डकी प्रदेश सरकारले भन्यो : 'मिथ्या खबर'



अस्पतालले नै अक्सिजन नहुँदा संक्रमितले ज्यान गएको बताए पनि गण्डकी प्रदेश सरकारले भन्यो : 'मिथ्या खबर'

पोखरा : गण्डकी प्रदेश सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावले संक्रमितको मृत्यु भएको खबर 'मिथ्या' भएको दाबी गरेका छन्।

गण्डकी सरकारका प्रवक्ता रामशरण बस्नेतले आजदेखि सुरु भएको बर्खे अधिवेशनको पहिलो बैठकमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको घटनामा यस्तो टिप्पणी गरेका हुन्।

प्रदेश सरकारलाई अस्पतालबाट प्राप्त जानकारी अनुसार अक्सिजन अभावले मृत्यु भएको कुरा 'मिथ्या' भएको उनले दाबी गरे।

'गण्डकी अस्पतालमा एउटा घटना घट्यो। हामीलाई प्राप्त सुचना अनुसार अक्सिजन थियो र छ,' उनले भने, 'मिथ्या कुरा बोल्यौ भने जनता सडकमा आयो भने ठुलो क्षती हुनसक्छ।'


सम्बन्धित समाचार : अक्सिजन नपाएर बिरामी आधा घण्टा छट्पटिए, अक्सिजन आइपुग्दा गयो प्राण


बैठकमा प्रतिपक्षी दलका नेताले पश्चिमाञ्चल अस्पतालको घटनाबारे प्रश्न गर्दै प्रदेश सरकारसँग जवाफ मागेका थिए। सांसदहरुले उक्त घटनाको छानबिन हुनुपर्ने र माफी माग्नुपर्ने माग गरेका थिए।

तर, सभामा प्रतिपक्षी दलहरुले उठाएको उक्त प्रश्नमा प्रवक्ता बस्नेत उल्टै प्रश्न गरेका छन्।

'सदनमा आएर जे पायो त्यहीँ बोल्यौं। भोलि केही घटना घट्यो भने जिम्मेवारी कसले लिने के भन्ने ?' उनले प्रश्न गरे।

हाललाई कुनै कमजोरी नदेखिएको र छानबिन बिना माफी माग्न आवश्यक नरहेको उनको भनाइ थियो।

गत बिहीबार राति क्षेत्रीय अस्पतालमा आधा घन्टा अक्सिजन आपूर्ति बन्द हुँदा सुत्केरी सहित ६ जना बिरामीले ज्यान गुमाएका थिए। शुक्रबार दिउँसोसम्म अस्पतालमा आठ जना संक्रमितको मृत्यु भएको थियो।

अस्पतालका एक चिकित्सकका अनुसार तीन जनाको मृत्यु हाइफ्लो अक्सिजन नपाएर भएको हो।


सम्बन्धित समाचार : बीस मिनेट बिजुली जाँदा 'हाइ फ्लो' अक्सिजनकै भरमा उपचार गराइरहेका सुत्केरी सहित ६ जनाको मृत्यु


अस्पतालले आवश्यकता अनुसार अक्सिजन नपाएर बिरामीको मृत्यु भएको स्वीकार गरेको थियो। शुक्रबार अस्पतालले विज्ञप्तीमार्फत आठै संक्रमितको अक्सिजन नपाएर मृत्यु नभएको जनाएको थियो।

आफ्नै अक्सिजन प्लान्ट नभएको अस्पतालले पोखरा अक्सिजन प्रालि मार्फत अक्सिजन आपूर्ति गर्छ। पोखरा अक्सिजन प्लान्टमा विद्युतमा समस्या हुँदा विहिबार अस्पतालमा अक्सिजन आपूर्तिमा समस्या भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell