PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चार्टरबाट ठगी धन्दामा कर्मचारी, लुटमा ट्राभल एजेन्सी र वायुसेवाको मिलेमतो : पर्यटनमन्त्री भन्छन्, 'निर्देशन टेरेनन्'



वसन्तराज उप्रेती

चार्टरबाट ठगी धन्दामा कर्मचारी, लुटमा ट्राभल एजेन्सी र वायुसेवाको मिलेमतो : पर्यटनमन्त्री भन्छन्, 'निर्देशन टेरेनन्'

काठमाडौं : वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई चार्टर उडानबाट विदेश जाँदा ठग्नमा ट्राभल एजेन्सीका साथै पर्यटन मन्त्रालयकै कर्मचारीहरुकै मिलेमतो रहेको पाइएको पर्यटन मन्त्री उमाशंकर अरगरियाले बताएका छन्।

रोजगारीका लागि खासगरी साउदी जाने नेपाली श्रमिकहरुबाट होटल क्वारेन्टिन समेतको प्याकेज जोड्दै चार्टर उडान भाडाका नाममा ट्राभल एजेन्सीले दुई लाख रुपैयाँसम्म लिइरहेका छन्। नियमित उडान हुँदा काठमाडौं-दम्माम-काठमाडौंको दुईतर्फी उडान भाडा ४५ हजार रुपैयाँको हाराहारीमा आउँछ। तर अहिले एकतर्फी भाडा नै १४ दिनको होटल क्वारेन्टिनसहितको प्याकेज जोडेर दुई लाख रुपैयाँ हाराहारी असुल गरिरहेका हुन्।

साउदीमा रहेका नेपालीहरुका अनुसार, त्यहाँ यतिबेला तीन तारेस्तरको होटलमै १४ दिनको क्वारेन्टिन प्याकेज ६० देखि ७० हजार रुपैयाँ हाराहारीमा सजिलै पाइन्छ।

यसरी निजी क्षेत्रको वायुसेवा कम्पनीमार्फत चार्टर उडानबाट श्रमिकबाट अचाक्ली चर्को शुल्क असुलेर श्रमिक दोहनको काम मन्त्रालयकै केही कर्मचारी, ट्राभल एजेन्सी र वायुसेवा कम्पनीको मिलिभगतमा भइरहेको पर्यटन मन्त्री अरगरियाले बताए।

अहिले निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले साउदी अरेबियाका लागि चार्टर उडान गरिरहेको छ।

आफू आउनुअगाडिका दुई मन्त्रीको कार्यकालदेखि नै कर्मचारीको बदमासी रहँदै आएको जिकिर गर्दै मन्त्रीले भने, 'पैसै खानका लागि केही कर्मचारीले बदमासी गरेका छन्। केही ट्राभल एजेन्सीसँग मिलेर चार्टर गरेको देखिएको छ।'

मन्त्री अरगरियाको भनाइमा उनले यसरी वायुसेवा कम्पनी र ट्राभल एजेन्सीमार्फत श्रमिक शोषण हुने काममा सघाउ पुर्‍याइरहेका कर्मचारीलाई कारबाही अघि बढाएको समेत जिकिर गरे। उनी भन्छन्, 'मैले मन्त्री नियुक्त भएलगत्तै चार्टर उडान बन्न गराउन मौखिक निर्देशन दिएको थिएँ। तर केही कर्मचारीले चार्टरलाई नै प्राथमिकता दिएकाले तिनलाई कारबाही अघि बढाइसकिएको छ।'

चार्टर उडान सेटिङमा भइरहेको समेत उनको खुलासा छ।

सम्बन्धित गन्तव्य मुलुकको सिफारिसबिना चार्टर उडान गर्न मिल्दैन। यसैले मन्त्रालयका कर्मचारीहरुले दूताबासलाई वायुसेवाको नामै तोकेर सिफारिस दिनका लागि भन्दै चार्टर अनुमति दिलाउँदै आएको बुझिएको छ।

यसलाई स्विकार्दै मन्त्री अरगरियाले भने, 'यस्तो मिलेमतोलाई पर्दाफास गरेर कारबाही गर्न सुरु गरिसकेको छु । मौखिक आदेशले चार्टर गर्न रोकिसकेको थिएँ। तैपनि कहाँबाट यिनीहरुमा आँट आयो?'

आफ्नै सक्रियतामा सम्बन्धित कर्मचारी, ट्राभल एजेन्सी लगायतलाई कारबाहीको प्रकृया अगाडि बढाइसकेको उनले बताए।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई चर्को भाडा असुल्ने नेक्ससमा दोषी पाइएका कर्मचारी र ट्राभल एजेन्सीको नाम भने अरगरियाले खुलाउन चाहेनन्। यद्यपि, चार्टर उडानमा हुँदै आएको अनियमितताबारे केही दिनमै सार्वजनिक गर्ने उनले बताए।

'चार्टरबाट श्रमिक दोहनको खेल एक वर्षदेखि'

चार्टर उडान गरेर यात्रुबाट चर्को रकम असुल्ने खेल अहिले मात्र नभएर एक वर्ष अघिबाटै भइरहेको पाइएको मन्त्री अरगरियाको भनाइ छ।
मन्त्रालयभित्रका एक मात्र नभएर अन्य कर्मचारीको समेत यसमा संलग्नता रहेकाले त्यसलाई ढाकछोप गर्न एउटा कर्मचारीलाई सोध्दा अर्कोलाई देखाउने गर्दै मन्त्रीलाई नै कर्मचारीहरुले घुमाइरहेको पनि बुझिएको छ।

साउदी जानेसँग दुई लाखसम्म असुली, कोभिडको नाममा हवाई कम्पनीले सर्वसाधारण लुटिरहँदा सरकार नै साक्षी

चार्टर उडानमा विदेशगरी साउदी जाने श्रमिकबाट ट्राभल र वायुसेवा कम्पनीले चर्को भाडा असुलिरहेको विषयमा आइतबार समाचार प्रकाशन भएको थियो। सो लगत्तै आइतबार बेलुका नै मन्त्रालयका कर्मचारीलाई स्पष्टिकरणसहित उपस्थित हुन निर्देशन दिएको र सम्बन्धित ट्राभल एजेन्सीलाई पनि कारबाही गर्नका लागि समेत पत्राचार भइसकेको उनले भने।

चार्टर उडानबाट ठगी धन्दामा 'ठूला कर्मचारीहरु' कै संलग्नता रहेकाले गत साता क्याबिनेटले विभिन्न मुलुकमा साताको दुईवटा उडान खुला गर्ने निर्णय गरे पनि त्यसलाई कार्यान्वयनमा नल्याउन उनीहरुकै बदमासी भएको समेत मन्त्री अरगरियाको आरोप छ।

बहसमा आएजसरी चार्टर उडान महँगो रहेको पाइएमा सम्बन्धित वायुसेवा कम्पनी, ट्राभल एजेन्सी लगायतलाई आवश्यक कारबाही गर्ने तयारी रहेको पर्यटन सचिव यादवप्रसाद कोइरालाले बताए। 'हिजो मात्र समाचारमा आएपछि थाहा पाएको छु। छानविन गरेर बदमासी गर्नेहरुलाई आवश्यक कारबाही गर्नेछौँ,' कोरालालले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell