PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विश्वकप छनोटको खेल खेलेर स्वदेश फर्कियो नेपाली टोली, कुवेतमा सुध्रिएको हो त प्रदर्शन?



मुकुन्द घिमिरे

विश्वकप छनोटको खेल खेलेर स्वदेश फर्कियो नेपाली टोली, कुवेतमा सुध्रिएको हो त प्रदर्शन?

काठमाडौं : विश्वकप छनोट अन्तर्गतको खेलहरु खेलेर नेपाल आज स्वदेश फर्किएको छ। कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण सम्हालेपछि छोटो तयारीपछि इराक हुँदै कुवेत पुगेको नेपाली टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने विश्वकप छनोट अन्तर्गतको खेलमा चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग खेलेको थियो। जसमा चाइनिज ताइपेईमाथि २-० को जित निकालेको नेपालले जोर्डन र अस्ट्रेलियासँग समान ३-० ले पराजय ब्यहोरेको थियो। त्यसअघि इराकसँग मैत्रीपूर्ण खेलमा ६-२ गोलअन्तरले पराजय ब्यहोरेको थियो।

विश्वकप छनोटको खेल खेलेर स्वदेश आइपुग्यो नेपाली टोली

विश्वकप छनोट अन्तर्गतको समूह बी मा रहेको नेपालले दुई प्रशिक्षकको प्रशिक्षणमा खेलहरु खेल्यो। स्वीडिस प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा रहेको नेपालले चाइनिज ताइपेइलाई उसैको गृहमैदानमा २-० ले हराएको थियो। त्यस्तै कुवेतसँगविरुद्ध कुवेतमा ७-० र भुटानमा १-० ले पराजय ब्यहोर्दा अस्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० ले पराजय ब्यहोरेको थियो। समूहको होमगेम बाँकी रहँदा कोभिड महामारी फैलियो र एक वर्ष खेल प्रभावित भयो। यसबीचमा नेपालको प्रशिक्षक परिवर्तन भए। स्वीडिस कालीनको स्थानमा आइपुगे कुवेती अलमुताइरी।

प्रशिक्षकका रुपमा अलमुताइरी समर्थकहरुसामु चाँडै चर्चित पनि भए। जसको लागि उनले सामाजिक सञ्जालको भरपुर सदुपयोग गरे भने डिफेन्सिभ मानसिकतामा खेल्ने नेपाललाई अट्याकिङ खेलाउने भनेर सबैको ध्यानसमेत ताने। त्यसमाथि खेलाडी छनोटमा युवा खेलाडीलाई प्राथमिकता दिएर आशाको किरण जगाए। उनको नेतृत्वमा समूह बी मा नेपालले चाइनिज ताइपेइलाई २-० ले हराउँदा बलिया टोली जोर्डन र अस्ट्रेलियासँग ३-० को हार पनि ब्यहोर्‍यो नेपालले। समूहको चौथो स्थानमा रहेको नेपालले अब एसियन कपको तेस्रो चरणका लागि प्लेअफ खेल्ने मौका पाउने भएको छ।

साफ च्याम्पियनसिप जित्ने लक्ष्य लिएको बताउने अलमुताइरीले समर्थकहरुसामु आशा पनि जगाएका छन्। कुवेतमा पहिलो लेगसँग तुलना गर्ने हो भने ताइपेइ र जोर्डनसँग एउटा नतिजा निस्किएको छ भने अस्ट्रेलियासँग नेपालले गोलअन्तर घटाउन सफल भएको देखिन्छ।

के सुध्रिएकै हो नेपालको प्रदर्शन?

हामीले यो प्रश्न नेपाली फुटबललाई नजिकबाट नियालीरहेका फुटबल प्रशिक्षक मिलन हाडा, फुटबल कमेन्टेटर सञ्जिप शिल्पाकार र पूर्वकप्तान राकेश श्रेष्ठलाई सोधेका छौं।

'पहिले विपक्षीको डीबक्स कटाउनै मुश्किल हुन्थ्यो'

-सञ्जिव शिल्पाकार, कमेन्टेटर

सुध्रेको भन्दा पनि प्रदर्शन राम्रो भएको छ। प्रदर्शन त 'बेटर' भएको छ नै। विशेषगरी आफूभन्दा धेरै बलियो टीमसँग खेल्दा पनि हामीले पनि एउटा फाइटिङ 'स्पीरिट' देखाएका छौं। बलियो प्रतिस्पर्धी हुने बित्तिकै डिफेन्सिभमात्र खेलेर बसेनौं। समयसमयमा पोजिजन लिन पनि सफल भयौं। अट्याकिङ पनि हामीले केही हदसम्म गरेको मान्नुपर्छ किनभने यसअघि यस्तो स्ट्रङ टिमहरुसँग खेल्दाखेरी नेपालले डीबक्स कटाउने या आफ्नो हाफ कटाउनै मुस्किल हुन्थ्य्यो भने अहिले समयसमयमा विपक्षीको डिबक्ससम्म पनि पुग्न सकेको छ भलै अन टार्गेट सटहरु धेरै हुन सकेन।

अट्याकिङलाई बेस्ट डिफेन्स पनि भनिन्छ, त्यसले परिवर्तन त आएको छ। त्यो आएको परिवर्तनलाई साफ च्याम्पियनसिप सम्मको टार्गेट बनाएर आफूभन्दा बलिया टीमहरुसँग निरन्तर मैत्रीपूर्ण खेलहरु खेल्न सक्यौं भने साफ च्याम्पियनसिपका लागि बलियो एउटा टिम देख्न सक्छौं।

पोजिसन र सिफ्टीङमा खेल्ने तरिका अलिकति राम्रो भयो

-राकेश श्रेष्ठ, पूर्वकप्तान, नेपाली फुटबल टीम

खेलाडीले जुन खेल खेलेका छन् त्यो एप्रिसिएट गर्न योग्य छ। अट्याकिङदेखि मिडफिल्ड र डिफेन्ससम्म हेर्दा टिम गेमजस्तो देखिएको थियो। सबै खेलाडीले आफ्नो पोजिसनलाई न्याय गरेको देखियो। कोचले प्रत्येक खेलाडीलाई बल पोजिसनअनुसार मुभमेन्टहरु राम्रोसँग सिकाए जस्तो लाग्यो। भन्न खोजेको हामी नर्मल बल हुँदा खेरीमात्र खेल्यौ बल नहुँदा पनि जस्तो विपक्षीको लेफ्ट डिफेन्ससँग बल हुँदाखेरी हाम्रो लेफ्ट  डिफेन्स कहाँ जानुपर्ने भन्ने देखिएको थियो। त्यो पक्ष राम्रो थियो।

अर्को पक्षमा भनेको स्पीड राम्रो देखिएको थियो। सबै खेलाडीले राम्रो टीम गेम खेले। अघिल्लो टीमको प्रदर्शनसँग ड्रास्टिक चेन्ज त देखिँदैन तर पोजिसन र सिफ्टीङमा खेल्ने तरिका अलिकति राम्रो भएको हो।

अहिले युवा खेलाडी भनिरहेको छ त्यो चाहीँ मलाई चित्त बुझ्दैन किनभने फालेका खेलाडीहरु पनि त्यस्तो ओभर एजको देखिँदैन। त्यत्रो देशका लागि योग्दान गरेका खेलाडीलाई इग्नोर गर्नु चाहीँ हुन्छ जस्तो मलाई लाग्दैन। साउथ एसियाकै कुरा गर्दा सुनिल क्षेत्रीजस्ता पुरान खेलाडीले खेलिरहेका छन् बाहिर पनि मेस्सी, रोनाल्डोहरुले पनि खेलिरहेकै छ नि। फालिएका खेलाडीमा पनि धेरै क्षमता भएका खेलाडी नै छन् जस्तो लाग्छ मलाई।

खेलको लेभल माथि गएको होइन  

-मिलन हाडा, फुटबल प्रशिक्षक

परिवर्तन त भएको छ। युवा खेलाडीले गर्दाखेरी जुन एउटा जुन पुरानो खेलाडीमा रहेको अहम् हुन्छ नि त्यसलाई त्यो हटेर डर पैदा भयो। बाहिरको कोच आएपछि प्लेयरहरुलाई भय हुन्छ। यहाँको नेपाली भए हेपिहाल्छ, पावर लगाउन थाल्छ। यसले व्यवस्थापन पनि दवाबमा पर्छ। बाहिरको कोच भएपछि चाहीँ कोचको जिम्मामा हाल्दियो त्यति भएपछि कोचसँग कसले कुरा गर्ने? टिम बनाउन त धेरै गाह्रो छ नि।

अहिले खेल राम्रै खेलेको हो। तर जुनस्तरमा सुधार हुनुपर्ने हो त्यति अझै हुन सकेको छैन। अस्ट्रेलियासँगकै खेलको कुरा गर्दा हामीले मेहेनत गर्‍यौं। फाइट गर्‍यौं। तर हामी त प्रेसरमै रह्यौं। हामीले जित्छौं या बराबरी गर्छौं भन्ने त त्यो टीमसँग छैन।

फुटबलको स्तर कसरी हेर्न सकिन्छ भने हामीले एक गोल खाए दुई गोल फर्काउन सक्छौं भने त्यो एउटा स्तर भयो। एक गोल खाएपछि थप दुई गोल खाइएला भनेर जोगाउनुपर्ने स्थिति छ। हामी अहिले पनि एउटा गोल खाएपछि अर्को गोल नखानेमा जान्छौं त्यो स्तरमा छौं हामी ठूलो टिमसँग। यही खेल यदि श्रीलंका, भुटान, माल्दिभ्ससँग भयो भने हामी दुई गोल फर्काउन सक्लाउँ। खेल चाहीँ राम्रो खेलाएको तर हाम्रो जुन स्टान्डर्ड छ नि लेभल त्यो माथि गएको चाहीँ होइन।

कोचले खेलाडीलाई निडर भएर खेल्ने वातावरण सिर्जना गरिदिए। पहिलो दुनियाँ अफिसियलको भाषण सुन्नुपर्थ्यो, गाली गर्थ्यो। पेनाल्टी दुईपटक पाउँदा पनि चुक्थ्यो। त्यो सबै डर त हो। यो कोचले गरेको एउटा राम्रो काम भनेको खेलाडीलाई मेन्टल्ली फ्री भएर खेल्ने वातावरण दिएको देखियो। यो खेल हेरेर मैले भनेको यद्यपि म उनीहरुसँग टचमा छैन।

अट्याकिङको सन्दर्भमा कुरा गर्दा ताइपेइको टीमसँग हामी हार्छौं भन्ने मानसिकता लिएर जाने टिम होइन। हाम्रो स्ट्याण्डर्डको टीमसँग हाम्रो अट्याकिङ त हुन्छ। जोर्डनसँग अलि गाह्रो भयो। अस्ट्रेलियासँग त अट्याकिङ भनेर चिच्याउनै पर्दैन नि। हाम्रो स्तर नै तल छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell