PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

कहाँ पुग्यो कांग्रेस केन्द्रीय सदस्य घिमिरेमाथि कुटपिट गर्नेलाई कारवाही प्रक्रिया?



कहाँ पुग्यो कांग्रेस केन्द्रीय सदस्य घिमिरेमाथि कुटपिट गर्नेलाई कारवाही प्रक्रिया?

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि कांग्रेसकै नेताले हातपात गरे। क्रियाशील सदस्यता वितरण विवादको विषयलाई लिएर उनीमाथि सिन्धुपाल्चोक क्षेत्र १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले कुटपिट गरेका थिए।

पशुपतिको धर्मशालामा नेपाली कांग्रेसको क्रियाशिल सदस्यबारे चलिरहेको छानविनमा मोहन बस्नेत निकट नेता बस्नेतले घिमिरेमाथि हातपात गरेको हो।

घटनाको भोलिपल्टै कांग्रेस पदाधिकारी बैठकले घिमिरेमाथि भएको घटनाको निन्दा गर्दै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ३ दिनभित्र कारवाहीको टुंगो लगाउन अनुशासन समितिलाई निर्देशन दिएका थिए।

‘केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका व्यक्तिहरुसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कारबाहीको टुंगो लगाउन पार्टी अनुशासन समितिलाई सभापतिले निर्देशन दिनुभएको छ,’ पदाधिकारी बैठकपछि जारी गरेको कांग्रेसको विज्ञप्तिमा भनिएको छ

तर केन्द्रीय सदस्य कुटपिट प्रकरणमा संलग्नमाथि सात दिन बित्दा पनि कारवाही हुन सकेको छैन।

मगाइयो भिडियो फूटेज

भीष्माराज आङदम्बे संयोजक रहेको अनुशासन समितिले बुधवार अनुसन्धान थप प्रभावकारी बनाउन घटनास्थलको सिसीटिभी फुटेज मगाउने निर्णय गरेको छ। 'निष्पक्ष छानविन गरी उचित निर्णय लिन घटना घटेको ठाउँको सिसी क्यामरा फुटेज मगाउने निर्णय गरेको छ,' अनुशासन समितिका सदस्य धनराज गुरुङले भने।

कसैले उजुरी हालेको आधारमामात्र दोषी कीटान गर्न नमिल्ने उल्लेख गर्दै गुरुङले सत्यतथ्य बुझेरमात्र कारवाही अगाडि बढाउने अनुशासन समितिको कर्तव्य भएको बताए। होटललाई उक्त दिनको सिसीक्यामरा फुटेज उपलब्ध गराउन पत्राचार भइसकेको र केही दिनमै होटलबाट भिडियो फुटेज प्राप्त हुने विश्वास रहरो उनले बताए।

'हामीले घटना भएको होटेललाई पत्राचार गरी भिडियो फुटेज उपलब्ध गराउन भनिसक्यौं, होटेलले दुई तीन दिनभित्र उपलब्ध गराउँछु भनेको छ,' सदस्य गुरुङले भने। कारवाहीबारे निचोड लिन अनुशासन समितिलाई अझै केही दिन लाग्न सक्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell