PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

श्रीमानको आक्रमणबाट जलेर घाइते लक्ष्मीलाई सुदूरपश्चिम सरकारले २ लाख दिने, जेठ २१ मा बजेट अधिवेशन



एम बम

श्रीमानको आक्रमणबाट जलेर घाइते लक्ष्मीलाई सुदूरपश्चिम सरकारले २ लाख दिने, जेठ २१ मा बजेट अधिवेशन

कैलाली : आफ्नै श्रीमानले सुतिरहेको अवस्थामा आगो लगाउँदा जलेर घाइते भएकी डोटीको आदर्श गाउँपालिका–४ रोडीकी लक्ष्मी भाट र उनकी छोरीलाई सुदूरपश्चिम सरकारले दुई लाख दिने भएको छ।

आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्। यसअघि गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी आगोले जलेर गम्भीर घाइते भएकी लक्ष्मीको उपचारमा लाग्ने सम्पूर्ण उपचार खर्च सङ्घीय सरकारले बेहोर्ने जनाएको थियो।

यसैगरी घटनामा संलग्न उनका श्रीमान् सन्तोष भाटलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने पनि मन्त्रालयले बताएको थियो। जेठ १२ गते राति सुतिरहेको अवस्थामा प्रज्वलनशील पदार्थ छर्किएर आगो लगाइ २८ बर्षीया लक्ष्मी गम्भीर घाइते भएकी थिइन्। आगोले आधा भन्दा बढी जलेकी लक्ष्मीलाई उपचारका लागि दिपायल राजपुरस्थित सुजंग अस्पतालमा ल्याइएको थियो। अस्पतालले सोही दिन उनको उपचार सम्भव नभएको भन्दै बाहिर लैजान भनेको थियो। तर आर्थिक अभावका कारण आफन्तहरूले उनलाई अन्यत्र लैजान सकेका थिएनन्। सोमबार लक्ष्मीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ।

सम्बन्धित समाचार : सुतिरहेकी महिलामाथि लगाइयो आगो, अपराधमा संलग्न को? खोज्दै प्रहरी

जेठ २१ मा बोलाइयो बजेट अधिवेशन

यसैगरी मन्त्रिपरिषदले आगामी जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। २१ गते दिउँसो तीन बजे बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरिएको हो।

प्रदेशमा एमालेको राजनीतिक किचलोका कारण नीति तथा कार्यक्रम ल्याउन ढिलाइ भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell