PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जो गोरु लिएर खेत जोत्न हरेक दिन छम्पी ओर्लिन्छन्...

जो गोरु लिएर खेत जोत्न हरेक दिन छम्पी ओर्लिन्छन्...

रोजन श्रेष्ठ/पहिलोपोस्ट


कोरोना संक्रमणका कारण देशभर निषेधाज्ञा लागू छ। ७७ मध्ये ७५ जिल्ला साढे एक महिनादेखि ठप्प छन्। जिल्ला प्रशासनहरुले अवस्थाको मूल्यांकन गरेर कतै निषेधाज्ञा खुकुलो बनाएका छन्। यद्यपि, जनजीवन भने ठप्पै छ। काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा जारी छ।

असार लागे यता किसानहरुलाई रोपाईको चतारो छ। पानी परिरहेकोले कृषकहरु निषेधाज्ञाबिच रोपाईमा लागेका छन्। ललितपुरको ग्रामीण क्षेत्रमा रहेको छम्पीमा पनि अहिले रोपाई चलिरहेको छ।

सम्बन्धित समाचार : मनसुन बढ्दा रोपाईको चटारो, दृश्यमा छम्पीको माहोल

रातो सर्ट, कालो रंगको टोपी र हाफ ज्याकेट लगाएका शंकर नगरकोटीको कपडा भरि हिलो लागेको छ। छम्पीभन्दा माथि लुकुन्डोल डाँडामा बस्ने उनी हरेक दिन घरबाट छम्पी आउँछन्। दुई वटा गोरु लिएर।

उनको काम खेत जोत्ने। वर्षातबिच छम्पीका रहेका खेत एक्लै गोरुको सहाराले जोत्दै थिए उनी। जसका लागि बिहान ७ बजेदेखि नै उनी निस्किन्छन्। काम सकिने बेला बेलुकी हुन्छ। अनि काँधमा हलो बोक्छन्, फेरि गोरुलाई लिएर उकालो लाग्छन्।

शहर निषेधाज्ञामा बन्द रहेको बेला पनि उनको यो दैनिकी भने जारी थियो।

भन्छन्, ' यो नगरे के खाने। त्यसैले बिहानै उठेर हिँड्नुपर्छ। हामीलाई निषेधाज्ञा भनेर भित्रै बस्ने छुट छैन।'

३९ वर्षीय उनको जिजीविषा गत वर्षको लकडाउनले प्रभावित गरेकै थियो। यो वर्षपनि निषेधाज्ञाले प्रभावित गरेको छ। त्यसैले घरमा खाने लाउनेको जोहो गर्नै भएपनि हरेक दिन डाँडाबाट गोरु लिएर अरुको खेत जोत्न तल झर्ने गरेको उनी सुनाउँछन्। 

नगरकोटीको परिवारमा चारजना छन्। उनीसँगै श्रीमती, छोरा र छोरी। सबैको जीविकोपार्जनको जिम्मा उनैमा छ।

'लकडाउनले त गाह्रो बनाइहाल्छ नि। तर अभाव पूरा गर्न पनि काम त गर्नैपर्छ। घर त चलाउनै पर्‍यो' उनले भने।

राजधानी नजिक रहेपनि सेवा सुविधानको हिसावमा उनी बस्ने ठाउँ विकट मानिन्छ। निषेधाज्ञाको समयमा पनि यहाँ खेती चलिरहेको थियो। अहिले वर्षात् सँगै छम्पी लगायत खेती योग्य जमिनमा रोपाईको दिनहुँ चटारो छ।



ट्रेन्डिङ पोस्ट

Ncell