- रविन निरौला (पीएचडी) -
असार १ गते मंगलवार दिउँसोबाट हेलम्बु क्षेत्रमा वर्षा शुरु भयो। उक्त पहिरोबारे शुक्रवार(हिजो)सम्म धेरैलाई ठम्याउन मुश्किल भयो। पहिरोको कारण पत्ता लाग्न सकेन। धेरैले मेलम्ची घ्याङमा गएको पहिरोले पानी थुनिँदा र त्यो फुटेपछि बाढी आएको ठाने। हामी पनि अन्यौलमै थियौं। कतिले मेलम्ची खानेपानीको ड्याम खोलेर पनि बाढी बढाएको अनुमान गरे।
तर, खोलामा जुन किसिमको पाँगो माटोको लेदो बगेर आएको थियो त्यसले धेरैलाई सोच्न बाध्य बनायो। आखिर यस्तो माटो कहाँबाट बगेर आयो? कारण खोजी सुरु भयो। शुक्रवार थाहा भयो सबैभन्दा उँचो भागमा गएको पहिरोबारे। भीषण पहिरो हेलम्बुको वडा १ मा रहेको भ्रेमाथाङमा गएको रहेछ।
भ्रेमाथाङ कस्तो ठाउँ?
लामटाङ राष्ट्रिय निकुञ्जको हेलम्बु क्षेत्रमा रहेको ठाउँ हो भ्रेमथाङ। यो उपत्यका जस्तै ४ वर्गकिलोमिटरमा फैलिएको छ। यहाँ केही साना ताल पनि छन्। यो भूभाग समुन्द्री सतहदेखि ३ हजार ५ सय मिटर उचाईमा रहेको छ।
धेरै अघि हेलम्बुका बासिन्दा अन्य क्षेत्रमा झैं यहाँ पनि तीर्थाटनका लागि जाने गरेको पाइएको छ। पछिल्लो समय भने त्यहाँ तीर्थ जाने कुरा सुनिएको छैन। यही मंगलवार ठूलो पहिरो गएको छ। यहीको कालो माटो अहिले मेलम्चीको दोभानमा थुप्रिएको हो। कतिले हिमपहिरो अर्थात् 'ग्लासियर' फुट्यो पनि भनेका छन्। मेलम्चीको शिरमा ग्लासियर छैन।
पहिरोको दृश्य। फोटो : फुर्वा रोहित घले
कसरी गयो पहिरो?
भूकम्प लगत्तै हामी यस क्षेत्रको अध्ययनका लागि निस्किएका थियौं। हेलम्बुमा मेलम्ची घ्याङ क्षेत्रदेखि माथिका अधिकांश भाग भूकम्पले चिराचिरा पारेको थियो। हाम्रो अनुमान त्यही बेला नै पहाड भत्किने भन्ने थियो। हामीले यससम्बन्धी ध्यानाकर्षण सम्बन्धित निकायलाई गराएका थियौं पनि।
चिराचिरा परेको जमिनमा पानी पर्दा पानी भित्र पसिरहेकै हुन्छ। कुन बेला भत्किने भन्ने ठेगान हुँदैन। यसैगरी भ्रेमाथाङमा पनि चिरा परेको जमिनमा पानी पसिरह्यो र मंगलवारको वर्षाले भत्काउन सहयोग पुग्यो।
यसपटकको मनसुन सीधै उच्च हिमाली भेगतिर
अघिल्ला वर्षहरुमा मनसुनको प्रवेश तल्लो भेग हुँदै माथितिर प्रवेश गर्ने हुन्थ्यो। तर, यस पटक उच्च हिमाली भेगबाट मनसुनको प्रवेश भयो। जसकारण पानी अत्याधिक पर्यो र भ्रेमाथाङ भत्किन यसैको सहयोग रह्यो। हिमाल पारिको जिल्ला भनिने मनाङमा पनि यही समयमा ठूलो वर्षा भयो। यसपालीको मनसुनको धार फेरिँदा पनि मेलम्ची बेहाल हुनुको कारण बन्यो। यस क्षेत्रमा भारी मात्रामा वर्षा भए पनि कति पर्यो भन्ने तथ्याङ्क आइसकेको छैन। त्यस क्षेत्रको वर्षा मापनका लागि सेर्माथाङमा मापन केन्द्र राखिएको छ। हिमाली क्षेत्रको वर्षा मापनको तथ्याङ्क ढिला आउने गर्छ।
पहिरो, बाढी र पहिरो : तीन कारणले बढायो क्षति
यसपटकको बाढी ठूलो हुनुमा तीन घटना एकै साथ हुनु मुख्य कारण देखिन्छ। यसको पहिलो कारण भ्रेमथाङको पहिरो हो। त्यहाँ पहिरो गएपछि आएको बाढी ठूलो थियो। त्यही लेदोसहितको बाढी फेरि मेलम्ची घ्याङ नजिकैको पहिरोले छेक्यो। मंगलवार साँझ ६ बजेदेखि ७ बजेसम्मको अवधिमा झन्डै ४५ मिनेट बाढी थुनियो।
बाढी आउँदा खोलाको बाढीको बहाव ४.५ पुग्यो। ४५ मिनेट थुनिएर खुल्दा बहाव ६ मिटरभन्दा माथि गयो। यही बहावले तिम्बु क्षेत्रको पुल बगाउन मद्दत पुग्यो। थपिँदै थपिँदै आएको बाढी र यता इन्द्रावती खोलाको बाढी एकआपसमा दोभानमा जुधे। त्यसपछि बाढीको बहाव बजारतिर मोडियो।पानीको करेन्ट थपियो र मेलम्ची बजारमा ठूलो क्षति भयो।
मेलम्चीमा कति तह थुप्रियो लेदो?
मेलम्ची क्षेत्रको ठूलो मात्रमा रहेको दोभान अहिले बगरमा परिणत भएको छ। बगर क्षेत्र कति भरिएको हो भनेर ठ्याक्कै अनुमान गर्न सकिएको छैन। किनभने पुलको पिलरमा पानीको बहाव कति आयो भनेर जाँच गर्ने स्केल राखिएको हुन्छ। त्यसका आधारमा यकिन हुनसक्थ्यो। तर, मेलम्चीको पुल नै बगाएकाले यसको बहाव जाँच्न सकिएन। फेरि यहाँ पुलभन्दा धेरै माथि बाढी चढेकोले पनि यसको अनुमान गर्न नसकिएको हो।
नदीको किनारमा रहेका घरलाई लिएर हेर्दा यस क्षेत्रमा लगभव २५-३० फुट लेदो भरिएको छ। चनौटे क्षेत्रमा २० फुटभन्दा कम छ। कतिले मेलम्ची खोलाको ड्याम खोलेको भन्ने कुरा पनि गरेका छन्। यो संयोग भयो। तर, यस पटकको बाढी यसरी आउनुमा प्रमुख भूमिका माथि भ्रेमाथाङकै पहिरोको देखिएको छ। मानिसहरुले खोलाको धारलाई बिगार्ने काम गरेका छन्, त्यसले अहिलेको परिस्थिति बन्नलाई सघाएको मान्नुपर्छ।
टरेको छैन खतरा
मंगलवारजस्तै बाक्लो पहिरो शुक्रवार पनि आएको छ। शुक्रवार ३ देखि ५ बजेसम्म हेलम्बु क्षेत्रमा भारी वर्षा भएको थियो। तर, मेलम्ची क्षेत्रमा पानी परेको थिएन। पानी नपरी बाढी आउँदा भने धेरैले आश्चार्य मानेका थिए। हेलम्बुबाटै आएको वर्षाका कारण मेलम्चीमा बाढी बढेको थियो। र, बाढी लेदो माटो सहितको थियो। त्यो माटो भ्रेमाथाङकै पहिरोबाट बग्दै आएको हो।
इन्द्रावती र मेलम्चीको दोभान।
भ्रेमाथाङमा पहिरो खस्ने खतरा अझै टरेको छैन। पानी पर्नसाथ यस्तो घटना दोहोरिन सक्छन्। यस वर्ष नभए अर्को वर्ष पुनरावृत्ति हुनसक्छ। त्यहाँ पहिरोले घाउ बनाएर राखेको छ। यस्तो घाउले दिने जोखिम ४-५ वर्षसम्म कायमै रहन्छ। त्यसैले यसको व्यवस्थापनका लागि सरकारले काम गर्नै पर्छ। तटीय क्षेत्रमा बासिन्दाले पनि अब सावधानी अपनाउनुपर्छ। सन् २०१२ देखि म यसै क्षेत्रको खानेपानीको मुल सम्बन्धी अध्ययन गर्दै आएको हुनाले यी विषयमा जान्ने मौका मिलेको हो।
नगरपालिकाको सावधानी कस्तो?
मेलम्ची नगरपालिकालाई हामी लगायत युएनडीपीले पनि मेलम्ची बजार खतरामा छ भनेर रिपोर्ट बुझाएको भूकम्पपछि नै हो। यसै अनुरुप नगरपालिकाले नदी क्षेत्रका २०० फिट वरपर रहेको ठाउँमा घर बनाए नक्सा पास नगर्ने नीति लिएको थियो। तर, पुर्ख्यौली घर भएकाले त्यसको पालना भएन। कसरी छोड्ने आफ्नो थलो भन्ने भयो पहिलेदेखि नै बसिरहेका नगरवासीलाई।
यता नगरपालिकाले पनि कभर्ड हल बनाएर आफ्नै नीतिको पालना गरेको देखिएन। नगरपालिकाले कभर्ड हल बनाएपछि सर्वसाधारणले पनि आफ्नो जमीनमा निर्माण कार्य जारी राखे। त्यसैअनुरुप घरहरु बने, भूकम्प पछि। हुन त नगरपालिकाले तटीय क्षेत्रमा छेकवार बनाएको थियो। तर, यस्तो सोच्नै नसकिने खालको प्रकोपले छेकवारको घेरालाई किन टेर्थ्यो र?
(वातावरणविद् डाक्टर निरौलासँग नेत्र तामाङले गरेको कुराकानीमा आधारित)