PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

एकपछि अर्को गर्दै भेटिएका 'क्लु'हरू जसले सहजै ट्र्याक गर्‍यो विभत्स हत्याको अनुसन्धान



सविन ढकाल

एकपछि अर्को गर्दै भेटिएका 'क्लु'हरू जसले सहजै ट्र्याक गर्‍यो विभत्स हत्याको अनुसन्धान

काठमाडौं : महिलाको शरीर जङ्गलभित्रको शौचालयमा लडिरहेको थियो। उनका शृङ्गारका सामान भुईंभरी छरपस्ट थिए। रगतको टाटा लागेको भित्री वस्त्र पनि फालिएको थियो। गलामा लगाउने मालाका दाना चुँडिएर छरपस्ट थिए। मोबाइलको खोल र ब्याट्री त देखियो तर फोन भेटिएन।

घटनास्थल वरपर प्रहरीले सुरु गर्‍यो 'सर्च।' अनुसन्धानमा सघाइरहेको थियो प्रहरीको तालिम प्राप्त कुकुरले।

त्यतिबेलासम्म मृतको को हुन्? भन्नेबारे भेउ समेत थिएन प्रहरीलाई। मृतकको सनाखत नहुँदा अनुसन्धान ट्र्याक मिल्न मुश्किल हुन्छ। झन् यहाँ त मृतकको साथमा पहिचान खुल्ने कुनै कागजपत्र थिएनन्। तर, अचानक घटनास्थल नजिकै एउटा बट्टा भेटियो। त्यसभित्र थियो - गँगटो।

गँगटोसहितको बट्टा र वरपर भेटिएका सबै सामान प्रहरीले संकलन गर्‍यो। मुचुल्का उठायो। प्रहरी टोली त्यहाँबाट हिँड्नुअघि झोलामै फेला पर्‍यो एउटा सेतो कागज। त्यो टिस्यु पेपर थियो जसमा फोन नम्बर लेखिएको थियो। सम्पर्क नम्बरको विवरण - 'मिडिया सञ्जाल।'

शवको सनाखत गर्न मुश्किल हुँदै गएको अवस्थामा त्यही कागजको टुक्रा अस्त्र बन्यो, घटनाको गहिराइमा पुग्ने।

प्रहरीले त्यही नम्बरमा फोन गर्‍यो। नम्बर कुन अवस्थामा कसरी फेला पर्‍यो? भन्नेबारे जानकारी दिइयो। सँगै प्रश्न पनि सोधियो – कसैलाई टिस्युमा नम्बर लेखेर दिनुभएको याद छ?

फोनमा बोल्नेले फ्याट्टै जवाफ फर्काए – सन्तोषी सुब्बा।

 ती व्यक्तिले जसलाई नम्बर दिए उसलाई सम्झनुको कारण - सन्तोषी केही परिचित थिइन्। युट्युबमा भाइरल कलाका। उनैलाई थियो मङ्गलवार दक्षिणकाली मन्दिर नजिकैको जङ्गलमा शौचालय भित्र भेटिएको।

'त्यही कागजमा नम्बर भेटिएपछि हामीलाई अनुसन्धानले धेरै ट्रयाक गर्‍यो। उनका आफन्तलाई भेटेपछि थप कुराको जानकारी आएको थियो,'  महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पङ्गेनीले बताए।

प्रहरी त्यसपछि सन्तोषीका धर्म बुवा धर्मबहादुर तामाङकोमा पुग्यो। उनले छोरी ५ गतेदेखि नै आफूसँग सम्पर्कमा नरहेको जानकारी दिए। तामाङबाट प्रहरीले सन्तोषीको मोबाइल नम्बर त पायो तर मृतकले बोक्ने मोबाइल घटनास्थलमा नभेटिएकाले प्राविधिक पक्षतर्फ पनि अनुसन्धान डोहोर्‍याइयो।

केही घन्टाकै चिनजानमा मदिराको उन्मादले निम्त्याएको एउटा डरलाग्दो हत्या

त्यसपछि प्रहरी पुन: घटनास्थल वरपरै फर्किए सन्तोषीको फोटो बोकेर, सोधपुछका लागि। यसपटक पनि प्रहरीलाई अनुसन्धानमा मद्दतै मिल्ने 'हिंट'हरू भेटिए।

असार ६ गते मध्य दिनदेखि साँझ करिव ६ बजेसम्मै एउटा होटेलमा बसेर चिया, खाजा खाएकी रहेछिन्। घटनास्थलमा भेटिएको गँगटो उनैले बोकेर हिँडेको समेत खुल्यो। त्यसपछि मृतक सन्तोषी नै हुन् भन्ने सनाखत गर्न समस्या भएन।

मृतक त पत्ता लाग्यो। तर, हत्यारा को? अब प्रहरीको अनुसन्धान त्यही प्रश्नको उत्तर खोज्नतर्फ सोझियो। किनकि घटनाको प्रकृतिले हत्या नै भएको इंकित गरेको थियो।

खाजा घरबाट सन्तोषी एक युवकसँगै निस्किएकी रहिछन्। ती युवक भेटिए उल्झन् कम हुन सक्थ्यो। को थिए त सन्तोषीसँग निस्किने युवक? अनुसन्धान युवकतर्फ मोडियो।

प्रहरी अन्य पक्षबाट पनि अनुसन्धान गरिरहेको थियो। असार ५ गते राति उनी सुतेको होटेलदेखि अन्य पाटो प्रहरी नकेलाएको भने होइन। तर, अब त खोजको केन्द्रमा थिए ती युवक। अनुसन्धानकै क्रममा युवक गाडीमा काम गर्ने खुल्यो। त्यसपछि दक्षिणकाली क्षेत्रमा प्रहरीले युवकको हुलिया, नामको आधारमा सोधखोज गर्‍यो।

पत्ता लाग्यो - असार ६ गते राति करिब ९ बजेपछि ती युवकले आफ्नो बाबु बिरामी भएको भन्दै ट्याक्सी लिएर हिँडेका रहेछन्। उनलाई टेकुसम्म पुर्‍याउने चालक भेटिएका थिए।

'२ हजार रुपैयाँ भाडा लिएर टेकुतिर छोडेको ट्याक्सी चालकले जानकारी दिएका थिए,' एसपी पङ्गेनीले भने।

चालकको जानकारीले अनुसन्धानलाई टुङ्गोतिर पुर्‍याउनेमा आशावादी थियो प्रहरी।

शव भेटिएको २४ घण्टाभित्र प्रहरी युवकको कोठामा पुग्न सफल भयो। काठमाडौं २७ कमलाक्षीमा कोठा गरी बस्थे। प्रहरी पुग्दा उनको हातमा ब्यान्डेज बाँधिएको थियो। शरीरमा चोट लागेको थियो उनको पनि। घटनासँग मिल्दो 'क्लु'हरू मिल्दै थियो। भेटिएका युवक थिए- सिन्धुपाल्चोक घर भएका २९ वर्षीय सुरेश तिमल्सिना। पेशाले सहचालक।

प्रहरीले अभियुक्तको कोठामा छापा मार्दा मृतकको मोबाइल र मेमोरी कार्ड फेला परेको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले बताए। मृतकको मोबाइल त्यहाँ भेटिनुले अनुसन्धानलाई झन् 'न्यारो डाउन' गरिहाल्यो।

अन्ततः युवकले घटना लुकाउन सकेनन्। आफैँले हत्या गरेको स्वीकार गरे। यौन सम्बन्ध राख्न खोज्दा चिच्याएपछि हत्या गरेको बयान युवकले दिए। युवकले खाजा खाएपछि राति बस्न र सुत्नको लागि आफ्नो बसमा ठाउँ छ भन्दै सन्तोषीलाई आफूसँग लगेका थिए।

एउटा टिस्यु पेपरको क्लुबाट सुरु भएको अनुसन्धान अन्ततः अभियुक्तसम्म पुगेर टुङ्गिएको छ। यसरी यौन र मदिराका कारण गुमेको होसले विभत्स हत्यासम्म पुर्‍यायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell