PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

नेकपा एमालेको विवाद आजै मिल्ने दाबी, कार्यदलको बैठक रोकेर दुवै समूह गृहकार्यमा



प्रकाश भण्डारी

नेकपा एमालेको विवाद आजै मिल्ने दाबी, कार्यदलको बैठक रोकेर दुवै समूह गृहकार्यमा

काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि थालिएको वार्ता निष्कर्षमा पुर्‍याउन दुवै समूह गृहकार्यमा जुटेका छन्। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता आन्तरिक गृहकार्यमा जुटेका हुन्।

आज सिंहदरबारमा बसेको कार्यदलको बैठकलाई रोकेर वार्तालाई निष्कर्षमा पुर्‍याउनका लागि दुवै पक्ष अहिले छलफलमा जुटेका छन्। आजै साँझ ७ बजे फेरि कार्यदलको बैठक बस्ने तय भएको छ।

यस्तै, कार्यदलका नेताहरुले एमालेको विवाद समाधानका लागि सहमतिको बिन्दुमा पुगिसकेको बताएका छन्। कार्यदलका सदस्य तथा नेपाल समूहका नेता गोकर्ण बिष्टले लगभग सहमति भएको बताए। उनले आजै वार्ता टुंगोमा पुग्ने दाबी गरे।

'दुई नेताहरुबिच भएको संवादलाई मध्यनजर गर्दै अनौपचारिक र औपचारिक गृहकार्य सहित निष्कर्षमा छलफल गरियो। हिजो भन्दा आज प्रगति भएको छ। आज बेलुका नै टुंगो लगाउने गरि अर्को बैठकको आयोजना भएको छ,' उनले भने।

सहमतिका लागि केही समय लाग्ने भए पनि धेरै विषय सहमतिमा पुगेको बिष्टले बताए। भने,'२/४ घण्टा समय लाग्न सक्छ। हरेक दिन बैठकमा प्रगति भएको छ। आज बेलुका धेरै हदसम्म समाधान खोज्छौ। अब धेरै समय लाग्दैन।'

ओली समूहका तर्फबाट कार्यदलका संयोजक रेहका नेता सुवास नेम्बाङले पनि विवाद सहमतिको नजिक पुगेको बताए। उनले आफू सहमति हुनेमा आशावादी रहेकाले दुवै पक्षको छलफल पछि आजै वार्ता टुंगोमा पुग्ने दाबी गरे।

'हल्लाका पछाडी नलागौं। जे भएको छ ठिक भएको छ। आजै हामी निष्कर्षमा पुर्‍याउने जोडमा छौं। छलफल गम्भीर र सकारात्मक छ। यही कुरामा हामी निरन्तर छलफल गरिरहेका छौ,' उनले भने।

एमालेको कार्यदलको बैठक आजै बेलुकी ७ बजे बस्ने तयारी छ। आज बिहान सिंहदरवारमा कार्यदलको बैठक बस्नुअघि दुवै समूहका नेताहरुले अनौपचारिक संवाद गरेका थिए। उक्त सवांदपछि नेपाल समूहका नेता तथा कार्यदलका संयोजक भीम रावललाई वार्ताको प्रगतिबारे ब्रिफिङ गरेपछि सिंहदरवारमा कार्यदलको बैठक बसेको थियो।

बुधवार साँझ ओली र नेपालले एक्ला-एक्लै सवांद गरेका थिए। त्यसपछि विवाद समाधानका लागि कार्यदल थप सक्रिय भएको हो। 

एमालेको विवाद मिलाउनका लागि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ जना नेताले गरेको हस्ताक्षर र ओलीले गरेको संसद विघटनलाई राजनीतिक निर्णय मानेर समान धारण बनाउने सहमति भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell