PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओलीको तारो बनेका 'बाजे वकिल' को देउवा र प्रचण्डले गरे खुलेर प्रशंसा : रेस्पेक्ट गर्न नजान्नेले देश बनाउँछ र?



प्रकाश भण्डारी

ओलीको तारो बनेका 'बाजे वकिल' को देउवा र प्रचण्डले गरे खुलेर प्रशंसा :  रेस्पेक्ट गर्न नजान्नेले देश बनाउँछ र?
कोलाज फोटो : twitter.com/narendrapeter

काठमाडौं : कुनैबेला प्रधानमन्त्री केपी शर्मा ओलीको तारो बनेका 'बाजे वकिल' कृष्णप्रसाद भण्डारको विपक्षी गठबन्धनका शीर्ष नेताहरुले खुलेर प्रशंसा गरेका छन्। सोमवार गठबन्धनका नेताहरुले नागरिक समाजसँग गरेको अन्तक्रियामा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भण्डारीको खुलेर प्रशंसा गरेका हुन्।

‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन,’ पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओलीले माघ ९ गते ओली समूहको कार्यक्रममा प्रतिनिधि सभा पुन:स्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता भण्डारी लक्षित व्यक्तिगत टिप्पणी गरेका थिए।

देउवालाई सित्तैमा पढाउँथे 'बाजे वकिल'

प्रधानमन्त्री ओलीप्रति आक्रामक देखिएका देउवाले बाजे वकिलको सबैभन्दा बढी चर्चा गरे। देउवाले सम्बोधनका क्रममा आफू नेपालकै जेठो कानुन व्यवसायी तथा बाजे वकिल भनेर चिनिएका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको विद्यार्थी भएको बताए। विद्यार्थीकालमा भण्डारीले आफूलाई सित्तैमा पढाएको भन्दै अधिवक्ता भण्डारीको देउवाले प्रशंसा गरे।

'कृष्णप्रसाद भण्डारीको कुरा गर्नुहुन्छ भने हामी विद्याथर्थी हुदाँखेरी हाम्रो चाही कहिले पनि फिस लिनुभएन उहाँले,' देउवाले भने। यस्तै, देउवाले राजाको बेलामा सित्तैमा वकालत गरेर भण्डारीले छुटाएको बताए। अहिले पनि भण्डारीले गरिरहेको वकालत लोकतन्त्रका पक्षमा भएको उनको भनाई थियो। 'राजकाल हुँदा पनि फ्रि अफ कस्ट वकालत गरेर उहाँले छुटाउनुभयो। उहाँ अहिले पनि लोकतन्त्रको पक्षमा वकालत गरिरहनुभएको छ। मेरो र मेरो पार्टीको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु,' देउवाले भने।

सम्बोधनकै क्रममा शुरुमै प्रचण्डले भण्डारको प्रशंसा गरेका थिए। पहिलपटक भएको प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा वकालत गरेका भण्डारी अन्तर्क्रियामा अन्तिमसम्म बसेकोमा प्रचण्ड खुसी देखिए।, 'बयोवृद्ध कृष्णप्रसाद भण्डारी शुरुदेखि अन्तिम समयसम्म बसिरहनुभएको छ। यो बयोवृद्ध उमेरमा पनि राष्ट्रका प्रति लोकतन्त्रका प्रति उहाँले र न्यायका प्रति उहाँको कमिटमेन्टलाई हार्दिक सम्मान प्रकट गर्दछु,' प्रचण्डले भने।

रेस्पेक्ट गर्न नजान्नेले के देश चलाउँछ?

अधिवक्ता भण्डारीको प्रशंसा गर्ने क्रममा देउवाले ओलीको आलोचना गरे। उनले पहिलोपटक प्रतिनिधि सभा विघटन हुँदा अदालतमा बहसका क्रममा भण्डारीलाई अपमान गरेको भन्दै ओलीको आलोचना गरेका हुन्। सम्मानित व्यक्तिको अपमान गर्नेले देश बनाउन नसक्ने देउवाको तर्क थियो। 'सबैले बाजे वकिल भन्छन्। कृष्णप्रसाद भण्डारीजस्तो व्यक्ति आउनुभयो। रेस्पेक्ट गर्नुपर्ने मान्छेलाई पनि रेस्पेक्ट गर्न नसक्ने मान्छेले के देश चलाउँछ? के देश बनाउँछ?' उनले प्रश्न गरे।

पुस ५ गते ओलीले गरेको प्रतिनिधि सभा विघटनका बेला ओलीको विपक्षमा वकालत गरेका भण्डारीका बारेमा ओलीले गरेको टिप्पणीबारे चर्को आलोचना भएको थियो। उक्त आलोचनापछि ओलीले आफ्नो बचाउ गरेका थिए

'शम्भु थापाले पनि जेलबाट छुटाए'

देउवाले कानुन व्यवसायीको भुमिकाको प्रशंसा गर्ने क्रमामा कानुन व्यवसायी शम्भु थापाको पनि प्रशंसा गरे। शाही कालमा जेलमा थापा भेटन आएको र उनले नै वकालत गरेर छुटाएको देउवाले बताए।

'शम्भु थापाले केही गम्भीर कुरा उठाउनुभयो शाही कालमा हामीलाई थुन्दाखेरी उहाँ भेट्न आउनुहुन्थ्यो,' देउवाले भने।

संवैधानिक नियुक्तिबारे सोधिएको प्रश्नमा देउवाले आफ्नो नियुक्तिमा विरोध भएको बताएका छन्। संविधानमा संवैधानिक परिषदले नियुक्त गरेको ४५ दिनभित्र सुनुवाइ हुनुपर्ने नभए स्वत: सुनुवाइ भएको मानिने भएकाले ओलीले संवैधानिक नियुक्त गरेको बताए। आफूले संवैधानिक परिषदको वैठकमा विरोध गरेको र पछिल्लो वैठकमा नगएको देउवाको प्रष्टिकरण थियो।

'यो संविधानमा नै व्यवस्था छ। सनुवाइ समितिले सुनुवाइ गरेर पास गर्नुपर्छ। केही कारणले ४५ दिनभित्र सुनुवाइ नभए सुनुवाइ भएसरह हुनेछ भन्ने रहेछ। पहिला पनि उहाँले संसद विघटन हुन्छ भनेर ४५ दिन कटाएर गर्नुभयो। अहिले पनि त्यस्तै गर्नुभयो। संवैधानिक नियुक्तिमा बदमासी भएको छ। हामी त्यहाँ पनि गएका छैनौ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell