PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन गरेको मिहिनेत यसरी भयो 'बालुवामा पानी', कमजोरी कसको?



मुकुन्द घिमिरे

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन गरेको मिहिनेत यसरी भयो 'बालुवामा पानी', कमजोरी कसको?

काठमाडौं : कोभिड महामारीका कारण वैशाख मध्यबाट काठमाडौंमा उपत्यकामा निषेधाज्ञा जारी भयो। जसै कोभिड-१९ का संक्रमितको संख्या बढ्दै गयो, निषेधाज्ञाको श्रृङ्खला पनि तन्किँदै गयो। अरु क्षेत्रजस्तै खेलकुदमा पनि त्यसको प्रभाव पर्ने नै भयो। निषेधाज्ञा लाग्दाताका फुटबलको नेपाल सुपर लिग (एनएसएल) लाई छाडेर अन्य प्रतियोगिता बन्द रहे। अधिकांश प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा निषेध गरिएको क्षेत्रमा प्रष्ट शब्दमा लेखिएको थियो - समूहमा खेलिने खेलकुद। तर, यही बिचमा नेपाली फुटबल टोली विश्वकप छनोटको खेल खेल्न इराक हुँदै कुवेत पुग्यो। फुटबलका लागि नेपाली खेलाडी जति सहज रुपमा विदेश यात्रामा रहे, अरुका लागि भने उस्तै अवस्था रहेन।

यसबिचमा केही खेलाडी यस्ता पनि रहे जसले भरमग्दुर मेहनत र तयारी गरे तर पनि प्रतियोगितामा सहभागी हुन पाएनन्। व्यक्तिगत होस् या मुलुकको पहिचान दिलाउने प्रतियोगिताका लागि उनीहरुको गरेको मेहनत 'बालुवामा पानी' सावित हुन पुग्यो।

प्रतियोगिताका लागि भरमार तयारी गरेर पनि सहभागिता जनाउन नपाउने मध्येका हुन् बक्सर सनिल शाही। उनीसहित सातजना बक्सिङ खेलाडीको हाल एकै रह्यो। एसियाकै ठूलो बक्सिङ प्रतियोगिता एएसबीसी एलिट मेन वुमेन बक्सिङ च्याम्पियनसिप २०२१ मा सहभागिता जनाउन नेपाली बक्सिङ टोलीले तयारी राम्रै गरेको थियो। दुई महिनादेखि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु फ्लाइट नपाएपछि प्रतियोगितामा जाने अवसरबाट चुके। भारतमा तोकिएको प्रतियोगिता दुबईमा स्थानान्तरण भएकाले उक्त प्रतियोगितामा जान नपाउने लगभग निश्चित भएपछि नेपाल बक्सिङ संघले विज्ञप्ति निकाल्दै आफूहरुले प्रयास गरिरहेको तर सम्भावना कम देखिएको जनाएको थियो। खासमा संघको पानीमाथिको ओभानो हुने प्रयास थियो विज्ञप्ति। खेलाडी पठाउन प्रक्रिया नै ढिला भएकाले उनीहरु जान असफल रहे, प्रतियोगिताको हार जित त टाढैको विषय बन्यो।

प्रतियोगितामा जान नपाउँदा दु:खी सुनिए सनिल। ‘फाइनलमा मैले जसलाई हराएको थिएँ उसले एसियाली स्तरमा मेडल जितेर फर्कियो। हामी जान पाएनौं,’ शाहीले पहिलोपोस्टसँग भने, ‘तयारी एकदम राम्रो गरेका थियौं।’

त्यस्तै अवस्था रह्यो गोल्डन ट्रेल सिरिजमा इटली जाने तयारीमा रहेका सुमन कुलुङ र हुमी बुढामगरको। पछिल्लो समय झिल्टुङ क्रस कन्ट्रीमा पुरुषतर्फ र महिलातर्फ खुलामा प्रथम भएका यी दुईले नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका थिए।

‘पहिलो पटक प्रतियोगिताका लागि सहभागिता जनाउने अवसर थियो। कोभिडका कारण सबै रोकियो,’ हुमीले भनिन्, ‘यही प्रतियोगितालाई भनेर तयारी राम्रो गरेका थियौं।’

यता इटली जाने तयारीका क्रममा दौडिन निस्कँदा होल्डिङमा परे धावक सुमन। तैपनि उनले तयारी छाडेनन्। यद्यपि सहभागी हुन नपाउँदा दु:खी छन् उनी। 'जानका लागि दुई पटकको खोप पुरा गरिसकेको हुनुपर्ने रहेछ। गेम आइसक्यो। जुलाई १८ तारिखमा हो गेम। खोप पनि छैन। दुई पटक अनिवार्य चाहिन्छ भनेर भनेको थियो। अनि यसपटक यस्तै भयो। तयारी त राम्रै भएको थियो। पछिल्लो समय चाहीँ अभ्यासमा निस्कँदा दुईघण्टा होल्डिङमा पनि परियो। केहीदिन त्यताबाट अभ्यास प्रभावित भयो। बाँकी त राम्रै तयारी थियो।'

त्यस्तै, प्रतियोगितामा अनुबन्धित भएर पनि सहभागिता जनाउन नपाएका अर्का स्टार खेलाडी हुन् सन्दीप लामिछाने। बेलायतको भाइटालिटी क्रिकेटमा सहभागिता जनाउने उनको तयारीमा तगारो बन्यो, भिसा ढिलो गरेर लाग्नु। उनले प्रक्रिया सुरुबाटै थालेका थिए। सामाजिक सञ्जाल ट्वीटरमा पनि सहजिकरणका लागि उनले निकायहरुलाई आग्रह गरेका थिए। यद्यपि, उनी बेलायतमै हुने अर्को प्रतियोगिता 'द हन्ड्रेड'का लागि भने जानेछन्।

‘पहिलो पटक काउन्टीको टिममा मेरो छनोट भएको थियो। जुन धेरै राम्रो कुरा थियो। कुनै पनि एसोसिएटका लागि काउन्टी ठूलो कुरा हो। म अलि हर्ट हुन पुगेँ,’ उनले फेसबुक लाइभमा भनेका थिए, ‘त्यो खेलहरुका लागि म २७ मे मा जानुपर्ने। १० दिन अर्को देशमा बसेर इङ्ग्ल्याण्डमा पनि केही दिन बस्नुपर्ने। १५ दिनपछि टिममा खेल्न पाउने थिएँ। मलाई थाहा छैन कहाँ के कुरा मिलेन। मेरो फ्लाइट हुनुपर्ने दिनभन्दा एकदुई दिनअघि ट्विट पनि गरेको थिएँ। कसैले सहयोग गर्ला कि भनेँ। मलाई थाहा छैन के गलत भयो?’

लामिछानेले देशमा कोभिड १९ का कारण अवस्था ठीक नभएको र एकदम चुनौतीपूर्ण अवस्था भएको भन्दै यसको वावजुद खेलाडीहरुलाई सहयोग गर्नका लागि अपिल गरेका थिए।

‘खेलाडीलाई सहयोग गरिदिए हुन्थ्यो। हामीले एकदमै गाह्रो गरी यो मौकाहरु पाउने गर्छौं। एसोसिएटमा पनि नेपालको खेलाडी भएर सानो भन्दा सानो अवसर पनि ठूलो हुन्छ,’ लामिछानेलेले भने, ‘काउन्टी हरेक देशका खेलाडीका लागि ठूलो अवसर हो। पछि पनि अवसर त पाइएला तर यो लापारवाही कहाँबाट भयो यो मैले अझै थाहा पाउन सकिरहेको छैन।’  

प्रक्रियामा सबै ठीक भए पनि ढिला भएको उनको गुनासो थियो। प्रकृया १० दिन लामो मात्रै नभएको भए पनि उनी खेल्न जान सक्थे।

त्यस्तै, अवस्था रह्यो तेक्वान्दोका ओलम्पिकको छनोटमा पनि। जोर्डनमा हुने भनिएको प्रतियोगिताको तयारी पूरा गरिसकेपछि पनि नेपालले त्यहाँ सहभागिता जनाउन सकेन।

‘जानका लागि भनेर हामी तयार भएर बसेका थियौं। एउटा फ्लाइट नभएको कारणले भयो। अर्को भारत र नेपालका लागि १४ दिनको क्वारेन्टिन भन्दिए उनीहरुले,’ नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले भने, ‘यो प्रतियोगिता नेपाल भारत सबैले मिस गरे।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell