PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

झरीमा रुझेरै हेरिरहेछन् मानिस बगर बन्दै गरेका आफ्ना खेतहरू...



नेत्र तामाङ

झरीमा रुझेरै हेरिरहेछन् मानिस बगर बन्दै गरेका आफ्ना खेतहरू...

बाढीले सिन्धुपाल्चोकमा बितन्डा मच्चायो। लगातारको झरी, बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित बनेको छ मेलम्ची बजार। मेलम्चीटारमा उभिएर हेरिरहेका छन् मानिस् – भेलले छोपिएका आफ्नै घर।

मेलम्ची बजारको दाहिनेतिर बग्छ याङ्री र लार्के खोला। देब्रेतिर मेलम्ची जुन खोलाको पानी काठमाडौं आइपुग्नुले यहाँका मानिसमा खुशी छाएको दुई महिनामात्र भयो। त्यही खोलाले रुवाएको छ अहिले स्थानीयलाई।

दुई तिरबाट बगेको खोलाहरूको दोभानभन्दा करिव सय मिटरमै छ मेलम्ची बजार। दोभानपछि हो इन्द्रावतीमा एकाकार हुने।

मंगलवार साँझ करिव ५ बजेबाट हो बजारको वारिपारिबाटै खोलो हुत्तिएर आएको। हेर्दाहेर्दै पानी घरघर पसेको अनि केहीबेरमै घरभित्रका सामान अनि मान्छे स्वयं पानीमा तैरिन थालेको। मान्छेको भागाभागमा अत्यावश्यक पर्ने सामानहरू समेत भित्रै रहे। पुरिँदै गए बालुवा र पानीसँग मिसिएर आएको लेदोले।

बाढीका कारण बिस्थापित मानिसहरू सिमसिम पानीमा रुझेरै हेरिरहेछन् आ-आफ्नो घर र खेततर्फ जुन यतिखेर बगरमा रुपान्तरण भइसक्यो। हरेक पटक पानीको बहाव बढ्दा उनीहरू मुखै फोडेर भन्छन्, 'योभन्दा बढी नसकोस्।'

हाल उनीहरूलाई इन्द्रावती इन्द्रेश्वरी माध्यमिक विद्यालयको भवनमा राखिएको छ। त्यहीँ खानाको व्यवस्थापन गरिदिएको छ स्थानीय सरकारले। हाल त्यहाँ प्रभावितहरूले नाम टिपोट गराइरहेका छन्, राहतलगायत अन्य व्यवस्थापनको आशामा।

बुधवार बिहानसम्म पनि बाढी साम्य भएको छैन। मेलम्ची खोलातर्फ चाहिँ ठूलो बहावसहित लेदो पानी बगिरहेछन्। बाढी घट्दा परबाट हेरिरहेकाहरू केही राहतको सास फेर्छन्। तर, केहीबेरमा ह्वात्‍तै बढ्ने पानीको छालले ठूलाठूला ढुङ्गाहरू पल्टाइरहेको छ, चर्को आवाज निस्कनेगरी। मानिसहरू आत्तिरहेका छन्।

'कतै बजारै निमिट्यान पार्ने त होइन?', स्थानीय रवीन्द्र कार्की प्रश्न गर्छन्। उनको घर इन्द्रावती पावर हाउस छेवैमा छ। बाढीले उनको खेत निलिसक्यो।

उनकै जस्तै हो अहिले प्राय स्थानीयको पीडा। दोभान नजिकका बस्ती, खेत बगर बनेका छन्। हालसम्म ८/९ वटा घर पुरिएको भनिए पनि यकिन तथ्याङ्क छैन। कति मानिस बेपत्ता भए? भन्ने पनि थाहा छैन नगरपालिकालाई।

स्थानीय जनप्रतिनिधिहरू तथ्याङ्क कसरी संकलन गर्ने र बिस्थापितलाई कसरी व्यवस्थापन गर्ने? भन्नेबारे छलफलमा छन्।

यता आम मानिस भने बाढी कता मोडिदै छ? पानीको बहाव कति? कति छ लेदो र बालुवा आँखैले मापन गरिरहेका छन्। किनकि त्यो पानीको लेभलले निर्धारण गर्छ उनीहरूको जीवनको धार।

बुधवार बिहानसम्म मेलम्ची बजारको दाहिनेतिर बाढीको प्रभाव बढी थियो। अहिले बिस्तारै पानी देब्रेतिर मोडिदै छ। कम प्रभावित क्षेत्रका मानिसमा पनि उत्तिकै भय छ।  

उद्दारका लागि हेलिकप्टरमार्फत् खटिएका भरत थापाले त्यो बेहालललाई भिडियोमा कैद गरेका रहेछन्। जसमा देखिन्छ ठाडोठाडो पहाडहरू पहिरो बनेर खसेको। ठाउँठाउँका खोंचहरू भत्किएका छन्। त्यहाँबाट धुँवाजस्तो बनेर उडिरहेका छन् बाफ र माटो।

मेलम्चीको ड्याम साइड पनि पहिरोले नै पुरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर जबरा भर्खरै प्रभावित क्षेत्रमा पुगेका छन्। केही अघि सभामुख अग्नि सापकोटा पनि पुगेका थिए।

त्यसअघि यही क्षेत्रबाट चुनाव जितेर स्वास्थ्य मन्त्री बनेका शेरबहादुर तामाङले पनि हेलिकप्टरबाट अवलोकन गरेका थिए। 

बिस्थापितहरूलाई उचित बास र गाँसको टुङ्गो कतिखेर लाग्छ थाहा छैन। तत्काल सबैलाई ज्यान जोगाउनु छ। केही भने खोला किनारतर्फ सोझिएका छन्, भोलि पानी केही शान्त बनेपनि काम लाग्ने कुरो पो तैरदै छ कि भन्ने आशामा। 

यो पनि पढ्नुस् : घरभित्रबाट खानेकुरा निकाल्न भ्याउँदा नभ्याउँदै फेरि पर्न थाल्यो पानी...



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell