काठमाडौं : सोमवारबाट नेपालमा अमेरिकामा विकास भएको कोभिड-१९ विरुद्धको खोप जोन्सन एन्ड जोन्सनको खोप दिन थालिएको छ।
५० वर्षदेखि ५४ वर्ष उमेर समूहका लागि दिन थालिएको 'सिंगल डोज' खोपका कारण थप केही साइड इफेक्टहरु देखिन सक्ने अमेरिकी फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडीए)ले जनाएको छ। साथै यसप्रति सचेतसमेत गराएको छ।
सामान्यतय खोप प्रयोग गर्दा ज्वरो आउने, ज्यान दुख्ने लगायतका लक्षणहरुसहितको साइड इफेक्ट आए पनि जोन्सन एन्ड जोन्सनको भ्याक्सिन प्रयोग गरेका बिरामीहरुमा गुइलिन बार सिंड्रोम (जीबीएस)का लक्षणहरु देखा परेका घटना अमेरिकामा सार्वजनिक भएका छन्। जीबीएसका लक्षण देखिन थालेपछि एफडीएले जोन्सन एन्ड जोन्सन प्रयोगका कारण दुर्लभ मष्तिष्कघात सम्बन्धी जोखिम बढ्नसक्ने चेतावनीसहित फ्याक्टसिट प्रकाशित गरेको छ।
एफडीएले भ्याक्सिनकै कारण लक्षण देखिएको भन्ने स्थापित भइनसके पनि कतिपय अवस्थामा पक्षघातका अवस्थासम्म पुगेका रिपोर्टहरुलाई नोट गरेको जनाएको छ।
एफडीएले जोन्सन एन्ड जोन्सनको खोप प्रयोगकर्ता र खोप प्रदान गर्नेहरुका लागि फ्याक्टसिट प्रकाशित गर्दै खोप लगाइसकेपछि जीबीएसका लक्षण देखिन सक्ने जोखिम बढेको उल्लेख गरेको सीएनएनले जनाएको छ।
एफडीएले जारी गरेको नयाँ फ्याक्ट सिटमा खोप लगाएको ४२ दिनसम्म जीबीएसको जोखिम बढेको रिपोर्टहरु आएको उल्लेख गरेको छ।
'यद्यपि, प्राप्त तथ्यहरु जीबीएस र जोन्सन एन्ड जोन्सन भ्याक्सिनको सम्बन्ध स्थापित गर्ने पर्याप्त छैनन्। यस्ता कुनै समान खालका संकेतहरु मोडेर्ना र फाइजर-बायोएनटेक कोभिड-१९ भ्याक्सिनमा देखिएका छैनन्,' अध्यवधिक गरिएको फ्याक्टसिटमा भनिएको छ।
एफडीएले अमेरिकी भ्याक्सिन एडभर्स इभेन्ट रिपोर्टिङ सिस्टममा १०० वटा प्रारम्भिक रिपोर्टहरु दर्ता भएको जनाएको छ। हालसम्म १ करोड १२ लाख बढी भ्याक्सिन दिइएको छ। जीबीएस (स्नायु सम्बन्धी विकारहरु देखिने र शरीरको प्रतिरक्षा प्रणालीले स्नायु कोषीकामा असर गरी पक्षघात निम्त्याउने) जोन्सन एन्ड जोन्सन कोभिड-१९ भ्याक्सिन लगाएकाहरुमा देखिएको एफडीएले जनाएको छ।
अहिले जोन्सन एन्ड जोन्सनको खोप लगाएका १०० जना जीबीएसको विकास भएकामध्ये ९५ प्रतिशत गम्भीर रहेको र अस्पतालमा भर्ना गरिएको न्युयोर्क टाइम्सले जनाएको छ।
यद्यपि, खोप लगाउनेको संख्या एक करोड २० लाख बढी रहेको कारण यो संख्या न्यून हो। तर, यसको असर पछि पनि देखिने हुँदा अध्ययन हुनुपर्ने जोन्सन एन्ड जोन्सनको ट्रायलका प्रमुख अनुसन्धानकर्ता जेफ्री कार्सनले बताएका छन्।
के हो जीबीएस?
जीबीएस मानिसको स्नायु प्रणालीमा देखिने दुर्लभ समस्या हो। जहाँ शरीरको प्रतिरक्षा प्रणालीले स्नायु प्रणालीमा असर गर्दै मांसपेसीलाई कमजोर बनाउँदै कतिपय अवस्थामा पक्षघातसम्म पुर्याउँछ। यद्यपि, यसको कारणको विषयमा पूर्ण जानकारी नभए पनि यो लक्षण भाइरस र ब्याक्टेरियाको संक्रमणसँगै देखिने गर्ने अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले जनाएको छ। सीडीसीको भ्याक्सिन सेफ्टी रिपोर्टअनुसार अमेरिकामा प्रत्येक वर्ष तीन हजारदेखि ६ हजार जनासम्ममा जीबीएसको लक्षण देखिने गरेको छ। अधिकांश मानिसहरु यसबाट मुक्त हुने भए पनि कतिपयमा भने स्थायी रुपमा स्नायु प्रणालीमा असर गर्छ।
जीबीएस जो कोहीमा पनि विकास हुन सक्ने भए पनि ५० वर् भन्दा माथिका मानिसहरु उच्च जोखिममा हुन्छन्। जीबीएसको लक्षण देखिने एक तिहाई मानिसहरुमा डायरिया अथवा फोक्सो अथवा साइनसको संक्रमण देखिने सीडीसीले जनाएको छ। फ्लू तथा अन्य भाइरस जस्तै साइटोमेगालो भाइरस र एपिस्टिन बार भाइरसको संक्रमण भएका व्यक्तिमा जीबीएसको विकास हुन्छ।
जीबीएसको विकास मानिसमा खोप लगाएको केही दिन अथवा हप्तापछि देखिने गर्छ।
भ्याक्सिनसँग जीबीएसको सम्बन्ध
सन् १९७६ मा स्वाइन फ्लूको भ्याक्सिनका कारण केही मात्रामा जीबीएको जोखिम देखिएको थियो। नेसनल एकेडेमी अफ मेडिसिनले २००३ मा सार्वजनिक गरेको साइन्स्टिफिक रिभ्युमा सन् १९७६ मा स्वाइन फ्लूको खोप लगाएकाहरुमा जीबीएस विकास हुने उच्च जोखिम रहेको देखाएको थियो। जुन जोखिम स्वाइन फ्लुको भ्याक्सिन लगाएका प्रत्येक १ लाखमा एक जनामा यस्तो देखाएको थियो। जीबीएसको जोखिम बढ्दै जाँदा फ्लूको भ्याक्सिन लगाएका प्रति एक लाख जनामा थप १-२ जनामा जीबीएसका केस देखिने गरेको सीडीसीले जनाएको छ।
'अध्ययनहरुले फ्लुको भ्याक्सिन लगाएपछि जीबीएसको विकास हुनु सामान्य जस्तै भएको पुष्टि गरेका छन्। हामीले के ध्यानमा राख्नुपर्छ भने गम्भीर विरामी र मृत्यु फ्लूका कारण रहेका छन्। र खोप लगाउनु फ्लुको संक्रमणबाट जोगिनु उत्तम उपाय हो,' सीडीसीको भ्याक्सिन सेफ्टी रिपोर्टमा भनिएको छ।
त्यस्तै, एफडीएले मार्च २०२१ मा दाद विरुद्धको खोप लगाउँदा पनि जीबीएसको जोखिम बढेको भन्दै चेतावनी जारी गरेको थियो।
अमेरिकामै शंकामा जोन्सन एन्ड जोन्सन
यसअघि पनि जोन्सन एन्ड जोन्सन कोभिड-१९ भ्याक्सिन प्रयोगमा पटक पटक अमेरिकी स्वास्थ्य नियमक निकायले रोक लगाएका छन्। गत अप्रिलमा पनि अमेरिकामा खोप लगाएका ६ जना महिलामा ब्लड क्लट देखिएका कारण केही समय खोप लगाउन रोकिएको थियो।
यसरी ब्लड क्लट देखिएमा ६ मध्ये अस्पतालमा एक जनाको मृत्यु भएको थियो भने अर्का एक जना अस्पताल भर्ना भएकी थिइन्। यो घटनापछि एफडीए र सीडीसीले खोपमा केही समय रोक लगाएका थिए।
यो पनि पढ्नुस् :
कोभ्याक्स मार्फत आइपुगेको जोन्सन एन्ड जोन्सनको भ्याक्सिन कस्तो हो?